२०८३ साउन २१ गते बिहीबार

विशेष

नेपालमा कुकुर तिहार मनाएको देखेर मेक्सिकोमा कुकुर तिहार मनाउन सुरु

नेपालमा कुकुर तिहार मनाएको देखेर मेक्सिकोमा कुकुर तिहार मनाउन सुरु

सुनील उलक

@Public 4K Tv

२०८० कात्तिक २६ गते आइतबार ११:५१

नेपालमा मनाइने कुकुर तिहारबाट बिपरित ध्रुवमा रहेको मेक्सिकोका कुकुर प्रेमी प्रभावित बनेका छन्

कसरी पुज्न थालियो लक्ष्मी, कुकुरदेखि गाइगोरुको पूजा किन गरिन्छ ?

तिहार अर्थात हिन्दूहरुले मान्दै आएको प्रमुख पर्व यमपञ्चकको पाँच दिन । हुन त नेपालमा नेवाःहरुले यमपञ्चकका रुपमा तिहारलाई मान्ने गर्दैन । नेवाःहरु स्वन्तिका रुपमा तिन दिनको बिशेष नखः मनाउने गर्दछन् । पहिलो दिन लक्ष्मी अजिमाको पूजा गर्दछन् । दोश्रो दिन म्हपूजा गरेर शरिर शुद्ध गर्ने तथा वर्ष भरि कुनै पनि किसिमको रोगव्याधिले आक्रमण नगरोस भनेर सुरक्षाका लागि पूजा गर्ने गर्दछन् । अन्तमा तेश्रो दिन किजा पूजाका रुपमा दाजुभाइलाई दिदीबहिनीहरुले पूजा गर्ने गर्दछन् । तर गैर नेवाःहरुमा भने यमपञ्चकका रुपमा पहिलो दिन काग, दोश्रो दिन कुकुर, तेश्रो दिन गाई, चौथो दिन गोरु तथा पाँचौ दिन भाइको पूजा गर्ने गर्दछन् । यस्तो लाग्छ दाजुभाइलाई पनि चरा र जनावर सरह पूजा गरिएको हो ।

तिहार कसरी शुरु भयो भन्ने वास्तवमा समय अनुसार ब्याख्या बदलिएको आभास हुन्छ । जब रामका कथा हिन्दू आख्यानहरुमा ब्यापक हुँदै गयो । तिहारको परिचय दिपावलीका रुपमा रावणलाई मारेर अयोध्या फर्किएका रामको भव्य स्वागतमा दिपावली गर्दै मनाइएको कथाले ब्यापकता पायो । उता यमुना र यमराजको कथाले यमपञ्चकको कथाले ब्यापकता पायो । तर यि सबै समय अनुरुप बनाइएका कथा मात्रै हुन् । हिन्दूप्रतिको गहन आस्था र हाम्रा आख्यानहरुमा बढ्दै गएको विश्वासले नै यी कथाहरुको प्रभाव बढ्दै गएको हो ।

लक्ष्मीको पूजा हामी धनप्रति मोहित हुँदै जानु र धन नै सर्वोपरिका रुपमा हाम्रो जीवनमा अभिन्न रुपमा गाँसिन थालेपछि धनको लालचमा हामीले धनकी देवीलाई पूज्न थालेका हौ । अन्यथा लक्ष्मीको पूजा होइन गाईको पूजा गर्ने थालनी गोपालवंशीहरुबाट शुरु भएको थियो । गोपालवंशीहरुको जीवनको मूल आधार नै गाई हुने गर्दथ्यो । जसले गर्दा गाईलाई पूजा गर्दथे । साथै गाईलाई आबश्यक घाँस तथा मनुष्यहरुलाई आवश्यक बिभिन्न अन्नहरु उब्जाइ दिने प्रकृतिलाई गोपालहरुले पूज्ने गर्दथे । गाईलाई पूजेरको भोलीपल्ट गोरुलाई पूजा गर्दथे । यसरी गाई र गोरुलाई पूजा गरेर एक साथ चरनका लागि छोड्दथे । अन्य समयमा भने गोपालहरु केवल गाईलाई चरणमा छोड्दथे भने गोरु तथा बहरलाई अलग्गै चरणमा राखेका हुन्थे । गाई र गोरुलाई एकसाथ चरणमा छोड्दा दुध कम दिने मान्यता रहेको थियो ।

कार्तिकमा गाई र गोरुलाई पूजा गरेर एकसाथ चरणमा छोडेपछि समागम हुने गर्दथ्यो । यस पछि भने गाई र गोरुले फेरि साथ चरण पाउँदैनथे । यसको २८३ दिनपछि गोपालहरुले समवत्सर मनाउँदथे । अर्थात गोपालवंशीहरुले २८३ दिनको एक वर्ष मनाउँदथे । यो २८३ दिन भनेको गाईको गर्भाधानको समय हो । आज विज्ञानले २८३ दिनलाई गाईको गर्भाधानको समयको मान्यता दिएको छ । तर करिव ४ हजार वर्ष अगाडि नेपालमा पहिलो राजवंश चलाउने गोपालहरुले गाईको गर्भाधानको समयलाई नै समवत्सर मनाउँदथे । गाईपूजा ९साँपूजा० मनाएको २८३ दिन पछि समंवत्संर (स्वस्थ्य बाछोको जन्म)को खुशियालीमा गाई, गोरु तथा नयाँ जन्म भएको बाछो सबैलाई साथ राखेर (साँपारु) गाईजात्रा मनाउँदथे । गोपालहरुको सम्वत्सर नै पछि सम्वतका रुपमा मनाउन थालियो पनि । साथै वर्ष पनि चन्द्रमाको परिक्रमाका आधारमा ३६० दिनको भयो ।

यो त भयो गाईपूजा र गाईजात्राका साथ गोपालहरुको सम्वत्सरको कथा । तर हामीले गाई मात्र होइन कुकुर पनि पूजा गर्न थालेका छौं । घरपालुवा तथा मानिसहरुको सबैभन्दा नजिकको सहयोगीका रुपमा कुकुरलाई पूजा गर्न थाल्यौ । हुन त कुकुरलाई पूजा गर्नुका पछाडि हाम्रा आख्यानमा भएको धर्मराजको कथा ब्यापक छ । जसकाअनुसार कुकुर शिवको दोश्रो स्वरुपका रुपमा पूजिने भैरवको प्रतिकका रुपमा पनि लिने गरिन्छ । कुकुर यमराजको नरक द्वारमा द्वारपालका रुपमा सुरक्षा गरेर बस्ने जनावरका रुपमा पनि लिने गरिन्छ । जव पाण्डवहरु जीवितै स्वर्ग जानका लागि निस्किए उनिहरुका साथ एक कुकुर पनि साथ लागे बाटोमा द्रौपदी, नकुल, सहदेव, भीम र अन्तमा अर्जुनले पनि प्राण त्याग गरे । तर अन्त सम्म कुकुरले भने धर्मराज युधिष्ठिरको साथ पाए ।

यसरी सशरिर स्वर्ग जाने कुकुरका साथ स्वर्गको द्वार नजिकै पुगेका युधिष्ठिरलाई स्वागत गर्न स्वर्गका राजा देवराज इन्द्र स्वयं आइपुगे । देवराजलाई आफ्नो यात्रामा साथ दिने कुकुरलाई स्वर्ग प्रवेशको लागि अनुरोध गरे । तर देवराज इन्द्रले कुकुरले प्रवेश पाउन नसक्ने जवाफ दिए । युधिष्ठिरले पनि यदि कुकुरले प्रवेश पाउँदैन भने आफू पनि प्रवेश नगर्ने जिद गरेपछि देवराज इन्द्रले एउटा शर्त राखे, यदि युधिष्ठिरले गरेका सम्पूर्ण धर्म तथा पूण्यको फल कुकुरलाई दिएमा मात्र कुकुरले स्वर्गमा प्रवेश पाउने तर युधिष्ठिरले भने स्वर्गमा प्रवेश नपाउने भनिए पछि धर्मराज युधिष्ठिरले देवराजको शर्त स्विकार गरि पहिले कुकुरलाई स्वर्ग प्रवेश गराउन अनुरोध गरे ।

यसरी आफूभन्दा पनि आफ्नो साथ लागेका कुकुरलाई स्वर्ग प्रवेश गराउन अनुरोध गरे पछि कुकुरको रुपमा रहेका यमराजले आफ्नो वास्तविक स्वरुप देखाएर धर्मको रक्षकका रुपमा युधिष्ठिर नै रहेको भन्दै कुकुरको साथ युधिष्ठिरलाई पनि सशरिर स्वर्ग प्रवेश गर्न अनुमति मागे । यसरी स्वयं यमराजले नै कुकुरका रुपमा परिक्षा लिन आएको देखेपछि देवराज इन्द्रले युधिष्ठिरलाई जीवित नै सशरिर स्वर्ग प्रवेश गर्ने अवसर दिइयो । साथै यमराजले पनि कुकुरलाई नरकद्वारमा रक्षकका रुपमा राखे । यसरी यस दिनलाई हिन्दुहरु नरकचतुर्दशीका रुपमा पनि मान्ने गर्दछन् । भारत उत्तराखण्डको चमौली जिल्लामा रहेको माणा गाउँलाई युधिष्ठिर स्वर्गको ढोका पुगेको ठाउँमा लिइन्छ । यहीं पुगेपछि देवराज इन्द्रले युधिष्ठिरलाई लिन रथ लिएर आइपुगेको मान्ने गरिन्छ ।
यसरी युधिष्ठिरलाई अन्तिम समयसम्म साथ दिने कुकुरलाई नरकचतुदर्शीका दिन पूजा गर्न थालिएको मान्यता रहेको छ । आज पनि हामी नरकचतुर्दशीका दिन कुकुरलाई पूजा गर्ने गर्दछौंं ।

कुकुर केवल हिन्दू आख्यान अनुसार मात्रै मानवको सहयोगी रहेको होइन । १५ हजार वर्ष अगाडि हिमयूगको समय जब मानिसहरु जनावरहरु मारेर जीविका चलाउने गर्दथे । त्यसबेला जनावरहरु मार्न सहयोगीका रुपमा मानिसहरुले ब्वासाको छाउरोलाई ल्याएर घरपालुवाका रुपमा आफ्नो साथ राख्न थालेका थिए । यहि ब्वाँसोको छाउरो नै आजको घरपालुवा कुकुरको पूर्वज रहेको मानिन्छ । यसरी कुकुरहरु मानिसलाई सहयोगीका रुपमा साथ रहन थालेका थिए ।

हिन्दूहरुले झैं मेक्सिकोमा रहेका एज्टेकहरुले पनि कुकुरलाई मान्ने गर्दछ । आगो तथा चट्याङको देवताका रुपमा पूज्ने सोलोटीको टाउको कुकुरको रहेको छ । त्यस्तै चीनिया १२ राशीमा रहेको बाह्र जनावरहरु मध्य एक कुकुरको रुपमा रहेको छ । तथा चीनिया नयाँ वर्षमा दोश्रो दिनलाई कुकुरको जन्म दिनको रुपमा मनाउने गरिन्छ ।
हिन्दूहरुमा युधिष्ठिरका साथ कुकुर भए झै रोमन सन्त रोक्कोको साथमा पनि कुकुर रहने गर्दथ्यो । तसर्थ उनको मुर्तिको साथ पनि कुकुर राखिने गर्दछ । साथै बोलिभियामा अगष्ट १६ को दिन कुकुरहरुको जन्म दिन मनाउने गरिन्छ । ग्रीक आख्यानमा पनि तीन वटा टाउको भएको कुकुरलाई मृत्युको देवता हेडेसको सुरक्षामा रहेको मानिन्छ ।

७ वर्ष अगाडि सन २०१६ को अक्टोवर ३० को दिन पहिलो पटक कुकुर तिहार मनाउन शुरु गरे । यसपछि प्रत्येक वर्ष कुकुर तिहार मनाइरहेका छन् । यस वर्ष पनि नेपालमा कुकुर तिहार मना रहँदा मेक्सिकोको शहर पोर्टो वालार्टाको पार्क्यू परोटा परोटा पार्कमा आज शनिवार कुकुर तिहार मनाइँदैछ । नेपालमा मनाइने कुकुर तिहारबाट बिपरित ध्रुवमा रहेको मेक्सिकोका कुकुर प्रेमी प्रभावित बनेका छन् ।

प्रकाशित मिति २०८० कात्तिक २६ गते आइतबार ११:५१
हजुरको प्रतिक्रिया