२०८३ असोज २३ गते शुक्रबार

पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन, दोषीमाथि कारबाहीको प्रतिवद्धता

पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन, दोषीमाथि कारबाहीको प्रतिवद्धता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २३ गते शुक्रबार ०४:४८

घटनास्थलको निरीक्षणपछि बोल्दै मेयर आचार्यले भने, ‘सडकको अवस्था हेर्दा दुर्घटना हुने खालको बाटो देखिँदैन, तर पनि यसरी दुर्घटना हुनु गम्भीर विषय हो । छानबिन समितिले यसको प्राविधिक र अन्य पक्षबाट सत्यतथ्य बाहिर ल्याउनेछ ।’

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. २८ माझठानामा विद्यार्थी बोकेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन पोखरा महानगरपालिकाले ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

शुक्रबार बिहान ट्युसन पढ्न जाँदै गरेका विद्यार्थी बोकेको बस कालिकास्थित ओख्लेको भिरबाट खस्दा ५ जनाले ज्यान गुमाएका छन् । बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए ।

घटनालगत्तै उद्धार कार्य शुरु गरिए पनि ५ जनालाई बचाउन नसकिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।

दुर्घटनाको कारण पहिचान गर्न महानगरले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा मेकानिकल इन्जिनियर, महानगर शिक्षा समितिका सदस्य, नगर प्रहरी निरीक्षक र ट्राफिक सहायक निरीक्षक सदस्य रहेका छन् ।

उक्त समितिलाई ५ दिनभित्र घटनाको विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मेयर आचार्यले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।

घटनास्थलको निरीक्षणपछि बोल्दै मेयर आचार्यले भने, ‘सडकको अवस्था हेर्दा दुर्घटना हुने खालको बाटो देखिँदैन, तर पनि यसरी दुर्घटना हुनु गम्भीर विषय हो । छानबिन समितिले यसको प्राविधिक र अन्य पक्षबाट सत्यतथ्य बाहिर ल्याउनेछ ।’

यसअघि पनि विद्यालयका सवारीसाधनको सुरक्षा मापदण्डका विषयमा महानगरले कडाइ गरेको भएपनि पुनः दुर्घटना हुनुले चुनौती थपेको छ ।

विद्यालयका बसहरूमा अनिवार्य सुरक्षा मापदण्ड, नियमित जाँच र पहेँलो रङको मापदण्डको पालना भए–नभएको विषयमा अब थप कडाइ गरिने मेयर आचार्यले बताए ।

प्रतिवेदन प्राप्त भएपछि दोषीउपर कडा कारबाही प्रक्रिया अघि बढाउने महानगरको तयारी छ ।

 

प्रकाशित मिति २०८३ असोज २३ गते शुक्रबार ०४:४८
हजुरको प्रतिक्रिया