पोखरा
पोखरामा छैंटौं पुष्प मेला सुरु भएको छ । फ्लोरी कल्चर एसोसिएसन कास्कीको आयोजनामा आजदेखि सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पुष्प व्यवसाय प्रवद्र्धनका लागि महानगर प्रतिवद्ध रहेको बताए ।

व्यावसायिक प्रवद्र्धन तथा तिहार पर्वलाई लक्षित गरी आयोजना गरिएको मेला पोखरा रंगशालामा कात्तिक ६ गते सम्म सञ्चालन हुनेछ । पुष्प मेलामा गोदावरी फूललाई विशेष रूपमा प्रवद्र्धन गरिने फ्लोरी कल्चर एसोसिएसन कास्की अध्यक्ष एवं मेला मूल आयोजक समिति संयोजक डिलबहादुर गुरुङले बताए ।
मेलामा कास्की तथा यस क्षेत्र अन्तर्गत २५ व्यवसायीले आफ्ना नर्सरीमा उत्पादित फूल तथा फूलका बीउको स्टलहरू राखेका छन् । पुष्प मेलामा करिब ८ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । मेलामा गोदावरी फूलका अतिरिक्त अन्य परम्परागत फूल, कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साई, बिरुवा प्रदर्शनी एवं बिक्री गरिने जानकारी पुष्प व्यवसायी दयाकुमार द्वाले बताए ।
कास्कीमा मात्र ५० भन्दा बढी पुष्प व्यवसायी रहेका छन् । फूलमा गण्डकीलाई आत्मनिर्भर बनाउने उद्देश्यले नै फूलको प्रवद्र्धन गरिएको पुष्प व्यवसायी द्वाले बताए । पोखरामा तिहारको समयमा मात्र २ करोड भन्दा बढीको सयपत्री तथा मखमली फूलका माला तथा फूल बिक्री हुने गरेको व्यवसायीको भनाइ छ । तिहारमा बिक्री हुने फूल तथा माला ८० प्रतिशत कास्की तथा आसपासका जिल्लामा नै उत्पादन हुने गरेको छ ।
प्रकाशित मिति २०७९ कात्तिक ४ गते शुक्रबार ०४:२८



