२०८३ असोज २३ गते शुक्रबार

छैटौँ राष्ट्रिय फुटसल एक्यानको उपाधि बाँकेलाई

छैटौँ राष्ट्रिय फुटसल एक्यानको उपाधि बाँकेलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १२ गते सोमबार ०६:०७

पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्ट् संघ (एक्यान), कास्कीको आयोजनामा पोखरामा सम्पन्न छैटौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता–२०८३ को उपाधि बाँकेले जितेको छ। असोज ९ र १० गते आयोजित प्रतियोगितामा देशका विभिन्न स्थानका १७ टोली...

पोखरा ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट् संघ (एक्यान), कास्कीको आयोजनामा पोखरामा सम्पन्न छैटौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता–२०८३ को उपाधि बाँकेले जितेको छ। असोज ९ र १० गते आयोजित प्रतियोगितामा देशका विभिन्न स्थानका १७ टोली सहभागी भएका थिए।
प्रतियोगितामा सेन्ट्रल इलेभेन प्रथम उपविजेता बन्दा आरबीपी मेमोरियल चितवन दोस्रो उपविजेता बनेको छ। विजेता एक्यान बाँकेले एक लाख ५० हजार रुपैयाँ, सेन्ट्रल इलेभेनले एक लाख रुपैयाँ र आरबीपी मेमोरियल चितवनले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। व्यक्तिगत विधातर्फ एक्यान बाँकेका तुलसी काफ्ले उत्कृष्ट गोलरक्षक घोषित भए। आरबीपी मेमोरियल चितवनका गौरव अधिकारी सर्वाधिक गोलकर्ता बन्दा सेन्ट्रल इलेभेनका स्वस्तिक कर्माचार्य प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए।

उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही सात हजार पाँच सय रुपैयाँ नगद तथा अन्नपूर्ण केबलकारको टिकट प्राप्त गरे। प्रतियोगिताका उत्कृष्ट खेलाडी कर्माचार्यले १० हजार रुपैयाँ नगद र द क्लिफको बन्जी वा स्विङ टिकट प्राप्त गरे।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा उनले यस्ता राष्ट्रियस्तरका प्रतियोगिताले चार्टर्ड एकाउन्टेन्टहरूबीचको सम्बन्ध सुदृढ गर्नुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए। प्रतियोगिताको समापन समारोहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का अध्यक्ष सीए आनन्दराज शर्मा वाग्ले र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) का सभापति सीए अनुप नेपालले विजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितालाई खेलकुदसँगै मानवीय उत्तरदायित्वसँग पनि जोडिएको आयोजकले जनाएको छ। हालैको बाढीबाट प्रभावित चार्टर्ड एकाउन्टेन्ट समुदायका एक सदस्यलाई सहयोग गर्न विजेता टोलीले प्राप्त गर्ने पुरस्कारको २५ प्रतिशत र प्रतियोगिताबाट बचत हुने रकम सहयोग गर्ने निर्णय गरको छ ।शिखर इन्स्योरेन्सको प्रस्तुतिमा तथा गोल्डस्टार सुजको सहकार्यमा आयोजित प्रतियोगिताका खेल पब्लिक टेलिभिजनले प्रत्यक्ष प्रसारणसमेत गरेको थियो । प्रतियोगिताले चार्टर्ड एकाउन्टेन्टहरूबीच आपसी सद्भाव, मित्रता र सहकार्य विस्तार गर्नुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएको आयोजकले जनाएको छ।

प्रकाशित मिति २०८३ असोज १२ गते सोमबार ०६:०७
हजुरको प्रतिक्रिया