कतार
फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डी को दोस्रो खेलमा फ्रान्सले अष्ट्रेलियाको सामना गर्दैछ । खेल अल जानुब रंगशालामा मध्यरात १२:४५ बजे हुनेछ ।
पछिल्लो संस्करणमा पनि यी दुई टोली समूह चरणको पहिलो खेलमा भिडेका थिए । फ्रान्सले अष्ट्रेलियालाई २-१ ले पराजित गर्दै उपाधि यात्रा सुरु गरेको थियो ।
फ्रान्स सन् १९६२ पछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टोली बन्न चाहन्छ । सन् २००२ यता साविक विजेता युरोपेली टोली समूह चरणबाट बाहिरिंदै आएको इतिहास छ । सन् २००२ मा पनि फ्रान्स नकआउट चरण पुग्न सकेको थिएन ।
अष्ट्रेलिया छैटौं पटक विश्वकप खेलिरहेको छ । हालसम्म सन् २००६ मा मात्र समूह चरण पार गरेको अष्ट्रेलिया सुखद सुरुवात गर्न चाहन्छ ।
हालसम्म विश्वकपमा एक पटक भिडेका यी दुईले अन्तर्राष्ट्रिय खेलमा भने ५ पटक आमनेसामने भएका छन् । फ्रान्सले ३ खेल जित्दा अष्ट्रेलिया एक खेलमा विजयी भएको छ । एक खेल बराबरीमा सकिएको छ ।
हालसम्म विश्वकपमा फ्रान्सले ६६ खेल खेल्दा ३४ जित, १३ बराबरी र १९ हार बेहोरेको छ । यता अष्ट्रेलियाले १६ खेलमा २ जित, ४ बराबरी र १० हारको नतिजा निकालेको छ ।
प्रकाशित मिति २०७९ मंसिर ६ गते मंगलबार ०२:०४




