वार्ता र सवांदबाट माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावानी
पोखरा
पोखरा औद्यगिक क्षेत्रमा सञ्चालित हरेक उद्योगको मुल गेटमा कालो झण्डा फर्फराइरहेको छ । गेटमा विरोधपत्र टाँसिएको छ । जहाँ लेखिएको छ, ‘अन्यायपूर्ण विभेदकारी भाडा वृद्धि विरुद्धमा आन्दोलन ।’ जसमा ३ बुँदे मागसमेत छन् । असमान अन्यायपूर्ण तथा विभेदकारी भाडा वृद्धि खारेजी, सबै उद्योगमा एकल भाडादर कायम, वार्ता र सहमतीमा उद्योगमैत्री भाडादर निर्धारण गर्नुपर्ने बुँदा मागमा उल्लेख छ ।
‘समयमा नै वार्ता र संवादबाट हाम्रा मागहरुलाई सम्बोधन नगरिएमा थप सशक्त रुपमा आन्दोलन जारी रहनेछ’, विरोधपत्रको अन्तिममा लेखिएको छ । गएको आइतबारदेखि यसरी उद्योगको गेटमा कालो झण्डा र विरोधपत्र टाँसेर पोखरा औद्योगिक क्षेत्रका उद्योगीहरु आन्दोलनमा होमिएका हुन् । औद्योगिक व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको जग्गा वहालको भाडा वृद्धि गरेपछि आन्दोलित भएको पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार ७०० प्रतिशत भाडा वृद्धि भएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिले २०७५ साउन १ गते भाडादर वृद्धि गरेको थियो । त्यतिबेला पोखरा औद्योगिक क्षेत्रमा ६ हजार ३०० रुपैयाँ प्रतिरोपनी जग्गाको भाडाद बढाएर ५४ हजार रुपैैयाँ लागु गर्ने निर्णय भएको थियो । उद्योगिको विरोधपछि वृद्धि भएको भाडादर लागु भएन् ।
प्रत्येक दुई बर्षमा १५ प्रतिशत वृद्धि हुने शर्त बमोजिम उद्योग सञ्चाहरुले प्रति रोपनीको ८ हजार ३२८ रुपैयाँ भाडा तिरिरहेका थिए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ साउन १ को निर्णय कार्यन्वयन गर्ने भन्दै गत साउन १ गते पहिला तिरिसकेको समयको पनि बाँकी भाडा भनेर विल पठाएपछि उद्योगि आतंकित भएको श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार उद्योगिलाई २ लाखदेखि ६० लाख रुपैयाँ तिर्नुपर्ने भन्दै विल पठाइएको छ । भाडा वृद्धिको सम्बन्धममा अध्ययन गर्न बनेको समितिले प्रतिवेदन नबुझाउदै पुरानो निर्णय कार्यन्वयन गराउन खोज्नु गलत भएको उनको टिप्पणी छ ।
विषम परिस्थितीमा उद्योगि व्यवसायीलाई संरक्षण गर्नुपर्नेमा हतोत्साहित बनाइएको उनले आपत्ति जनाए । ‘उद्योगिलाई मात्रै नभई देशकै अर्थतन्त्रलाई धरासायी बनाउने गलत मनसायका साथ विभेदकारी, अन्यायपूर्ण जमिन भाडामा वृद्धि कुनैपनि रुपमा लागू हुने अवस्था देखिदैन्’, बुधबार पत्रकार सम्मलेनमा उनले भने ।
एकैपटक ७०० प्रतिशत भाडा वृद्धि गराएर उद्योगीहरुलाई हतोत्साहीत बनाईएको उनको जिकिर छ । पोखरा औद्योगिक वातावरणका लागि अनकुल नभएपनि अन्यत्रको तुलनामा भाडामा महंगो भएको उनले बताए । ‘यहाँ मंहगो श्रम छ । मंहगो कच्चा पदार्थ छ । जबकी हेटौडा बुटवल भन्दा औद्योगिक वातावरणका लागि पोखरा सुगम ठाउँ होइन’, उनले भने ।
उद्योगी गोकर्ण कार्कीले भाडा वृद्धि पश्चगामी निर्णय भएको बताए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले भाडा वृद्धि वैज्ञानिक नभएको टिप्पणी गरे । उनले भने, ‘उहाँहरुले पठाएको विल अनुसार नै असार मसान्तसम्मको विल क्लियर गरेका छौं । त्यही अनुसार खर्च लेखेका छौं । खर्च अनुुसार उत्पादनमा लागत जोडेर विक्रि हुने माल पनि बेचिसक्यौं । तर, अहिले साउनमा आएर त्यो ७५ सालको निर्णय अनुसारको भाडा बुझाउन आउनुहोला भनेर थप भाडा भन्दै लाखौं रुपैयाँको विल आएपछि झस्किने अवस्था आयो ।’ बैंकिङ तरलताले मर्कामा परेको बेला व्यावसायमैत्री वातावरण बनाउनुपर्ने उनको माग छ ।
उद्योग परिसंघका गण्डकीका अध्यक्ष विनोद शर्माले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड नाफामुलक संस्थामा विमुख हुन खोजेको आरोप लगाए । ‘पहिले सुविधा दिएर ल्याउने काम भयो । आकर्षण देखेर बाहिर भएका उद्योग औद्योगिक क्षेत्रमा आए । भरिभराउ भएपछि नाफामुलक संस्थामा विमुख भयो’, उनको आरोप छ । उद्योगिलाई आतंकित बनाउने काम बन्द हुनुपर्ने नभएर सशक्त आन्दोलनमा उत्रने उनको चेतावनी छ ।
२०३१ सालमा ५०१ रोपनी क्षेत्रफलमा स्थापना गरिएको पोखरा औद्योगिक क्षेत्रमा ७६ उद्योग छन् । ३९७ रोपनी क्षेत्रफल उद्योग सञ्चालनार्थ पोखरा औद्यगिक क्षेत्र व्यवस्थापन कार्यालयले भाडामा लगाएको छ । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७९ को नियम ३ को उपनियम १ मा उत्पादनमुलक उद्योगको हरेक ५ बर्षमा भाडादर पुनरावलोकन गर्ने व्यवस्था छ । तर, एकलौटी रुपमा उद्योग सञ्चालन गरिएको जग्गाको भाडा वृद्धि हुनु गलत भएको भन्दै देशैभरका औद्योगिक क्षेत्रका उद्योगीहरु विरोधमा उत्रिएका छन् ।
प्रकाशित मिति २०७९ मंसिर २८ गते बुधबार ०२:४१




