२०८३ असोज २३ गते शुक्रबार

दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रश्ताव

दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रश्ताव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २३ गते शुक्रबार १२:३१

यो व्यवस्थाले बजारमा सहजै कर्जा प्राप्त गर्न नसक्ने तर सामाजिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण ऊर्जा आयोजनालाई वित्तीय पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ । विशेषगरी ग्रामिण तथा दुर्गम क्षेत्रमा ऊर्जा प्रविधिको विस्तार र ऊर्जा दक्षतासम्बन्धी उद्यम प्रवद्र्धन गर्न सहुलियतपूर्ण कर्जालाई माध्यम बनाउने प्रश्ताव गरिएको छ ।

पोखरा ।

दुर्गम गाउँ, विपद् प्रभावित क्षेत्र र विपन्न समुदायसम्म नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्न सरकारले दिगो ऊर्जा कोष स्थापना गर्ने र प्राथमिकताका आधारमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था प्रश्ताव गरेको छ ।

‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ ले नवीकरणीय ऊर्जाको विकास, ऊर्जा वचत र परम्परागत ऊर्जामाथिको निर्भरता घटाउने उद्देश्यसहित वित्तीय स्रोत परिचालन तथा सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था अघि सारेको हो । विधेयकको दफा ३० मा दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ ।

उक्त कोषमा नेपाल सरकार, व्यक्ति तथा सङ्घसंस्थाबाट प्राप्त रकम, विदेशी सरकार तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको अनुदान, कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी कार्यक्रमबाट प्राप्त रकम र विभिन्न सेवा तथा अनुमतिपत्रबापत प्राप्त शुल्क जम्मा गरिनेछ ।

ऊर्जा वचतको तोकिएको लक्ष्य पूरा गर्न नसक्ने प्रतिष्ठानबाट प्राप्त हुने क्षतिपूर्तिसमेत कोषमा जम्मा हुनेछ । यसअघि सञ्चालनमा रहेको केन्द्रीय नवीकरणीय ऊर्जा कोषको रकम पनि नयाँ कोषमा समाहित हुने व्यवस्था प्रश्ताव गरिएको छ ।
विदेशी सरकार वा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट रकम लिन भने अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य हुनेछ ।

कोषमा जम्मा भएको रकम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न वित्तीय आधारका रूपमा उपयोग गर्ने परिकल्पना विधेयकले गरेको छ । कोषको रकम ‘क’ वर्गको वाणिज्य बैंकमा जम्मा गरिनेछ ।

केन्द्रको नामबाट हुने खर्च यही कोषबाट व्यहोरिनेछ भने यसको आन्तरिक तथा अन्तिम लेखापरीक्षण क्रमशः कोष तथा लेखा नियन्त्रकको कार्यालय र महालेखा परीक्षकबाट हुनेछ ।

विधेयकको दफा २५ ले व्यावसायिक कर्जाका आधारमा सञ्चालन गर्न कठिन भएपनि आर्थिक तथा सामाजिक दृष्टिले आवश्यक आयोजनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरेको छ ।

यस्तो कर्जा भौगोलिक रूपमा विकट तथा ग्रामीण क्षेत्र, आर्थिक र सामाजिक रूपमा पछाडि परेका तथा विपन्न समुदायको बसोवास भएका क्षेत्र, विपद् प्रभावित क्षेत्र, परम्परागत ऊर्जाको अधिक उपयोग भइरहेका क्षेत्र, ऊर्जा बचत तथा दक्षताको सम्भावना बढी भएका क्षेत्र र मौलिक तथा परम्परागत सीप एवं प्रविधिमा आधारित उद्यमलाई प्राथमिकतामा राखेर प्रवाह गरिनेछ ।

यो व्यवस्थाले बजारमा सहजै कर्जा प्राप्त गर्न नसक्ने तर सामाजिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण ऊर्जा आयोजनालाई वित्तीय पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ । विशेषगरी ग्रामिण तथा दुर्गम क्षेत्रमा ऊर्जा प्रविधिको विस्तार र ऊर्जा दक्षतासम्बन्धी उद्यम प्रवद्र्धन गर्न सहुलियतपूर्ण कर्जालाई माध्यम बनाउने प्रश्ताव गरिएको छ ।

बैंकमार्फत कर्जा, ब्याजदर सञ्चालक समितिले तोक्ने

प्रश्तावित व्यवस्थाअनुसार केन्द्रले आफैँले प्रत्यक्ष कर्जा प्रवाह गर्ने छैन । प्रचलित कानूनबमोजिम स्थापित बैंक तथा वित्तीय संस्थामार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ । कर्जाको ब्याजदर सञ्चालक समितिले निर्धारण गर्नेछ भने कर्जा लगानी, साँवा र ब्याजको विवरण केन्द्रले अद्यावधिक राख्नुपर्नेछ ।

कर्जा प्रवाहका थप प्रक्रिया तथा कार्यविधि पनि सञ्चालक समितिले निर्धारण गर्ने व्यवस्था विधेयकमा छ । दिगो ऊर्जा कोष र सहुलियतपूर्ण कर्जासम्बन्धी प्रश्तावित व्यवस्थाले नवीकरणीय ऊर्जामा लगानीका लागि स्रोत जुटाउने, ऊर्जा

बचतलाई प्रोत्साहन गर्ने र वित्तीय पहुँचबाट टाढा रहेका समुदाय तथा उद्यमसम्म ऊर्जा प्रविधि विस्तार गर्ने नीतिगत आधार तयार गर्ने लक्ष्य राखेको छ ।

यद्यपि, यी व्यवस्थाहरू विधेयकमा प्रस्तावित प्रावधान हुन; तिनको वास्तविक कार्यान्वयन संसद्बाट विधेयक पास भएर राष्ट्रपतिले सदर गरेपछि बल्ल लागू हुनेछ ।

प्रकाशित मिति २०८३ असोज २३ गते शुक्रबार १२:३१
हजुरको प्रतिक्रिया