गेलकाे ब्याटिङ हेर्न पाउने सम्भावना कति ?
पाेखरा । युएईमा जारी १३ औं संस्करणको आइपीएल अन्तर्गत बिहिबार लोकेश राहुलको कप्तानीमा रहेको किङ्ग्स-११ पन्जाब र डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुदैँछ।
५ खेलमा २ जित र ३ हारपछि हैदराबाद अकंतालिकाको छैटौं स्थानमा छ भने समान खेल खेलेको पन्जाब १ जित र ४ हारपछि अंकतालिकाको आठौँ स्थानमा छ। पुछारमा रहेको पन्जाब आजको खेल जितेको खण्डमा चौथो स्थानमा उक्लनेछ। पन्जाबको नेट रन रेट राम्रो हुँदा जितले फड्को मार्न सक्छ। हैदरावाद आज विजयी भएको खण्डमा कोलकाता र बैंगलोरलाई पछि पार्दै तेश्रो स्थानमा उक्लन सक्छ।
सुरुवाती २ खेलमा बैंगलोरसंग १० रनले तथा दोस्रो खेलमा कोलकातासंग ७ विकेटले पराजित भएको हैदराबाद तेस्रो र चौथौं खेलमा जित दर्ता गर्दै लयमा फर्केको थियो। हैदराबादले दिल्लीलाई १५ रनले तथा चेन्नाईलाई ७ रनले पराजित गरेको थियो भने आफ्नो पाचौं खेलमा मुम्बईसंग ३४ रनको हार बेहोरेको थियो ।

पछिल्लो खेलमा मुम्बई विरुद्ध कप्तान वार्नरको ब्याटबाट रन बन्नु हैदराबादको लागि राम्रो संकेत हो । २०९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा उनले ४४ बलमा ६० रन बनाएका थिए जसका बाबजुद टिम ३४ रनले पराजित भएको थियो। सुरुवाती खेलहरुमा बेन्चमा बसेका केन विलियमसनको आगमनसँगै हैदराबादको मिडल अर्डर मजबुत बनेको छ। मनिष पाण्डेले पाएको सुरुवातलाई ठुलो स्कोरमा परिणत गर्न नसक्दा हैदराबाद विशाल योगफल बनाउनबाट चुकेको छ। प्रियम गर्ग, अब्दुल समाद र अभिषेक शर्मा जस्ता युवा ब्याट्सम्यानले बनेको हैदराबादमा मिडल अर्डरमा अनुभवको कमी रहेको छ। पछिल्लो खेलमा शारजाहको छोटो मैदानमा २२ रन खर्चिएर १ विकेट लिएका थिए जुन हैदाबादको लागि सुखद पक्ष हो ।
भेट्रान फास्ट बलर भुवनेश्वर कुमार चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि हैदराबादलाई ठूलो झट्का लागेको छ। उनको अनुपस्थितिमा हैदराबाको बलिंग लाइन-अप लड्खडाउने छ। सन्दिप शर्मा, नटराजन, खलिल र सिद्धार्थले हैदराबादको फास्ट बलिंग पक्ष सम्हाल्ने छन् । नटराजन बाहेक अन्य कुनै बलरले हैदाराबादले खेलेको पाचैं खेल खेलेका छैनन् । यस्तोमा हैदराबाले कुन कुन फास्ट बलरलाई मैदान उतार्नेछ हेर्न लायक हुनेछ।

यता, पहिलो खेलमा दिल्ली विरुद्ध सुपर ओभरमा पराजित भएको पन्जाब दोस्रो खेलमा बैंगलोर विरुद्ध ९७ रनको फराकिलो अन्तरले विजयी भएको थियो । त्यसपश्चात् पन्जाब लगातार ३ खेलमा पराजित भएको छ । पन्जाबले राजस्थान विरुद्ध ४ विकेटको, मुम्बई विरुद्ध ४८ रनको तथा चेन्नाई विरुद्ध १० विकेटको हार बेहोरेको थियो ।
राम्रो प्रदर्शन बाबजुद मात्र १ खेल जितेको पन्जाब आफ्नो टप अर्डर ब्याट्सम्यानमा बढि निर्भर छ। लोकेश राहुल, मायांक अग्रवाल र निकोलास पुरानको ब्याटबाट रन बनेता पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा पन्जाब बारम्बार चुकेको छ। ग्लेन म्याक्सवेल जस्तो ठूलो खेलाडिको खराब प्रदर्शनले पन्जाबले पाएको राम्रो सुरुवातको फाइदा उठाउन सकेको छैन। पन्जाबले म्याक्सवेललाई आज मौका दिन्छ या दिदैन भने हेर्न लायक हुनेछ। जारी सिजन पछिल्लो खेलमा चेन्नाई विरुद्ध राम्रो प्रदर्शन गरेका मन्दिप सिंहले पन्जाबको ब्याटिंग मा लचकता प्रदान गर्न सक्छन्। ‘युनिभर्स बोस’ क्रिस गेल तथा मुजिब उर् रहमानले हालसम्म मौका पाएका छैनन्।
बलिंगतर्फ शेल्डन कोट्रेल र मोहम्मद शामीले नयाँ बलबाट विकेट लिएता पनि डेथ ओभरमा चुक्दा पन्जाबले हार बेहोर्न पगेको छ । युवा लेग स्पिनर रवि बेश्नोईले पन्जाबको स्पिन पक्ष सम्हालिरहेका छन् जसको प्रदर्शनमा स्थिरता भने देखिएको छैन । उनले मिडल ओभरमा विकेट लिदैं विपक्षि टिमलाई दबाबमा ल्याउनु पर्ने हुन्छ।
हेड टु हेड

हालसम्म यी दुई टोलिबीच कुल १४ पटक प्रतिस्पर्धा भएको छ जसमा हैदराबादको पुर्ण रुपमा दबदबा रहेको छ। हैदराबदले १० खेलमा जित हात पार्दा पन्जाब मात्र ४ खेलमा विजयी भएको छ। गत सिजन दुबै टोलीले समान १-१ खेल जितेका थिए। पहिलो खेलमा पन्जाब ६ विकेटले तथा दोस्रो खेलमा तथा दोस्रो खेलमा हैदराबाद ४५ रनले विजयी भएको थियो।
जारी सिजन दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा ९ खेल खेलिएको छ जसमध्य ६ खेलमा पहिले ब्याटिंग गर्ने टोलीले जित हात पार्दा १ खेल दोस्रो ब्याटिंग गर्ने टिमले जितेको छ। २ पटक खेल बराबरी भएको कारण सुपर ओभरसम्म धकलिएको छ। पन्जाबले जारी सिजन यो मैदानमा ३ खेल खेलिसकेको छ जसमध्य दुई खेलमा हार बेहोर्दा पन्जाबले एक खेलमा जित हात पारेको छ। हैदराबादले यो मैदानमा २ खेल खेलिसकेको छ जसमध्य समान १ जित र १ हार बेहोरेको छ।
पहिलो इनिंग औसत योगफल : १७९ ( जारी सिजन ), चेज गर्दाको रेकर्ड : जित-१, हार- ६, बराबरी-२
भुवनेश्वरको चोटका कारण हैदराबादलाई ठुलो झड्का लागेको छ। टिमले कौलको स्थानमा पुन: खलिललाई मौका दिन सक्छ। अन्यथा हैदराबादले अन्य परिवर्तन नगर्न सक्छ।
हैदरावादको सम्भावित ११
डेभिड वार्नर ( कप्तान ), जोनी बेयरस्टो ( विकेटकिपर ), मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, अभिषेक शर्मा, अब्दुल शमद, राशिद खान, सन्दिप शर्मा, खलिल एहमद/सिद्धार्थ कौल, टि नटराजन
पन्जाबको सम्भावित ११
केएल राहुल ( कप्तान/विकेटकिपर ) , मायाँक अग्रवाल, निकोलस पुरन, क्रिस गेल, मन्दिप सिंह, सरफराज खान, मुजिब उर रहमान, मुरुगन आश्विन/क्रिस्नाप्पा गौतम/हर्मनप्रित बराल, रभी बिस्नोइ, शेल्डन कटरेल, मोहम्मद शामी
लगातार ३ खेलमा पराजित भएको पन्जाबले आजको खेलमा धेरै परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ। टिमले क्रिस गेललाई स्थान दिनसक्छ जसका लागि खराब प्रदर्शन गरेका म्याक्सवेलले बेन्चमै चित्त बुझाउनु पर्ने हुन्छ। टिमले मिस्ट्रि स्पिनर मुजिबलाई क्रिस जोर्डानको स्थानमा मौका दिनसक्छ। कृष्णप्पा गौतमले हर्मनप्रित बरालको स्थान लिन सक्छन्।
लयमा रहेका ४ खेलाडी :-

लोकेश राहुल :- किङ्ग्स-११ पन्जाबका कप्तान लोकेश राहुल जारी सिजन उत्कृष्ट लयमा छन्। हालसम्म ओरेन्ज क्यापको हकदार बनेका उनले ५ खेलमा ३०२ रन बनाइसकेका छन्। उनले पछिल्लो खेलमा चेन्नाई विरुद्ध ५२ बलमा ६३ रनको अर्धशतकीय पारी खेलेका थिए।
मायांक अगरवाल :- ओरेन्ज क्यप्को दौडमा आफ्नो सहकर्मी राहुललाई पछ्याइरहेका मायांकले ५ खेलमा २७२ रन बनाइसकेका छन्। राहुलले पछिल्लो खेलमा चेन्नाई विरुद्ध १९ बलमा २६ रनको आक्रामक ब्याटिंग गरेका थिए।
डेभिड वार्नर :- हैदराबादका कप्तान वार्नरले जारी सिजन ५ खेलमा १७५ रन बनाइसकेका छन्। उनले पछिल्लो खेलमा मुम्बई विरुद्ध ७० रनको पारी खेलेका थिए जस बाबजुद टिम ३४ रनले पराजित भएको थियो।
राशिद खान :- लेग स्पिनर राशिद खानले ५ खेलमा ५ विकेट हात पारिसकेका छन्। उनले पछिल्लो खेलमा मुम्बई विरुद्ध २२ रन खर्चिएर १ विकेट लिएका थिए।
रोचक रेकर्ड :-
१.हैदराबादका ब्याटसम्यान मनिष पाण्डे आईपिएलमा ३००० रन पुरा गर्नबाट मात्र १० रन टाढा छन्।
२. हैदराबादका लागि आईपिएलमा ३५०० रन पुरा गर्नबाट कप्तान डेभिड वार्नर ५४ रन टाढा छन्।
३.आईपिएलमा ५० विकेट हात पार्नबाट मोहम्मद शामि २ विकेट टाढा छन्।
४.लोकेश राहुल आईपिएलमा १०० छक्का प्रहार गर्नबाट ९ छक्का टाढा छन्।
प्रकाशित मिति २०७७ असोज २२ गते बिहीबार ०६:१८




