पोखरा
गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन । उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मंगलबार बर्खास्त गरेका हुन् ।
तत्कालीन जनता समाजवादीबाट मन्त्री बनेका आचार्यलाई बर्खास्त गरेर मुख्यमन्त्री नेपालीले उक्त मन्त्रालय आफ्नै मातहतमा राखेका छन् । स्रोतका अनुसार आचार्यले गठबन्धनको विरुद्धमा चुनावी मत मागेको सत्ता साझेदार दलले आरोप लगाएको छ ।
गृह जिल्ला नवलपुर पुगेका मुख्यमन्त्री पाेखरेल पोखरा फर्किएर मन्त्रिरिषद् हेरफेर गरेको पत्र प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए । उनको सिफारिसका आधारमा मन्त्री आचार्यलाई पदमुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । आचार्य अहिले बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टीमा आबद्ध छन् ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आकांक्षी थिए । तर, नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिए पनि पछि फिर्ता लिएका थिए ।
गण्डकीमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पुर्याउन नसकेर सरकार ढलेपछि कांग्रेस नेतृत्वमा सरकार बन्दा तत्कालीन जसपाबाट आचार्यले पनि मन्त्री बन्ने मौका पाएका थिए ।
सुरुमा अर्थ मन्त्रालय पाउनुपर्ने माग गर्दै मुख्यमन्त्रीसँग विवाद गरेका आचार्यले पछि ऊर्जा मन्त्रालयमा चित्त बुझाएका थिए । मन्त्री बनेदेखि नै मुख्यमन्त्री पोखरेल आचार्यसँग रुष्ट थिए भने आचार्यले पनि पत्रकार सम्मेलन गरेरै सरकारको विरोध गरेका थिए ।
हेर्नुहाेस् पत्रः





