२०८३ साउन २१ गते बिहीबार

मौन अवधि सुरु, प्रचार पूर्ण रूपमा निषेध

मौन अवधि सुरु, प्रचार पूर्ण रूपमा निषेध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १९ गते मंगलबार ११:१७

पोखरा । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि भनेको यस्तो समय हो, यति वेला दल तथा उम्मेदवारको पक्षमा कुनै पनि प्रकारका प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई स्थिर (मौन)...

पोखरा ।
सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि भनेको यस्तो समय हो, यति वेला दल तथा उम्मेदवारको पक्षमा कुनै पनि प्रकारका प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई स्थिर (मौन) समय भनिएको छ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि अर्थात् सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनका अनुसार मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । कुनै पनि विधिबाट मत माग्ने र निर्वाचन प्रचार गर्न पाइनेछैन ।

मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्ण रूपमा हटाउनुपर्नेछ । बिहीबार (२१ फागुन) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

भण्डारीले उम्मेदवार, दल, भ्रातृ संगठनको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री पनि पूर्ण रूपमा हटाउनुपर्ने बताए । सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत पोस्ट, सेयर, लाइक र कमेन्ट गर्न पनि नपाइने उनको भनाइ छ ।

‘कुनै पनि विधि, प्रकारले मत माग्न पाइँदैन । सामाजिक सञ्जाल, अनलाइन, छापाबाट उम्मेदवारको पक्ष वा विपक्षमा सूचना सन्देश सम्प्रेषण गर्न पाइँदैन । पक्ष-विपक्षमा लाइक, कमेन्ट र सेयरजस्ता प्रचारका कुनै क्रियाकलाप गर्न पाइँदैन,’ उनले भने ।

कार्यवाहक आयुक्त भण्डारीले मतदानको तीन घण्टाअघिदेखि मतदान समाप्त नभएसम्म मतदान केन्द्रमा खटिएका व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी कुनै काम गर्न नपाइने पनि बताए । ‘मतदान केन्द्र रहेको घर, भवन वा सोस्थल वरिपरि असर पर्ने गरी शान्ति भंग गर्ने वा भय त्रास पैदा हुने गरी निर्वाचन वातावरण बिथोल्न पाइँदैन । मतदानस्थल वरिपरि साउन्ड सिस्टम राख्न र ठुलो स्वरले बजाउन पाइँदैन । बाजागाजा बजाउने, नाचगान, भोजभतेर गर्ने, जुलुस प्रदर्शन, जुनसुकै किसिमको सभा समारोह गर्न, हुलहुज्जत, होहल्ला गर्न पाइँदैन,’ उनले भने ।

अनुगमन अधिकृतलाई निर्देशन
आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृतलाई सूक्ष्म अनुगमन गर्न निर्देशन दिएको छ । आयोगले सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक प्रमुखलाई फरक–फरक कार्य जिम्मेवारीसहित अनुगमन अधिकृत तोकेको छ । अनुगमन अधिकृतलाई आयोगले मौन अवधिमा आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न निर्देशन दिएको प्रवक्ता नारायण भट्टराईले बताए ।

उनका अनुसार निर्वाचन आचारसंहिताको दफा १७ मा ‘मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण र दफा १८ मा मतदानको दिन पालना गर्नुपर्ने आचरण परिपालनाको सम्बन्धमा अनुगमन गरी उक्त व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउन आफ्नो जिल्लाभित्र सूक्ष्म अनुगमन गर्न’ निर्देशन दिइएको छ ।

त्यस्तै, आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐनविपरीतका कार्य गरेको पाइएमा जिल्ला आचारसंहिता अनुगमन समितिसमेतको सहकार्यमा अनुगमनकर्ताको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउन निर्देशन दिइएको छ । ‘जिल्लामा अनुगमन संयन्त्र छ । मौन अवधिमा आचार–संहिताविपरीतका क्रियाकलाप हुन नदिन र गर्नेउपर निगरानी राख्न अनुगमन अधिकृतको टोलीलाई थप निर्देशन दिइएको छ,’ उनले भने ।

घुम्ती टोली परिचालन
मौन अवधिमा दल र उम्मेदवारको गतिविधि निगरानी तथा आचारसंहिता पालना गराउन ७७ वटै जिल्लामा घुम्ती टोली परिचालन गरिएको छ । आयोगका अनुसार प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकायसँग समन्वय गरी सूक्ष्म अनुगमन गर्न टोलटोलमा घुम्ती टोली परिचालन गरिएको हो ।

कार्यवाहक प्रमुख आयक्त भण्डारीले सहायक सिडिओको नेतृत्वमा आचारसंहिता अनुगमन समितिको टोली, निर्वाचन अधिकृत तहबाट छुट्टै र सुरक्षा निकायले आफ्नो संयन्त्र परिचालन गरेर निगरानी गरिरहेको बताए । ‘प्रमुख जिल्ला अधिकारीले सबै सरोकारवालासँग समन्वय गरेर घुम्ती टोलीहरू आवश्यकताअनुसार परिचालन गरेका छन् । सूक्ष्म अनुगमन गर्न हाम्रो अनुगमन अधिकृत पनि परिचालित छन्, सूचना संकलन गरिरहेका छन्,’ उनले भने ।

के हुन्छ कारबाही ?
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आचारसंहिता पूर्णपालना गराउन निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, प्रहरी प्रशासन सबैलाई निर्देशन जारी गरिसकेको बताए । मौन अवधिका वेला आचार–संहिताविपरीतका कार्य भएमा निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही हुने र निर्वाचनलाई असर गर्ने खालका गतिविधिहरू भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही हुने भण्डारीले बताए । निर्वाचन कसुर सजाय ऐनमा अधिकतम दुई लाखसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

सीमानाका पनि बन्द
निर्वाचनको सुरक्षालाई केन्द्रित गरेर सोमबार रातिदेखि नेपाल भारत सीमानाका पनि बन्द गरिएको छ । नेपालका २७ जिल्ला भारतसँग सीमा जोडिएका छन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षाका लागि ७२ घण्टा सीमानाका बन्द गरिएको बताए । मतदान सकिएको दिन राति १२ बजेपछि मात्रै सीमानाका खुला गरिनेछ ।

आयोगले मौन अवधिमा मदिरा बिक्री, वितरण र सेवनमा निषेध गरेको छ । मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको मितिभन्दा सात दिनअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरिएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए ।

४८ घण्टा चुपचाप !

– दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठीलगायत कुनै पनि विधिबाट मत माग्न र निर्वाचन प्रचार गर्न नपाइने
– उम्मेदवार, दल, भ्रातृ संगठनको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री पनि पूर्ण रूपमा हटाउनुपर्ने
– सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रचार सामग्रीलगायत पोस्ट, सेयर, लाइक र कमेन्ट गर्न नपाइने
– मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचार–प्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्ण रूपमा हटाउनुपर्ने
– मतदानस्थल वरिपरि साउन्ड सिस्टम राख्ने, बाजागाजा बजाउने, नाचगान, भोजभतेर गर्ने, जुलुस प्रदर्शन, जुनसुकै किसिमको सभा–समारोह गर्न, हुलहुज्जत, होहल्ला गर्न नपाइने
– मौन अवधिका वेला आचारसंहिताविपरीतका कार्य भएमा निर्वाचन कसुर तथा सजाय ऐनअनुसार अधिकतम दुई लाखसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था

प्रकाशित मिति २०८२ फागुन १९ गते मंगलबार ११:१७
हजुरको प्रतिक्रिया