२०८३ असोज २३ गते शुक्रबार

पोखरामा सात वर्षपछि भैरव नाच

पोखरामा सात वर्षपछि भैरव नाच

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १२ गते सोमबार १२:०८

नेवारी भाषाका भजन र आरतीको गायनमा आधारित कौंशिक, छायाँनट्, मालवा, सारंगा, तोडी, मालश्रीलगायत रागहरु गाइन्छ ।

पोखरा

नेवारी संस्कृतिमा एउटा यस्तो नाच छ, जुन तन्त्रमा आधरित हुन्छ । नृत्यमा प्रयोग गरिने मुखुण्डो तन्त्रोक्त विधिबाट साक्षात शक्तिको जागरण गराइने भैैरव नाच ।

२५० वर्षे लामो इतिहास बोकेको भैरव नाचमा कलाकार मात्रै १०६ जना आवश्यक हुन्छ । १२ जना युवा काल भैरव, महाकाली, ईन्द्रायणी, वाराही, कौमारी, विष्णुवी, व्रम्हायणी, गंगा, गणेश, दागिनी, भूच्चा र कवाङको रुप धारणगरी नाच्ने गर्दछन् । ३० जना गायक, १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा नृत्य कलाकार, १० स्वयमसेवक र व्यवस्थापक २० जना आवश्यक हुन्छ । न्यूनतम् ८० जना कलाकार चाहिन्छ । खर्चिलो भएपनि यो नाच काठमाडौं उपत्ययाकामा मात्रै नभएका पोखराका नेवार समुदायले पनि धानिरहेका छन् । नयाँ पुस्तालाई सिकाइरहेका छन् ।

पोखरामा ७ वर्षपछि भैरव नाच प्रर्दशन गर्न लागिएको छ । पहिला प्रत्येक १२ वर्षमा देखाइने भैरव नाच २०२९ सालपछि ६ वर्षमा देखाउन थालियो । तर, कोरोना कहरका कारण पोखराले १ वर्ष ढिला गरेर भएपनि भैरव नाच देखाउँदैछ । मंसिर १५ देखि २२ गतेसम्म पोखरामा विभिन्न स्थानमा नाच प्रदर्शन हुने भैरव साँस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानांगले बताए । उनका अनुसार भीमसेन मन्दिरबाट भैरव नाच प्रदर्शन सुरु हुनेछ । त्यसपछि गणेश मन्दिर भीमसेनटोल, सरस्वती मन्दिर, विन्ध्यावासिनी मन्दिर लगायतका स्थानमा नाच प्रदर्शन गरिनेछ । ‘मंसिर २२ गतेपछि भक्तजनको माग अनुसार चैत मसान्तसम्म नृत्य प्रदर्शन रहनेछ’, प्रधानांगले भने ।

भैरव नाच प्रदर्शन गर्न १ महिना लामो प्रशिक्षण गराएको प्रधानांगले जानकारी दिए । उनका अनुसार ३५० बढी कलाकारले प्रशिक्षण लिएका छन् । उनले भने, प्रशिक्षणमा देखिएको सहभागिताले भविष्यमा निरन्तरता पाउने विश्वास बढेको छ ।’

नेवारी भाषाका भजन र आरतीको गायनमा आधारित कौंशिक, छायाँनट्, मालवा, सारंगा, तोडी, मालश्रीलगायत रागहरु गाइन्छ । नर्तकहरु खरजति ताल, चोक ताल, एक ताल, दामो तालमा नृत्य गर्छन् । मुदृंगा, झ्याली, सहनाइ वादनको माध्यमबाट संगीत सिर्जना गरेर भैरव नाच नचाइन्छ । शमस्त्रीय संगीतमा आधारित भैरव नाच करिब ६ घण्टासम्म चल्छ । ‘कति समयसम्म चल्छ भन्ने ठ्याक्कै यकिन छैन् । ५ देखि ६ घण्टाको बीचमा सकिन्छ’, संस्कृतिविद् तीर्थ श्रेष्ठले भने । कलाकारको समर्पण र भक्तीले भैरव नाच जोगिएको श्रेष्ठले बताए । भक्तपुरका राजा रणजीत मल्लको पालादेखि भैरव नाच सुरु भएको कथन छ ।

प्रकाशित मिति २०७९ मंसिर १२ गते सोमबार १२:०८
हजुरको प्रतिक्रिया