२०८३ साउन २१ गते बिहीबार

Main Head

एमालेको प्रदेश चुनाव सकिएलगत्तै गण्डकीको संसदीय समिति सभापतिको निर्वाचन

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २० गते शनिबार ११:२३

संसद सुरु भएको सवा ७ महिनापछि बल्ल संसदीय समिति गठन भएको भए पनि अहिलेसम्म सभापति पाउन सकेको थिएन ।

पोखरा

गत ३० साउनमा गठन भएको गण्डकी प्रदेश सभाको संसदीय समितिको सभापतिका लागि बल्ल शनिबार मनोनयन दर्ता हुँदैछ । संसद सुरु भएको सवा ७ महिनापछि बल्ल संसदीय समिति गठन भएको भए पनि अहिलेसम्म सभापति पाउन सकेको थिएन ।
गण्डकी प्रदेश सभाका दलहरुले २ वटा नेपाली कांग्रेस र १-१ वटा समिति सभापति एमाले र माओवादीले पाउने गरी भागबण्डा गरेका छन् । कांग्रेस र माओवादीबाट सभापतिको टुंगो लागिसकेको थियो । तर, एमालेबाट सभापति टुंगो लाग्न सकेको थिएन ।
संसदीय दलका नेता खगराज अधिकारीले एमालेको प्रदेश अधिवेशन सकिएपछि समिति सभापतिका लागि निर्वाचन गर्न आग्रह गरेका थिए । एमालेको अधिवेशन समापन भएको भोलिपल्टै शनिबार ४ बजेसम्म संसदीय समितिको सभापतिका लागि मनोनयनको कार्यसूची तय भएको संसद सचिवालयका उपसचिव तथा सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
अर्थ तथा विकास समितिमा कांग्रेस सांस्द भोजराज अर्याल सभापति हुने छन् । उनी संसदीय दलको नेताको निर्वाचनमा सुरेन्द्रराज पाण्डेसँग प्रतिस्पर्धा गरेका थिए । प्रदेश मामिला तथा कानून समितिको सभापति बागलुङकी चम्पादेवी खड्काले पाउने निश्चित भइसकेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । संविधान सभा सदस्य भएर राज्यमन्त्रीसमेत भइसकेकी चम्पालाई कानुनी समितिको नेतृत्व दिन लागिएको हो ।
अर्थ तथा विकास समिति दाबी गरेको माओवादीले भागबण्डामा सामाजिक विकास तथा कृषि समितिमा माओवादीको चुनावचिह्नबाट जितेर सांसद बनेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले पाउने भएका छन् ।
सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने संसदीय अभ्यास अनुसार गण्डकीमा पनि एमालेले पाएको छ । संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशको निर्वाचनलगत्तै सभापतिको निर्वाचन गर्ने भनेका थिए । तर, चुनावमा उनले समर्थन गरेको प्यानलले नै हार बेहोरेको छ ।
समितिको सभापतिमा स्याङ्जाका सुधीरकुमार पौडेल र कास्कीका भीम कार्कीमध्ये एक हुने निश्चितजस्तै थियो । सभापतिको टुंगो लगाउन एमाले संसदीय दलको ३ बजे बैठक बस्दै छ ।

प्रकाशित मिति २०८० असोज २० गते शनिबार ११:२३
हजुरको प्रतिक्रिया