पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जाल र युट्युबबाट सम्प्रेषण भएका सामाग्रीले जनतालाई भ्रमित पारिरहेको बताएका छन् ।
केही मिडियाको कारण समग्र मिडिया जगत नै बद्नाम भएको उनको भनाइ छ ।
शिक्षासेवी हरिषचन्द्र वाग्लेको स्मृतिमा स्थापित क्रियाशील महिला पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा सम्प्रेषित समाचारले समाजमा विकृती निम्त्याउने बताए ।
गण्डकी प्रदेशले चालु अधिवेशनबाटै मिडिया विधेयक पारित गर्ने तयारी गरेकोे उनले जानकारी दिए । मिडियालाई नियन्त्रण गर्ने नभइ जिम्मेवार बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
‘केही सीमिति पत्रकारले गरेको कामले सच्चा पत्रकार पनि जो मर्यादाभित्र बसेर काम गरिरहनुभएको छ तपाईहरुलाई चित्त बुझेको छ?’, प्रश्न गर्दै मुख्यमन्त्री पाण्डेले भने, ‘त्यही पत्रकारको कारणले तपाईहरुको बद्नाम भएको छ कि छैन ?’
मिडिया विधयक पेश गर्नुपूर्व पत्रकार र सम्बन्धित संघसंस्थासँग छलफल गर्ने उनले बताए ।
‘अन्तिम स्वरुप दिएर यहीं अधिवेशनमा गण्डकी प्रदेशसको मिडिया विधेयक संसदमा लैजान्छौं । तर, एउटा कुरा तपाईहरु खुला भएर आउनुस जिम्मेवार बनाउन आवश्यकता छ कि छैन । छ भने त्यो जिम्मेवारबोध कसरी गराउने ? मलाई क्रिमिनल कोर्टजस्तो बनाउन छैन गराउन पनि चाहान्न’, मुख्यमन्त्री पाण्डे सुनाए ।
क्रियाशील महिला पत्रकारिता पुरस्कार सोनीलाई
क्रियाशील महिला पत्रकारिता पुरस्कार २०७९ बाट तनहुँकी सोनी शर्मा पुरस्कृत भएकी छन् ।
शिक्षासेवी हरिषचन्द्र वाग्लेको स्मृतिमा उनको परिवारले १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष खडा गरेर क्रियाशिल महिला पत्रकारलाई पुरस्कृत गर्ने गर्दछ ।
पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ रहेको छ ।
२०६४ सालदेखि क्रियाशील शर्मा पत्रकार महासंघ गण्डकीको उपाध्यक्षसमेत हुन् ।
क्रियाशिल महिला पत्रकार गण्डकीले प्रदान गर्ने यो पुरस्कारबाट यसअगाडि कास्कीकी दुर्गा अधिकारी र म्याग्दीकी रेखा कौशल सम्मानित भइसकेका छन् ।




