२०८३ साउन २१ गते बिहीबार

अमरसिंह चौरमा पोखरा महोत्सवको तयारी

अमरसिंह चौरमा पोखरा महोत्सवको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १ गते शुक्रबार १०:५५

११ औं पोखरा महोत्सवबाट सेती नदीलाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा पहल गरिने क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए ।

पोखरा

 

युनाइटेड क्लब पोखराले गर्दै आएको पोखरा महोत्सवको तयारी थालेको छ । पुस २७ गतेदेखि माघ ९ गतेसम्म आयोजना हुने महोत्सवको तयारी क्लबले थालेको हो । यो पोखरा महोत्सवको ११ औं संस्करण हो ।

 

क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमीसँगै सेती नदी संरक्षणमा काम गर्दै आएको छ । ११ औं पोखरा महोत्सवबाट सेती नदीलाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा पहल गरिने क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । यो वर्ष महोत्सवबाट बचत भएको रकम मध्ये केही रकम सेती नदीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माणमा खर्च गरिने श्रेष्ठले बताए ।

 

महोत्सवको सल्लाहकार तथा महोत्सव उपसमिति संयोजकहरुको बैठकले सेती नदीलाई पर्यटकीय गन्तव्य बनाउन क्लबले पहल थाल्ने निर्णय गरेको हो । स्थापना कालदेखि नै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहल थालेको क्लबले दशाैं पोखरा महोत्सवसम्म आइपुग्दा ५८ लाख ८५ हजार प्रदान गरेर चिडियाखाना निर्माणको सम्पूर्ण जिम्मेवारी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

 

पोखरा ३१ मा रहेको चिडियाखानालाई राष्ट्रिय गौरवको योजना अनुरुप अगाडि बढाउन गण्डकी प्रदेश सरकार मातहतको जिल्ला डिभिजन वन कार्यालय कास्कीले जिम्मा लिइसकेको छ । पोखरा महानगरपालिका वडा नम्बर २७ अर्चलेमा रहेको क्लबको जग्गामा भौतिक संरचना निर्माणका लागि समेत रकम छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । यसबाहेक क्लबले गर्दै आइरहेको सामाजिक क्षेत्रका कामहरु शिक्षा, स्वास्थ्य, खेलकुदमा समेत रकम बाँडफाँट गरिने छ ।

 

यो पटक पोखरा महोत्सवमा ४० देखि ५० वटा स्टल निशुल्क रुपमा प्रदान गरिने भएको छ । गैर नाफामूलक संस्थाहरु, पर्यटन सम्बन्धी स्टल, होम स्टेको प्रचार प्रसारका स्टल, सचेतनामूलक स्टलहरु निशुल्क उपलब्ध गराइने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा २ सय ५८ स्टल रहने छन् । त्यसैगरी महोत्सवमा साधारणका लागि ८० रुपैंयाँ र विद्यार्थीका लागी ६० रुपैंयाँ टिकट दर कायम गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, अपांग, सुरक्षाकर्मी, पत्रकार र विदेशी पर्यटकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइने सुनारले जानकारी दिए । महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी गायक गायिकासँगै ब्यान्डहरु, नेपाली संस्कृति झल्कने झाँकी तथा नृत्यहरुको समेतका प्रस्तुति रहने छन ।

 

प्रकाशित मिति २०७९ पुस १ गते शुक्रबार १०:५५
हजुरको प्रतिक्रिया