पोखरा । गण्डकी प्रदेश सभाका नवनिर्वाचित सदस्यको शपथ पुष १४ गते बिहीबार गर्ने तयारी भएको छ ।
पुष १३ गते ज्येष्ठ सदस्यलाई र भोलिपल्ट अन्य सांसदलाई शपथ गराउने तयारी भइरहेको प्रदेश सभा सचिवालय सचिव हरिराज पोख्रेलले जानकारी दिए ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुष १३ गते पर्वत २ बाट निर्वाचित एमालेका मित्रलाल बस्याललाई शपथ गराउने छन् । ज्येष्ठ सदस्य बस्यालले त्यसपछि अरु सांसदलाई पुष १४ गते शपथ गराउने सचिव पोख्रेलले बताए ।
शपथ लिन आउँदा नागरिकता प्रमाणपत्रको फोटोकपी, दुई प्रति फोटो र निर्वाचन आयोगले दिएको प्रमाणपत्र ल्याउनुपर्ने छ ।
गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्ष र २४ समानुपातिकबाट गरेर ६० जना निर्वाचित भएका छन् ।
प्रदेश प्रमुखले प्रदेश सभा अधिवेशन भने आह्वान् गरिसकेका छैनन् । प्रदेश सभा अधिवेशन आह्वान् भएपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने छ ।
प्रकाशित मिति २०७९ पुस ६ गते बुधबार ०५:५४