२०८३ साउन २१ गते बिहीबार

अन्योलमा पोखराको ल्यान्डफिल साइटः विमानस्थलसँग मागेको समय सकियो, अब फोहोर कहाँ फाल्ने ?

अन्योलमा पोखराको ल्यान्डफिल साइटः विमानस्थलसँग मागेको समय सकियो, अब फोहोर कहाँ फाल्ने ?

विकास रोकामगर

@Public 4K Tv

२०७९ मंसिर २० गते मंगलबार ०३:१९

महानगरको जवाफ छ, ‘हामी खोज्दैछौं । जनवरी १ सम्म विकल्प खोजिसक्छौं ।’ तर, महानगरले कहाँ विकल्प खोज्दैछ भन्ने खुलेको छैन ।

मेयर आचार्य भन्छन्ः जनवरी १ लाई असर नपार्ने गरी प्रोसेस अघि बढाएका छौं

पोखरा
अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुला गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ । सोही योजनाअनुरुप विमानस्थलमा जडित उपकरणको परीक्षण (क्यालिब्रेसन फ्लाइट) भइसकेको छ । एरो थाई कम्पनीले मंसिर ५ गतेदेखि १२ गतेसम्म गरेको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन ३ हप्तभित्र दिने जनाएको छ । तर, विमानस्थल नियमित खुला गर्ने मिति नजिकिँदासमेत मुख्य समस्याका रुपमा देखिएको पोखरा ल्यान्डफिल साइट समस्या सुल्झिन सकेको छैन ।

विमानस्थलदेखि करिब २ किलोमिटर दूरीमा रहेको ल्यान्डफिल चराचुरुंगीका कारण जोखिम हुने भन्दै विमानस्थल आयोजनाले सुरुआतबाटै ल्यान्डफिलको विकल्प खोज्न महानगरलाई सुझाइरहेको थियो । तर, पटकपटक पत्राचार गर्दा पनि महानगरले ढिलासुस्ती गरिदिँदा अहिलेसम्म समस्या ज्यूँका त्यूँ छ । प्राधिकरणले क्यालिब्रेसन फ्लाइट हुने दिन (मंसिर ५ गते)बाटै ल्यान्डफिल साइटमा फोहोर नफाल्नसमेत आग्रह गरेको थियो । महानगरले अहिले पोखरा १४ सेती किनारस्थित बच्छेबडूँवामा फोहोर व्यवस्थापन गर्र्दै आइरहेको छ । तर, महानगरले भने आफूहरुले १८ गतेसम्म विकल्प खोजिसक्ने र त्यतिबेलासम्म समय दिन आयोजनासँग समय माग गरेको थियो । महानगरले मागेको समय पनि आइतबारदेखि सकिइसकेको छ । १५ वर्षका लागि स्थानीयसँग सम्झौता गरेर प्रयोग गर्न थालिएको ल्यान्डफिल साइट अहिले १८ वर्ष पुग्न लागिसकेको छ । बच्छेबडूँवाबाट ल्यान्डफिल साइट हटेपछि अब महानगरको फोहोर कहाँ व्यवस्थापन हुन्छ ? महानगरको जवाफ छ, ‘हामी खोज्दैछौं । जनवरी १ सम्म विकल्प खोजिसक्छौं ।’ तर, महानगरले कहाँ विकल्प खोज्दैछ भन्ने खुलेको छैन ।

महानगरले ल्यान्डफिलको विकल्प नखोजेको पनि होइन । तत्कालीन मेयर मानबहादुर जिसीले पनि पटकपटक विभिन्न समिति गठन गरेर ल्यान्डफिल साइटको विकल्प खोज्ने प्रयास गरे पनि मूर्त रुप दिन भने सकेनन् । विभिन्न वडाका वडाध्यक्षको संयोजकत्वमा गठित समितिले फरकफरक ठाउँमा ल्यान्डफिल साइट बनाउन प्रतिवेदन बुझाए पनि स्थानीयको विरोधले सर्न सकेको थिए । पोखरा १६ नं. वडाका तत्कालीन वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा गठित समितिले पोखरा १६ र २० नम्बर वडाको सीमानामा पर्ने पस्मराङमा महानगरको नयाँ ल्यान्डफिल साइट तोकिएको थियो । तर, त्यहाँ पनि स्थानीयको तीव्र विरोध भएपनि महानगर आफ्नो निर्णयबाट पछि हट्नुप¥यो ।

निवर्तमान मेयर जिसीले आफ्नो कार्यकालको अन्तिममा आएर ल्यान्डफिल साइट पोखरा वडा नम्बर ३३ मा सार्न अध्ययन गर्ने निर्णयसँगै महानगरबाट बिदा भए । पछि नयाँ मेयरका रुपमा आएका धनराज आचार्य नेतृत्वको पहिलो कार्यपालिका बैठकले पोखरा ३३, टिमुरपाटामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय ग¥यो । टिमुरपाटामा ल्यान्डफिल साइट बनाउनका लागि विस्तृत अध्ययन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न तथा पूर्वाधार निर्माण गर्न महानगरले १० करोड रुपैयाँ चालु आर्थिक वर्षका लागि विनियोजन पनि ग¥यो । तर, त्यहाँ पनि अध्ययन नहुँदै स्थानीयको विरोध भएपछि महानगर आफ्नो निर्णयबाट पछि हट्यो ।
अहिले महानगरले स्याङ्जा र पोखराको सीमानामा पर्ने पोखरा वडा नं. २२ कुभिन्डेमा ल्यान्डफिल साइट बनाउने आन्तरिक तयारी थालेको थियो । तर, निर्वाचनको बेला मतदाता प्रभावित पार्न सम्झौता गरिएको भन्दै स्थानीय जनस्तरबाट चर्को विरोध भएपछि महानगर मेयर धनराज आचार्यले भिडियो विज्ञप्तिबाटै महानगरले कुनै पनि निर्णय नगरेको प्रष्टिकरण दिनुप¥यो ।

यसबीचमा मेयर आचार्य फोहोर व्यवस्थापन पद्धति हेर्न भन्दै धरानदेखि दिल्ली, हैदरावादसम्म भ्रमण गरिसकेका छन् । तर, फोहोर व्यवस्थापनबारे महानगरले ठोस निर्णय भने दिन सकेको छैन ।
पोखरा महानगर सरसफाइ महाशाखाका अनुसार महानगरभित्र दैनिक २ सय टनभन्दा बढी फोहोर संकलन हुँदै आएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) योजनाअनुसार ९ वटा निजी कम्पनीले महानगरले फोहोर संकलन गर्दै आइरहेका छन् ।

मेयर आचार्य भन्छन्ः नयाँ ल्यान्डफिलबारे केही दिनमा जानकारी दिन्छौं

पोखरा महानगरका मेयर धनराज आचार्यले नयाँ ल्यान्डफिल साइटबारे आफूहरु अन्तिम चरणमा पुगेको र केही दिनमै त्यसबारे जानकारी दिने बताएका छन् । उनले नयाँ विकल्प नभेटिँदासम्म अहिले फालिरहेकै ठाउँमा फोहोर फाल्ने प्रष्टिकरण दिए ।

‘अहिले भइरहेको ल्यान्डफिलमा छेउबाट पुर्दै आउने र अन्तिम प्वाइन्ट नआउँदासम्म फोहोर त्यहीं व्यवस्थापन गर्ने, अन्तिम प्वाइन्ट आउँदासम्म विकल्प खोजिसक्छौं,’ अनलाइनखबरसँग मेयर आचार्यले भने, ‘अहिले आन्तरिक छलफल भइरहेको छ । केही दिनमा जानकारी दिन्छौं ।’ मेयर आचार्यले निर्वाचनले गर्दा केही ढिलाइ भएको तर, आन्तरिक छलफल भने निरन्तर चलिरहेको सुनाए । ‘कास्कीबाट निर्वाचित सबै माननीयज्यूहरुलाई बोलाएर पनि छलफल गर्छौं । त्यसबाट केही टुंगो लाग्ला,’ उनले भने ।

विमानस्थलको पूर्वपट्टि कटान भइरहेको रिट्ठेपानी डाँडाको माटोले हालको ल्यान्डफिल साइट पुर्न सुरु गर्ने विमानस्थल आयोजनासँग सहमति पनि भइसकेको मेयर आचार्यले जानकारी दिए । ‘जनवरी १ गतेलाई नै लक्षित गरेर प्रोसेस गर्दैछौं । त्यसलाई असर पर्दैन,’ उनले भने, ‘अहिले हामी यसैमा लागिराखेका छौं ।’

प्रकाशित मिति २०७९ मंसिर २० गते मंगलबार ०३:१९
हजुरको प्रतिक्रिया