पोखरा
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशमा डेढ प्रतिशत थ्रेसहोल्ड कटाएको छ । तर, उसले प्रदेश सभामा समानुपातिकबाट सांसद पाउन सकेन । त्योसहित कलम चुनाव चिन्ह भएको यो पार्टीले प्रत्यक्षमा गण्डकी प्रदेशबाट प्रतिनिधिसभा र प्रदेश सभामा एउटा पनि सिट जितेको छैन । प्रदेशमा प्रतिनिधिसभाका १८ र प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र छन् ।
पहिलोपटक आम निर्वाचनमा सहभागी भएको नेकपा एसको जनाधार गण्डकीमा निकै कमजोर देखिएको छ । सात प्रदेशमध्ये गण्डकी सबैभन्दा कम समानुपातिक मत ल्याउने प्रदेश हो । प्रतिनिधिसभाको समानुपातिकमा उक्त पार्टीले ९ हजार ५७३ मत पाएको छ । यो मत चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पाएकोभन्दा पनि कम हो । जनमोर्चाले समानुपातिकमा १० हजार १९९ मत पाएको छ ।
गण्डकी प्रदेश सभाको समानुपातिकमा त मतदातालाई एकीकृत समाजवादीभन्दा संगठन नै नभएको हाम्रो नेपाली पार्टी (लौरो अभियान)लाई रोजेका छन् । प्रदेश सभामा एसले १५ हजार ७६ मत पाएको छ । लौरो अभियानले १८ हजार ७३७ मत पाएको छ ।
यो पार्टीले मनाङको प्रदेश सभा समानुपातिकमा जम्मा १२ मत पाएको छ । त्यहीँ प्रतिनिधिसभामा १७ मत ल्याएको छ । सबैभन्दा बढी कास्कीमा प्रदेश सभामा ४ हजार ११९ मत आएको छ भने प्रतिनिधिसभामा २ हजार ८७७ मत प्राप्त गरेको छ ।

कम मत किन ?
गण्डकीमा समाजवादीको यस्तो हविगत हुनुको मुख्य कारण गठबन्धनबाट न्यून सिट पाउनु र चुनाव जित्ने खालको जनाधार नहुनु हो ।
प्रदेश सभामा पाएको मत प्रतिनिधिसभामा समाजवादीले पाएको देखिँदैन । प्रदेश सभामा आएको समानुपातिक मत प्रतिनिधिसभामा भने अन्य दललाई ‘ट्रान्सफर’ भएको छ । अधिकांश मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको समाजवादीका नेताहरुको विश्लेषण छ ।
एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं गण्डकी सचिव प्रतापलाल श्रेष्ठ आफूहरुकै कमजोरी भएको बताउँछन् । ‘नतिजा राम्रो रहेन । यस्तो अपेक्षा पनि गरेका छैनौँ । मसिनो गरी समीक्षा गर्दै छौँ,’ उनी भन्छन्, ‘हाम्रो पार्टीकै कमजोरी भएजस्तो लाग्छ । हामी जसरी मतदातामाझ जानुपर्थ्यो । त्यो जिल्ला–जिल्लाबाट हुन सकेन ।’
प्रत्यक्षमा उम्मेदवार नहुँदा र समानुपातिकमा मत माग्न सक्रिय भएर कार्यकर्ता हिँडेनन् । त्यसमाथि बलियो संगठन नहुँदा झनै समस्या भएको छ । यो पार्टीले प्रतिनिधिसभामा कास्की २ र प्रदेश सभामा नवलपुर २ को कमा मात्रै गठबन्धनबाट सिट पाएको थियो ।
मनाङ २ बाट प्रदेश सभामा निर्विरोध निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) गत सोमबार एकीकृत समाजवादी प्रवेश गरेका छन् । उनको प्रवेशले प्रदेशमा समाजवादीको उपस्थिति रहने छ जसले उक्त पार्टीको साख जोगिएको छ । तर, यो साख पार्टीगत बल र ब्यालेटमा कलममा मत आएर जोगिएको होइन ।
प्रदेश सभामा एक जना पनि सांसद नजितेपछि पहिलेको जस्तै हविगत समाजवादीको हुनेवाला थियो । तर, स्वतन्त्र निर्वाचित मनाङेले समाजवादी रोजेसँगै योपटक संसदमा यो पार्टीको प्रतिनिधित्व हुँदैछ । संघको गठबन्धन निरन्तर रहेको अवस्थामा यहाँ गठबन्धनको सरकार बन्छ । त्यसो हुँदा मनाङे समाजवादीबाट फेरि सरकारमा सहभागी हुने भएका छन् । उनी अहिले प्रदेशमा युवा तथा खेलकुद मन्त्री छन् ।
प्रकाशित मिति २०७९ मंसिर २३ गते शुक्रबार १२:४०




