२०८३ साउन २१ गते बिहीबार

जाँदाजाँदै मन्त्री आचार्यको निर्देशन…

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २३ गते बुधबार ०५:१८

आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मत मागेको आरोपमा मन्त्री पदबाट हटाइएको हो ।

पोखरा । उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशका कर्मचारीले बुधबार विहान मंगलबार मात्र बर्खास्तमा परेका निवर्तमान मन्त्री हरिशरण आचार्यका लागि विदाई कार्यक्रमको आयोजना ग¥यो ।

आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मंगलबार बर्खास्त गरेका हुन् । तत्कालीन जनता समाजवादीबाट मन्त्री बनेका आचार्यलाई बर्खास्त गरेर उक्त मन्त्रालय मुख्यमन्त्री मातहतमा राखिएको छ । आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मत मागेको आरोपमा मन्त्री पदबाट हटाइएको हो । कर्मचारीको विदाईपछि पत्रकारसँग कुराकानी गर्दै आचार्यले आरोप प्रमाणित गर्न चुनौती दिए ।

आचार्य २०७४ सालको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । आचार्य अहिले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध छन् ।

माओवादीबाट अलग्गिएर नयाँ शक्तिमा लागेका आचार्य बाबुराम भट्टराई फेरि माओवादी निकट भएपछि असन्तृष्ट छन् । पत्रकारसँगको कुराकानीमा उनले बाबुराम भट्टराईको बारबार आलोचना गरे । भट्टराई र हिजोका राजाबीच केही फरक नभएको उनको टिप्पणी छ ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आकांक्षी थिए । तर, नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएपनि पछि फिर्ता लिए । अब वैकल्पिक शक्ति निर्माणमा जुट्ने आचार्यको उद्घोष छ ।

गण्डकीमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पु¥याउन नसकेर सरकार ढलेपछि कांग्रेस नेतृत्वमा सरकार बन्दा तत्कालीन जसपाबाट आचार्यले पनि मन्त्री बन्ने मौका पाएका हुन् ।

सुरुमा अर्थ मन्त्रालय पाउनुपर्ने माग गर्दै मुख्यमन्त्रीसँग विवाद गरेका आचार्यले पछि ऊर्जा मन्त्रालयमा चित्त बुझाएका थिए । मन्त्री बनेदेखि नै मुख्यमन्त्री पोखरेल आचार्यसँग रुष्ट थिए भने आचार्यले पनि पत्रकार सम्मेलन गरेरै सरकारको विरोध गरेका थिए ।

मन्त्रिपरिषद्मा मुख्यमन्त्रीको आलोचना गर्ने, प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विरोध गर्ने गरेपछि बेलाबखतमा आचार्यलाई मन्त्री पदबाट हटाउने चर्चा पनि चलेको होइन ।

प्रकाशित मिति २०७९ कात्तिक २३ गते बुधबार ०५:१८
हजुरको प्रतिक्रिया