काठमाण्डौ
गृह मन्त्रालयले आउँदै गरेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रवन्ध मिलाइएको जनाएको हो ।
गृह सचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा चुनाव गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे । उनले देशका सबै ठाउँका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भइ मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरु सक्षम रहेको बताए ।
गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, चुनावमा खट्ने कर्मचारीको सुरक्षा र चुनावी सामग्रीको सुरक्षाको उचित प्रवन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरु निर्वाचन केन्द्रमा पुगिसकेको बताए । उनले मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको पनि जानकारी दिए ।
देशभर कूल १० हजार ८ सय ९२ वटा मतदान स्थलहरु र २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरु रहेका छन् ।
प्रकाशित मिति २०७९ कात्तिक ३० गते बुधबार ०१:४२




