पोखरा । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई अन्तर्घातको आरोप लगाउने पार्टी गाउँ समिति सभापतिलाई कारबाहीको माग गरिएको हो ।
मादी गाउँपालिका समिति सभापति यमबहादुर गुरुङलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही माग गर्दै मादी–१ गाउँ समितिले प्रदेश १ (ख)समितिमा आइतबार निवेदन बुझाएको हो । ‘नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्णबहादुर केसीलाई विभिन्न अप्रमाणीत आरोप लगाएर गरेका सम्पूर्ण कार्यको नेपाली कांग्रेस १ सिक्लेसतर्फबाट चरित्र हत्या गर्न गरिएका आरोप प्रमाणीत गर्न अन्यथा संगठनले साधरण सदस्यसमेत नरहने गरी यमबहादुर गुरुङलगायत कसुरदारलाई कारबाहीको जोडदार माग गर्दछौँ,’ मादी–१ सभापति टंकप्रसाद गुरुङले हस्ताक्षर गरेको निवेदनमा भनिएको छ ।
कास्की १ मा प्रतिनिधिसभामा कांग्रेस कास्की सभापति किशोरदत्त बराल र प्रदेश सभा १ (२) मा दीपक गुरुङ माइला पराजित भएका थिए । दुवै उम्मेदवार हराउन लागेको भन्दै कास्की कांग्रेसका निवर्तमान सभापति केसीमाथि अन्तर्घातको आरोप छ । चुनावको नतिजा आएपछि उम्मेदवारद्वयका समर्थकले नेता केसीको घर घेराउ र नाराबाजी गरेका थिए ।
कारबाहीको माग गरिएका सभापति गुरुङले चार दिनअघि फेसबुकमा स्टाटस लेख्दै निवर्तमान सभापति केसीले कांग्रेसका उम्मेदवार हराउनुपर्छ भनेर आफूलाई पाठ सिकाएको दाबी गरेका थिए ।
प्रकाशित मिति २०७९ मंसिर ११ गते आइतबार ०१:२८




