
पोखरा —
पोखरा महानगरपालिकाले दिएको अल्टिमेटमपछि पर्यटकीय राजधानी पोखराको मध्यभाग हुँदै बग्ने फिर्के खोलाको मापदण्डभित्र परेका संरचना तथा सामग्री हटाउन थालिएको छ ।
महानगरपालिकाले जेठ ६ गते सूचना जारी गर्दै फिर्के खोला मिचेर तथा मापदण्डभित्र निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको थियो । सूचनापछि खोलाको किनार क्षेत्रमा बसोबास तथा व्यवसाय गर्दै आएका केहीले सामान सार्न थालेका हुन् ।
महानगरपालिकाका अनुसार फिर्के खोलाको संरक्षण तथा अतिक्रमण हटाउने उद्देश्यले २०८० सालमै सिमाङ्कन गरिएको थियो । त्यस क्रममा खोलाको दायाँबायाँ पाँच सय ८४ वटा पिल्लर र दुई सय ३९ वटा चिह्न गाडिएको महानगरले जनाएको छ ।
नापजाँचका क्रममा एक सय ४७ वटा भवन मापदण्ड विपरीत निर्माण गरिएको भेटिएको थियो । महानगरका अनुसार फिर्के खोलाको अतिक्रमण गरी २५ वटा सामाजिक संघसंस्थाका भवन, ८७ वटा कच्ची घर तथा ३५ वटा व्यक्तिगत पक्की घर निर्माण गरिएको पाइएको छ ।
महानगरपालिकाले खोलाको प्राकृतिक बहाव संरक्षण, बाढी तथा डुबानको जोखिम न्यूनीकरण र दीर्घकालीन शहरी व्यवस्थापनका लागि मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको जनाएको छ ।
पोखरा–१८ स्थित सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु हुने फिर्के खोला प्रस्याङ, मालेपाटन र बुलौँदी हुँदै फेवातालमा मिसिने गर्दछ ।
प्रकाशित मिति २०८३ जेठ ८ गते शुक्रबार १०:२८



