काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को सङ्क्रमण कायम रहेकाले चुनाव केन्द्रित गतिविधि गर्दा र सहभागी हुँदा ध्यान दिन आग्रह गरेको छ ।
मन्त्रालयले कोभिड १९ को जोखिम कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले चुनाव केन्द्रित कार्यक्रमहरुमा भिडभाड गर्दा कोभिड १९ को सङ्क्रमण दर बढ्नसक्ने बताए ।
उनले देशमा कोभिड सङ्क्रमण दर धेरै नभए पनि सङ्क्रमणको अवस्था भने यथावत् रहेको उल्लेख गरे। उनले भिडभाड बढी हुँदा अन्य प्रकारका सङ्क्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताए । डा. अधिकारीले कोभिड९१९ विरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भिडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे ।
उनले विश्वव्यापी रुपमा कोभिड९१९ को सङ्क्रमण घटेको बताए । देशमा पनि गएको समयभन्दा सहज अवस्था रहेको उनको भनाइ छ । तर पनि सङ्क्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने उनले स्पष्ट पारे । डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड९१९ का सङ्क्रमितहरु रहेको बताए ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइ सकिएको तथ्याङ्क छ । उनले खोप लगाउने लक्षित जनसङ्ख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए ।
उनले ८० लाख मात्रा बुस्टर डोजको प्रयोग भएको पनि बताए । उनले कोभिड-१९ विरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिए । नागरिकहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गरी कोभिड-१९ विरुद्धको खोप लगाउन पनि डा. अधिकारीले आग्रह गरे ।
प्रकाशित मिति २०७९ कात्तिक २२ गते मंगलबार ०१:२७




