२०८३ असोज २३ गते शुक्रबार

related breaking

रामचन्द्र–गोविन्दराजः एकअर्कालाई सिध्याउन लागेका ‘जानी दुश्मन’

रामचन्द्र–गोविन्दराजः एकअर्कालाई सिध्याउन लागेका ‘जानी दुश्मन’

अमृत सुवेदी

@Public 4K Tv

२०७९ कात्तिक २५ गते शुक्रबार ०७:२९

२००१ सालमा तनहुँको रिस्तीमा जमिन्एका पौडेल र रुपाकोटमा जन्मिएका जोशीबीच सौहार्द सम्बन्ध कहिल्यै देखिएन ।

पाेखरा
राजा महेन्द्रले विपीबाट शासन हातमा लिएर पञ्चायती व्यवस्था लागु गरेपछि राजनीतिमा आएका हुन्, रामचन्द्र पौडेल । उनकै छिमेकी गाविसमा रामचन्द्रभन्दा ५ वर्षपछि जन्मिएर २०२४ मा गण्डकी विद्यार्थी मञ्चबाट राजनीति थालेका नेता हुन्, गोविन्दराज जोशी । यी दुई नेता जहिलेदेखि केन्द्रीय नेताको नजर देखिए, ऊबेला देखिकै ‘जानी दुश्मन हुन् ।’

२००१ सालमा तनहुँको रिस्तीमा जमिन्एका पौडेल र रुपाकोटमा जन्मिएका जोशीबीच सौहार्द सम्बन्ध कहिल्यै देखिएन ।

पञ्चायती व्यवस्था लागु भएसँगै तनहुँका नेता पौडेल विपी कोइराला लगायतका नेतासँग निकट भए । शीर्ष नेताहरुसँगको सम्बन्धको राजनीतिक लाभ पनि पौडेलले लिँदै आए । ‘शीर्ष नेताहरुको संगतले पौडेलले आफूलाई पनि माथिल्लो तहको नेता मान्न थाले र जिल्लामा हैकम जमाउन थाले,’ तनहुँका पुराना कांग्रेसी भन्छन्, ‘जोशीले जिल्लामा बसेरै राजनीति गरे । शिक्षक बने, वकालती गरे । जहाँ काम गरे, उनले आफ्नो प्रभाव जमाउँदै जान थाले ।’

रामचन्द्रलाई विपीले जिम्मेवारी दिँदा ग्राउण्ड लेभलमा काम गर्ने म हुँ भनेर जोशीले असन्तुष्टि त्यो असन्तुष्टि जनाउने गरेको पुराना कांग्रेसी बताउँछन् ।

रामचन्द्र नेविसंघको संस्थापक सदस्य, २०४० सालमा केन्द्रीय प्रचार समितिको संयोजक हुँदै केन्द्रीय सदस्य र २०४८ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएर संसदको यात्रा तय गरे ।

स्ववियु सभापति, तरुण दल, २०३० सालमै तनहुँ जिल्ला उपसभापति हुँदै शिक्षण र वकालतीसँग राजनीतिमा लागेका जोशी तनहुँ बारको अध्यक्ष बने । रामचन्द्र क्षेत्र नम्बर १ बाट २०४८ मा निर्वाचित भएर संसद छिर्दा जोशी पनि तनहुँ क्षेत्र नम्बर २ बाट जितेर संसदको यात्रा तय गरेका थिए ।

स्थानीय विकास मन्त्री हुँदै रामचन्द्र पौडेल प्रतिनिधि सभामा सभामुख बने । उपप्रधान तथा शिक्षामन्त्री बने, गृहमन्त्री पनि बने । २०५१ सालमा शिक्षामन्त्री भएका जोशी ०५५ मा गृहमन्त्री भए, सामान्य प्रशासन मन्त्रालय पनि हात पारे । जलस्रोत मन्त्री, स्थानीय विकास मन्त्री र गृहमन्त्रीसमेत बनेका जोशी पनि पटक पटक सत्ताको केन्द्रमा रहिरहे ।

पौडेल पार्टीमा उपसभापति र शुसील कोइरालाको निधनपछि कार्यवाहक सभापतिसम्म बने । जोशी पार्टीको सहमहामन्त्रीसम्म बने । तर, यी दुई नेताको प्रतिष्ठाको लडाईंका कारण तनहुँमा भने गुटबन्दी र समूह विभाजित हुँदै गयो ।

पुराना कांग्रेसी भन्छन्, ‘एकले अर्कालाई सिध्याउन खेल सुरु भयो । पार्टीमा केन्द्रीय पहुँच भएका पौडेल र ग्राउण्ड बनाएका जोशीबीच टिकट बाँडफाँडका विषयमा पनि तिक्ततापूर्ण सम्बन्ध रह्यो । पौडेलप्रति सधैं असन्तुष्ट रहे जोशी, जोशीप्रति सधैं पूर्वाग्रही बने पौडेल ।’

सुरुमा तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लडेका पौडेल २०५१ मा क्षेत्र जोशीले जितेको क्षेत्र नम्बर २ मा आफू सुरक्षित हुने ठानेर गए भने क्षेत्र नम्बर १ मा जोशी उठे । जोशी क्षेत्र नम्बर १ मा पकड जमाए । तर, २०६४ मा माओवादी नेता सुरेश आलेसँग हार बेहोरे ।

२०७० सालमा जोशीले टिकट पाएनन्, समानुपातिक सूचीमा रहेको नाम पनि काटिएपछि पौडेल–जोशीबीच ठूलो द्वन्द्व नै चल्यो । कार्यकर्ता संरक्षण गर्ने र भूगोलमा भिजेर काम गरेको भए पनि पटक पटक मन्त्री बनेका जोशीलाई भ्रस्टाचार मुद्धा लाग्यो । जुन मुद्धाबाट उनको राजनीतिक यात्रा ओरालो लाग्न थालेको हो ।

झण्डै ४ करोड रुपैयाँ भ्रस्टाचार गरेको भन्दै विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको थियो ।

०६६ मा सवा २ करोड सम्पतिको स्रोत नखुलेको भन्दै विशेष अदालतले बिगो र १ वर्ष ६ महिना कैद सजाय सुनायो । त्यसको विरुद्धमा जोशी सर्वोच्च अदालतमा पुगे । यो मुद्धाको अझै किनारा लागिसकेको छैन तर जोशीको राजनीतिलाई भने यही मुद्धाकै कारण किनारमा पु¥याइदिएको तनहुँका कांग्रेसीजन बताउँछन् ।

भ्रस्टाचारको मुद्धा लागेपछि जोशीविरुद्ध पौडेलले अभियानै चलाएको उनीनिकट नेताहरु बताउँछन् । पार्टीमा ठाउँ नदिने, कार्यबाही गर्ने र जोशी समूहका व्यक्तिलाई टिकट नदिने गरेको जोशी समूहको गुनासो छ ।

‘तनहुँमा जोशी समूहले यसरी पकड जमाएका थिए कि पौडेल समूहका कार्यकर्ता तिरस्कृत नै थिए, जब जोशीलाई मुद्धा लाग्यो पौडेल समूहले जोशी समूहलाई दुत्कार्न थाले, अवसरबाट बञ्चित गराउन थाले,’ कांग्रेसका एक नेताले भने ।
२०२० सालतिरै चिनजानका दुई नेताको तिक्ततापूर्ण सम्बन्धले तनहुँ कांग्रेसीलाई कित्ताकाट नै गर्दै आएको छ । एकले अर्कालाई अवसर नदिएको, नियत खराब भएको, षडयन्त्रकारीको संज्ञा दिँदै आएका छन्, उनीहरुले ।

पछिल्लो समय जोशी टिकट पाउनै छाडे भने पौडेललाई पनि हराउन जोशीले दिलो ज्यान लाग्ने गरेको कार्यकताहरु नै बताउँछन् । अहिले पनि एकअर्कालाई सिध्याउने खेल खेलिरहेकै छन् ।

२०७४ सालमा जोशीकै कारण चुनाव हारेका रामचन्द्र पौडेललाई यसपटक पनि जोशीले नै चुनौती थपिदिएका छन् । भ्रस्टाचार मुद्धालाई देखाउँदै पौडेलकै आदेशमा परेको उजुरीपछि जोशीको उम्मेदवारी खारेज भयो र त्योबेला जोशीको म पाएर एमालेका कृष्णकुमार श्रेष्ठले जितेका थिए । अहिले पनि पौडेललाई हराउनकै निम्ति जोशीले उम्मेदवारी दिएका छन् । तर, पौडेलले यसपटक जोशीको उम्मेदवारी कायम हुँदा आफूलाई झनै फाइदा हुने बताइरहेका छन् ।

प्रकाशित मिति २०७९ कात्तिक २५ गते शुक्रबार ०७:२९
हजुरको प्रतिक्रिया