२०८३ असोज २३ गते शुक्रबार

गण्डकीमा गजलको विगत र वर्तमानबारे विमर्श

गण्डकीमा गजलको विगत र वर्तमानबारे विमर्श

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २८ गते आइतबार ०१:२८

पाेखरा । गण्डकी प्रदेशमा गजल विधाको ऐतिहासिक विकासक्रम र वर्तमान अवस्थाबारे पोखरामा गहन छलफल गरिएको छ । मोती जयन्तीको अवसर पारेर गण्डकी प्रज्ञा प्रतिष्ठानले शुक्रबार पोखरामा ‘गण्डकी प्रदेशमा गजल: विगत र वर्तमान’ विषयक विचार...

पाेखरा ।

गण्डकी प्रदेशमा गजल विधाको ऐतिहासिक विकासक्रम र वर्तमान अवस्थाबारे पोखरामा गहन छलफल गरिएको छ । मोती जयन्तीको अवसर पारेर गण्डकी प्रज्ञा प्रतिष्ठानले शुक्रबार पोखरामा ‘गण्डकी प्रदेशमा गजल: विगत र वर्तमान’ विषयक विचार गोष्ठी आयोजना गरेको हो ।

कार्यक्रममा प्राज्ञ अनुराग अधिकारी र साहित्यकार रुपिन्द्र प्रभावीले संयुक्त रुपमा तयार पारेको गोष्ठीपत्र प्रस्तुत गरेका थिए । गोष्ठीपत्र प्रस्तुत गर्दै साहित्यकार प्रभावीले गण्डकीमा गजलको इतिहास, साहित्यिक गतिविधि, गजल कृति प्रकाशन गर्ने स्रष्टा, सक्रिय संघसंस्था र गजल विधाले भोगेका विभिन्न उतारचढावबारे जानकारी गराए । उक्त गोष्ठीपत्रमाथि सहभागी स्रष्टा तथा साहित्यकारहरुले विभिन्न सुझाव दिएका थिए ।

‘प्राज्ञिक र परिणाममुखी कार्यक्रम गर्ने सोच अनुसार यो गोष्ठी आयोजना गरिएको हो,’ प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपानेले भने, ‘यस्ता कार्यक्रमले प्रतिष्ठानका साहित्यिक अभियानलाई थप सहयोग पुग्छ ।’

स्थानीय स्रष्टालाई कृति प्रकाशनमा पर्ने झन्झट अन्त्य गर्न प्रतिष्ठानले विमोचनमा सघाउने सोच बनाएको उनले बताए । ‘लेखकले तयार पारेका कृति विमोचन हुनुभन्दा कम्तीमा १० दिनअघि प्रतिष्ठानमा उपलब्ध गराउनुपर्छ,’ कुलपति न्यौपानेले भने, ‘अध्ययन गर्दा त्रुटि नभेटिएमा विमोचन गरेर सहयोग गरिनेछ ।’

गण्डकी प्रदेशका पूर्वमन्त्री गोविन्दबहादुर नेपालीले गोष्ठीपत्रको प्रशंसा गर्दै प्राप्त सुझाव समेटेर यसलाई पूर्णता दिन आग्रह गरे । ‘यो गोष्ठीपत्र आगामी दिनमा गण्डकी प्रदेशको गजल विधासम्बन्धी महत्वपूर्ण दस्तावेज बन्नेछ,’ उनले भने ।

प्रविधिको विकासले साहित्यमा पनि प्रभाव पारिरहेको नेपालीको भनाइ थियो । ‘कृत्रिम बौद्धिकता (आइटी/एआई) ले मानव अस्तित्वमै चुनौती थपेको छ,’ पूर्वमन्त्री नेपालीले भने, ‘यस्तो अवस्थामा साहित्यको औचित्य र महत्व स्थापित गर्नुपर्छ । नयाँ पुस्तामा साहित्यिक इतिहास र सिर्जना हस्तान्तरण हुन नसके इतिहास नै हराउन सक्छ ।’

गोष्ठीमा शिव त्रिपाठी, दिलीप दोषी, रुपिन्द्र प्रभावी, प्राज्ञ कमल पौडेल ‘अथक’, इन्द्रमान खत्री, शान्ता बास्तोला, अनुराग अधिकारी र पूर्वमन्त्री गोविन्दबहादुर नेपालीले गजल वाचन गरे ।

प्रतिष्ठानका सदस्य-सचिव मनकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आगामी योजनाबारे जानकारी गराए । उपकुलपति शंकरविरही गुरुङले स्वागत गरेको कार्यक्रम प्राज्ञ अनुराग अधिकारीले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति २०८३ भदौ २८ गते आइतबार ०१:२८
हजुरको प्रतिक्रिया