पोखरा
दिन ढल्दै थियो । डाँडामाथि पुगेको घाम फेवातालमा प्रतिविम्बित हुँदा पानीले रंग फेरे झैं देखिन्थ्यो । फेवातालको किनार बाराहीघाटको माहोल पनि फेरिदैँ थियो । १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलको उद्घाटनपछि पहिलो सेसन ‘घरबाट विद्यालयसम्म’ मा दिनकर नेपालसँग शिक्षाविद् डा. मीनाक्षी दाहालको प्रश्नोत्तर सुनेका दर्शक गोपाल योञ्जनका सिर्जनामा झुम्नलाई प्रतिक्षारत थिए ।
योञ्जनले सिर्जना गरेका गीतका धुनबाट संगीतिक माहोलको सुरुवात भयो । गोपाल योञ्जनको स्मृतिमा समर्पित धुनलगत्तै सुनिए यूवापुस्तामाझ चल्तीका कवि नवराज पराजुली । १९ बर्षको उमेरमा योेञ्जनले लेखेको ‘मेरो गीत मेरै प्रतिविम्ब होइन’ गीतलाई पराजुलीले कविता शैलीमा सुनाए ।
त्यसपछि गोपाल योञ्जनका गीतहरुको संग्रह ‘गोपालय’ विमोचन गरियो । बाँसुरी वादक सुदिप गायक, बाल गायक आकाश गौतम र नृत्यकार रञ्जु वालकोटीबाट ‘गोपालय’ विमोचन गरिएको हो । नयाँ पुस्तामा सिर्जना हस्तानतरण गर्नलाई अनुजबाट विमोचन गरिएको जनाईएको छ । गोपालयमा योञ्जनका २४१ गीत समावेश गरिएको छ ।
फाइन प्रिन्टले प्रकाशन गरेको ‘गोपालय’ विमोचनपछि कवि विप्लव प्रतिक र गोपाल योञ्जनकी पत्नी रिन्छे योञ्जन केही बेर गफिए । विप्लवले रिन्छेलाई प्रश्न तेर्साए, ‘तपाईलाई गोपाल दाईका कृतिहरु संकलन गर्ने सोच कसरी आयो ? मन्त्रालयले वा कुनै प्रतिष्ठानले गर्नुपर्ने थियो ।’
रिन्छेले वेलिबिस्तार सुनाइन् , ‘गोपालका सांगीतिक कामहरुलार्ई मैले उ वित्नुभन्दा पहिले संकलन गर्न सुरु ग¥याथे । किनभने गोपाल एउटा सच्चा कलाकार । आफ्नो कलामा अति नै सचेत । स्रष्टाका हिसाबले लेख्दा, संगीत गर्दा, गाउँदा अति नै सचेत । तर कहिलेकाँही प्रेरित भएपछि जे छेउमा कागजको टुक्रा छ त्यसमा लेख्ने गर्थ्यो । लेखेपछि एक कुनामा राख्ने फाल्ने । त्यहाँदेखि मैले संकलन गर्न थाले ।’ गोपाल योञ्जनका सिर्जनाका टुक्रा टुक्रा कागजलाई संकलन गरेर ‘गोपालय’ प्रकाशन गरेको उनको भनाई छ ।
योञ्जनको मृत्युपछि उनले गरेका संगीत खोज्दा कसैको सहयोग नपाएपछि अरुको मुख ताक्न छाडेको रिन्छेले बताइन् । नेपालीको सबैभन्दा कमजोर पक्ष डकुमेन्टेसन रहेको उनले औल्यांइन् ।
गोपाल योञ्जनको २५ औं स्मृति दिवसको बर्ष पारेर नेपाल लिटरेचर फेस्टिभलले ‘गोपालय’ को तारतम्य मिलाएको हो । २०५४ जेठमा कलेजोमा देखिएको समस्याका कारण योञ्जनको देहावसान भयो । ५४ वर्षको उमेरमै अस्ताएका उनका सृजना भने अजरअमर छन् ।
साँझ घर्कन थालेपछि सांगीतिक माहोल जम्न थाल्यो । वानिका प्रधानले ‘वाया हातमा राखे’ गाउदै गोपाल योञ्जनलाई सम्झिइन् । वानिका र कर्मा ग्याल्जोङले ‘यति चोखो यति मिठो दिउँला तिमीलाई माया’, ‘हिमालसरी पग्लिरहेछु’, ‘तिम्रो जस्तो मुुटु मेरो पनि’, ‘थिएन कोही मेरो’ सुनाए । वानिका र उज्जवल सागरले ‘मेरो पाउमा कोही पाउजु बाँध’ सुनाए । करिब दुई घन्टामा गोपालयको बिट मारियो ।
प्रकाशित मिति २०७९ पुस ७ गते बिहीबार ०८:५६




