गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री हरिशरण आचार्य मंगलबार बर्खास्त भए । उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मंगलबार बर्खास्त गरेका हुन् । तत्कालीन जनता समाजवादीबाट मन्त्री बनेका आचार्यलाई बर्खास्त गरेर मुख्यमन्त्री नेपालीले उक्त मन्त्रालय आफ्नै मातहतमा राखेका छन् । स्रोतका अनुसार आचार्यले गठबन्धनको विरुद्धमा चुनावी मत मागेको सत्ता साझेदार दलले आरोप लगाएको छ ।
गृह जिल्ला नवलपुर पुगेका मुख्यमन्त्री पोखरेल पोखरा फर्किएर मन्त्रिरिषद् हेरफेर गरेको पत्र प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए । उनको सिफारिसका आधारमा मन्त्री आचार्यलाई पदमुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । आचार्य अहिले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध छन् ।
निवर्तमान उर्जामन्त्री आचार्यले बर्खास्त गरिनुको कुनै कारण नै नभएको बताएका छन् । उनले प्रचण्डलाई भोट नमागेकै कारण अलोतान्त्रिक तरिकाले खाफूलाई बर्खास्त गरेको आरोप लगाए । उनले भने, ‘प्रचण्डलाई भोट नमागेकै कारण अलोतान्त्रिक तरिकाले बर्खास्त गरियो । म चुप लागेर बस्दिनँ ।’
पब्लिक टेलिभिजनका लागि रघुनाथ वाग्लेले निवर्तमान उर्जामन्त्री आचार्यसंग कुराकानी गरेका छन् ।
प्रकाशित मिति २०७९ कात्तिक २३ गते बुधबार ०१:३४



