२०८३ असोज २३ गते शुक्रबार

गण्डकी प्रदेश सभा: दोहोरिन खोज्नेलाई जनताले पत्याएनन्, नयाँलाई अवसर

गण्डकी प्रदेश सभा: दोहोरिन खोज्नेलाई जनताले पत्याएनन्, नयाँलाई अवसर

विनोद ढुुंगाना

@Public 4K Tv

२०७९ मंसिर १३ गते मंगलबार १२:५०

पार्टीले पत्याएका ४ जनालाई मात्रै जनताले फेरि पत्याएर गण्डकी प्रदेश सभामा पठाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र स्वतन्त्रका १-१ जना प्रदेश सभामा फेरि दोहोरिए ।

पोखरा
गण्डकी प्रदेश सभाका ६० सदस्य मध्य ११ जनालाई पार्टीले पत्याएर फेरि प्रदेश सभाको चुनाव लड्नलाइ टिकट थमायो । गण्डकीमा प्रतिनिधि सभाको १७ र प्रदेश सभाको ३४ सिटको छिनोफानो भइसकेको छ । विवादका कारण स्याङजा २ मा मात्र मतगणना हुन बाँकी हो । गण्डकीमा फेरि दोहोरिन चाहेका स्याङजा २ ‘क’ मा मोहनप्रसाद रेग्मी बाहेकको मत परिक्षा सकिएर जनताले फैसला गरिसकेका छन् ।

पार्टीले पत्याएका ४ जनालाई मात्रै जनताले फेरि पत्याएर गण्डकी प्रदेश सभामा पठाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र स्वतन्त्रका १-१ जना प्रदेश सभामा फेरि दोहोरिए । एमालेका ५ र माओवादी केन्द्रका १ जनालाई जनताले पत्याइदिएनन् । जनमत नपाएपछि दोस्रो पटक प्रदेश सभा छिर्ने सपनामा यो पटक विराम लागेको छ ।

 

दोहोरिएका ४ जना
गण्डकी प्रदेशमा नेकपा विभाजनपछि एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्नलाई राजीव गुरुङ (दिपक मनाङे) जस्तो पावरफुल कोहि थिएन । मनाङेको हातमा मुख्यमन्त्री गुरुङ नेतृत्व सरकारको आयु थियो । उनैका लागि भनेर पृथ्वीसुब्बाले मन्त्रालय फुटाएर मन्त्री पनि बनाए । तर, अन्तिममा मनाङेको समर्थनमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार बन्यो । गण्डकीमा सरकार फेरबदलमा भन्दा मनाङे प्रदेश सभा निर्वाचनमा अझ बढी पावरफुल देखिए ।

उनी मतदान अगावै सर्वसम्मत निर्वाचित भएर प्रदेश सभा छिर्ने सांसद बने । मनाङले मनाङ ‘ख’ मा उम्मेदवारी दर्ता गराएका थिए । २०७४ मा एमालेको समर्थनमा जितेका मनाङे विरुद्ध यसपालि एमाले कांग्रेसले चुनावी मैदानमा उम्मेदवार खडा गर्नै सकेनन् । स्वतन्त्र उम्मेदवार दिएका दोर्जे लामा गुरुङले पनि भिडन्तको दिनसम्म आफूलाई रोक्न सकेनन् । जनताको मत परिक्षण अगावै मैदान छाडेर भागेपछि मनाङे असोज २८ गते नै सर्वसम्मत निर्वाचित भए । त्यसपछि गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री समेत रहेका मनाङेको गण्डकी प्रदेश सभामा दोस्रो पटक इन्ट्री भयो ।

कानुन मन्त्री विन्दुकुमार थापाले पनि दोस्रो जित दर्ता गराएका छन् । उनलाई असहयोग गरेको आरोपमा गण्डकीकै भौतिक पूर्वाधार मन्त्री कुमार खड्का निर्वाचनको केही दिन अगाडी मात्र बर्खास्तीमा परे । कांग्रेसबाट दोहोरिनलाइ टिकट पाउने विन्दु एक्ला थिए । खड्काको बर्खास्तीपछि चौघेरोमा परेका थापाले कास्की २ ‘ख’ मा जनताको मतले जित्दै दोस्रो कार्यकाल दोहो¥याएका छन् ।

अघिल्लो पटक एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा छिरेकी मिना गुरुङ विन्दुको प्रतिस्पर्धी थिइन । यो पटक प्रत्यक्षबाटै दोहोरिने योजनामा रहेकी उनलाई जनताले पत्याएनन् । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले पनि जित हासिल गरेका छन् । तनहुँ १ ‘ख’ बाट चुमान फेरि दोेहोरिएका हुन् । चुुनाव अगाडि मात्रै कांग्रेसबाट एमाले छिरेर चुमानसँगको प्रतिस्पर्धामा उत्रिएका पुर्णबहादुर गुरुङको जोर चलेन । माओवादीबाट गण्डकीमा दोहोरिने एक्ला चुमान यदि माओवादीकै नेतृत्वमा सरकार बनेको खण्डमा मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।

नेकपा एमालेका रोशनबहादुर गाहा थापालाई पनि जनताले अनुमोदन गरेर दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सभामा पठाएका छन् । नवलपुर १ ‘क’ बाट चुनाव लडेका मगरले नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेललाई पछाडि पार्दै फेरि गण्डकी प्रदेश सभाको यात्रा तय गरेका हुन् ।

जनताले नपत्याएकाहरु
एमालेबाट दोहोरिनलाई कास्की ३ ‘ख’ बाट चुनावी मैदानमा होमिएका राजीव पहारी पराजित भएका छन् । उनलाई पहिलो पटक संसदीय यात्रामा होमिएका नेपाली कांग्रेसका प्रकाश बरालले रोकेका हुन् ।
तनहुँ १ ‘क’ बाट दोहोरिन खोजेका रामबहादुर गुरुङलाई पहिलो पटक मैदान छिरेका नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठले पराजित गर्दै दोहोरिन दिएनन् । पश्मिना व्यवसायी गुरुङलाई प्लास्टिक व्यवसायी श्रेष्ठ चुनावी मैदानमा बाधा भए ।

मुस्ताङ ‘क’ बाट प्रदेशमा दोहोरिने दाउमा रहेका इन्द्रधारा विष्टलाई पनि सफलता मिलेन । कांग्रेसका नम्डु गुरुङलाई जनताले पत्याए । मुस्ताङ ‘ख’ बाट चन्द्रमोहन गौचन पनि पराजित भए । २०७४ सालमा समानुपातिक कोटाबाट प्रदेश छिरेका गौचनलाई विकल शेरचनले प्रत्यक्ष चुनाव जित्दै दोहोरिन दिएनन् । कास्की १ ‘क’ मा माओवादीबाट मैदानमा उत्रिएका दिपक कोइरालालाई पनि फेरि जनताले पत्याएनन् । प्रतिनिधि सभाबाट प्रदेश झरेका नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी निर्वाचित भए ।

प्रतिनिधिसभा उक्लिएकालाई पनि झड्का
पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित गण्डकी प्रदेश सभामा अनुभव बटुलेका ५ जना प्रतिनिधि सभामा उक्लिए । लमजुङबाट माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गर्दै एमाले उपमहासचिव पृथ्वीसुब्बाले सफलता हासिल गरे । पृथ्वीसुब्बा नेतृत्वको मन्त्रीपरिषद्का अर्थमन्त्री किरण गुरुङ र भौतिक पुर्वाधारमन्त्री रामशरण बस्नेतलाई प्रतिनिधि सभामा जनताले पत्याएनन् ।

तनहुँ २ मा चुनाव लडेका गुरुङलाई नेपाली कांग्रेसका शंकर भण्डारले पराजित गर्दा राजेन्द्र बजगाईंले गोरखा १ बाट रामशरणलाई रोके । रामशरण र बजगाईं पुराना प्रतिस्पर्धी हुन् । २०७४ मा गोरखा १ ‘ख’ बाट प्रदेश सभा छिर्नलाई रामशरणले बजगाईंलाई रोकेका थिए । गण्डकीका वहालवाला अर्थमन्त्री रामजी बराललाई पनि जनताले खसालेको मत चुनाव जित्नलाई अपर्याप्त भयो । नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ सँग बराल पराजित भएका हुन् । रामजी कास्की ३ ‘क’ बाट चुनाव जित्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेशबाट प्रतिनिधि सभामा बढुवा भएका मनबहादुर गुरुङले कास्की १ मा जित दर्ता गराएका छन् । नेकपा एमाले कास्कीका अध्यक्ष गुरुङले नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई रोक्दै प्रतिनिधि सभामा डेब्यु गरेका हुन् ।

गण्डकी प्रदेश सभामा जित्नेहरु
कास्की
कास्की १ ‘क’ खगराज अधिकारी (नेकपा एमाले)
कास्की १ ‘ख’ – बेदबहादुर गुरुङ (नेकपा एमाले)
कास्की २ ‘क’ – भीमबहादुर कार्की (नेकपा एमाले)
कास्की २ ‘ख’ – विन्दुुकुमार थापा (नेपाली कांग्रेस)
कास्की ३ ‘क’ – गणेशमान गुरुङ (नेकपा एमाले)
कास्की ३ ‘ख’ – प्रकाश बराल (नेपाली कांग्रेस)
तनहुँ
तनहुँ १ ‘क’ – अशोककुमार श्रेष्ठ (नेपाली कांग्रेस)
तनहुँ १ ‘ख’ – हरिबहादुर चुमान (नेकपा माओवादी केन्द्र)
तनहुँ २ ‘क’ – श्यामराजा महत (नेकपा एमाले)
तनहुँ २ ‘ख’ – जितप्रकाश आले (नेपाली कांग्रेस)
लमजुङ
लमजुङ ‘क’ – डा. टकराज गुरुङ (नेपाली कांग्रेस)
लमजुङ ‘ख’ – भेषबहादुर पौडेल (नेपाली कांग्रेस)
मनाङ
मनाङ ‘क’ – मुनिन्द्रजंग गुरुङ (नेपाली कांग्रेस)
मनाङ ‘ख’ – राजीव गुरुङ (निर्विरोध निर्वाचित)
मुस्ताङ
मुस्ताङ ‘क’ – नम्डु गुरुङ (नेपाली कांग्रेस)
मुस्ताङ ‘ख’ – विकल शेरचन (नेपाली कांग्रेस)
म्याग्दी
म्याग्दी ‘क’ – हरिबहादुर भण्डारी (नेकपा माओवादी केन्द्र)
म्याग्दी ‘ख’ – रेशमबहादुर जुग्जाली (नेकपा माओवादी केन्द्र)
बागलुङ
बागलुङ १ ‘क’ – दिपेन्द्रबहादुर थापा (नेपाली कांग्रेस)
बागलुङ १ ‘ख’ – डिल्लीराम सुवेदी (नेपाली कांग्रेस)
बागलुङ २ ‘क’ – जीतबहादुर शेरचन (नेपाली कांग्रेस)
बागलुङ २ ‘ख’ – दोर्णकुमार कुँवर (नेपाली कांग्रेस)
पर्वत
पर्वत ‘क’ – भक्तबहादुर कुँवर (नेकपा एमाले)
पर्वत ‘ख’ – मित्रलाल बस्याल (नेकपा एमाले)
स्याङ्जा
स्याङ्जा १ ‘क’ – सीताकुमारी सुन्दास (नेकपा एमाले)

स्याङ्जा १ ‘ख’ – सुधिरकुमार पौडेल (नेकपा एमाले)

स्याङ्जा २ ‘क’ – मतगणना बाँकी
स्याङ्जा २ ‘ख’ – मतगणना बाँकी
नवलपुर
नवलपुर १ ‘क’ – महेन्द्रध्वज जिसी (नेपाली कांग्रेस)
नवलपुर १ ‘ख’ – रोशनबहादुर गाहा थापा (नेकपा एमाले)
नवलपुर २ ‘क’ – पदमा जिसी (नेकपा एमाले)
नवलपुर २ ‘ख’– लक्ष्मणबहादुर पाण्डे (नेकपा एमाले)
गोरखा
गोरखा १ ‘क’ – कृष्णप्रसाद धिताल (नेकपा माओवादी केन्द्र)
गोरखा १ ‘ख’ – नन्दप्रसाद न्यौपाने (नेपाली कांग्रेस)
गोरखा २ ‘क’ – फणीन्द्र देवकोटा (नेपाल समाजवादी पार्टी)
गोरखा २ ‘ख’ – सुरेन्द्रराज पाण्डे (नेपाली कांग्रेस)

 

 

प्रकाशित मिति २०७९ मंसिर १३ गते मंगलबार १२:५०
हजुरको प्रतिक्रिया