२०८३ असोज २३ गते शुक्रबार

मुख्य समाचार

प्राधिकरण भन्छः पोखरा विमानस्थल उडान योग्य, ल्याण्डफिलको टुंगो छैन

प्राधिकरण भन्छः पोखरा विमानस्थल उडान योग्य, ल्याण्डफिलको टुंगो छैन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २ गते शनिबार ०६:४४

क्यानले विमानस्थल उडान योग्य भने पनि पोखरा महानगरले भने अझै ल्याण्डफिल साइटको विकल्प दिन सकेको छैन । मेयर धनराज आचार्यले विकल्पमा टिकट काटेर हेर्नुपर्ने खालको ल्याण्डफिल बनाउने बताएका छन् । तर कहाँ र कहिलेसम्म तयार हुन्छ भन्ने अझै यकिन छैन ।

ल्याण्डफिल कहिले तयार हुन्छ ? नजर पोखराका मेयरतिर

पाेखरा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान योग्य भएको छ। विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो। अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिए। उनले भने, ‘क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन आइसकेको छ, प्रतिवेदनमा सबै कुरा राम्रो छ। प्रतिवेदनको ‘इन्फरमेसन’ छिट्टै प्रकाशन गरिनेछ।’

प्रवक्ता निरौलाका अनुसार यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’ (एआइटी) मा प्रकाशन गरिनेछ। प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिने र पोखरा गन्तव्यमा उडान गर्नसक्ने जनाइएको छ।

एरोथाई कम्पनीको जहाजले गत मंसिर ५ देखि ११ सम्म सफलतापूर्वक यान्त्रिक परीक्षण उडान गरेको थियो। यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे(नगरेको परीक्षणका लागि गरिन्छ। यान्त्रिक उडानमार्फत् पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ।

यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिने अन्तर्राष्ट्रिय अभ्यास छ। क्यानले यही पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुगेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्पूर्ण तयारी भइरहेको जानकारी दिए। हाल विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ।

क्यानले विमानस्थल उडान योग्य भने पनि पोखरा महानगरले भने अझै ल्याण्डफिल साइटको विकल्प दिन सकेको छैन । पोखरा महानगरका मेयर धनराज आचार्यले अहिले भइरहेको ल्याण्डफिलको विकल्पमा टिकट काटेर हेर्नुपर्ने खालको ल्याण्डफिल बनाउने बताएका छन् । कहाँ र कहिलेसम्म तयार हुन्छ भन्ने अझै यकिन छैन । विमानस्थल सञ्चालन गर्नका लागि नजिकै रहेको ल्याण्ड फिल्ड नसारी नहुने पक्का भइसकेको छ । कहिलेसम्म ल्याण्डफिल तयार हुन्छ ? सबैको नजर पोखराका मेयर धनराजतिरै छ ।

प्रकाशित मिति २०७९ पुस २ गते शनिबार ०६:४४
हजुरको प्रतिक्रिया