१ हजार ४५७ जनाको शव भेटिएकामा ११२ शवको मात्रै सनाखत
पोखरा ।
रसुवा–भोटेकोशी बाढीको दुई महिना पुगेको छ । गएको भदौ १० मा रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा ५ हजार २८५ जना बेपत्ता भएकोमा एक हजार ४५७ जनाको शव भेटिएको छ ।
त्यसमध्ये ११२ शवको मात्र सनाखत भएको छ । बाँकी शव जमिनमुनि व्यवस्थापन गरी डीएनए परीक्षणमार्फत सनाखतको प्रक्रिया अघि बढाइएको छ ।
एक हजार ३४५ शवको अझै सनाखत हुन सकेको छैन । डीएनए प्रविधिबाट सनाखतको प्रक्रिया अघि बढाइए पनि त्यसको नतिजा आउन अझै एक महिना लाग्ने भएको छ ।
नेपाल प्रहरीका अनुसार सनाखत हुन नसकेका सबै शवको हड्डीबाट डीएनए नमुना लिएर प्रोफाइलिङ गरिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भन्छ ः अब सबै प्रक्रिया पूरा हुन अझै एक महिना लाग्न सक्छ ।
रसुवाको लाङटाङ हिमालमा रहेको हिमनदी र चट्टानी भूभाग ल्हेन्दे हिमनदीमा खस्दा ल्हेन्दे खोला–भोटेकोशी–त्रिशूली–नारायणीमा आकस्मिक रूपमा बाढी आएको थियो ।
बाढीले रसुवागढी नाकासहित रसुवा र नुवाकोटका नदीआसपासमा ठूलो क्षति पु¥याएको छ । भोटेकोशी बाढीमा बेपत्तालाई मृत घोषणा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ ।
गृह मन्त्रालयले पालिकालाई यससम्बन्धी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नेसम्बन्धी कार्यविधि, २०८३ बनाएर त्यहीअनुसार प्रक्रिया अघि बढाएको हो ।
यस्तै कतिपय बाढी प्रभावित जोखिम मोलेरै पुरानो थातथालोमा फर्किन थालेका छन् । बाढी गएको दुई महिना बित्दा पनि विस्थापितको पुनस्र्थापन अनिश्चित भएपछि उनीहरू पुरानै ठाउँमा फर्किन थालेका हुन् ।
सरकारले बाढीको उच्च जोखिम क्षेत्रमा पुनः बसोबास गर्न नमिल्ने हुँदा तत्कालै फर्केर बस्ने अवस्था नरहेको जनाएको छ ।
पुरानै ठाउँमा फर्किने विकल्पसमेत नभएका परिवारको अवस्था अझ जटिल छ । विस्थापित कतिपय होल्डिङ सेन्टरमा बस्दै आएका छन् ।
प्रकाशित मिति २०८३ कात्तिक ११ गते मंगलबार १२:३३




