आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्न सकेन
पोखरा
निर्वाचनको बेलामा मात्र नभएर अरु बेलामा पनि नियमित रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएको छन् । डेमोक्रेसी रिसोर्स सेन्टरले गत मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधि निर्वाचन २०७९ को पर्यवेक्षण प्रतिवेदनलाई सार्वजनिक गरेको कार्यक्रममा उपस्थिति वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
प्रतिवेदनले निकालेका निष्कर्षहरु मध्येको एक मतदान शिक्षा नियमित हुन नसक्दा मतदान शिक्षाबारे अझै अज्ञानता रहेको बताएको छ । यस्तै निर्वाचन आयोगले आचारसंहिता बनाएपनि त्यसको कारबाहीको पक्ष फितलो हुँदा आचारसंहिता उल्लंघन घटना उस्तै रहेको प्रतिवेदनमा उल्लेख छ । सेन्टरले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न ४ सय बढी मतदान केन्द्रको पर्यवेक्षण गरेको थियो ।
अनुसन्धानकर्ता राजेश पराजुलीले निर्वाचनका क्रममा दलहरुको घोषणापत्रमा अझै पनि अमुर्त हुने किसिमका शब्दहरुको प्रयोग गरिएको बताए । उनले भने, ‘विकास, सुशासन, समृद्धि यति वर्षमा गर्छौ भन्ने जस्तो अमुर्त शब्दको प्रयोग भएको छ । जसले यसको ५ वर्षपछि पुरा भयो भएन भन्ने कसरी मुल्याङ्कन गर्ने ?’ । अर्को अनुसन्धानकर्ता भवसागर घिमिरे पर्यवेक्षण क्रममा अझै पनि मतदानस्थल अपाङ्गमैत्री हुन नसकेको बताए । उनले महिलाका लागि छट्टुै शौचालय, स्तनपान कक्षको व्यवस्था हुन नसकेको बताए ।
गण्डकी प्रदेशका निवर्तमा सांसद प्रभा कोइरालाले आफूले कुनै समय एक रुपैयाँ खर्च नगरी निर्वाचन लडेकोमा अहिलेको अवस्थामा खर्चिलो चुनाव बनेको जिकिर गरिन् । उनले यो निर्वाचन कसका लागि भन्ने गम्भीर प्रश्न उठेको पनि बताइन् । यस्तै दलिम महिला संघ कास्कीका अध्यक्ष सुमित्रा गायकले समानुपातिकका नाममा दल तथा नेताले आफ्ना मान्छे राख्ने मात्र गरेकोमा दलित, अल्पसंख्यक ओझेलमा परेको बताइन् । महिला मानवअधिकार रक्षक संजाल गण्डकीका संयोगजक इन्दुकुमारी शर्माले केही नियतवश मतपत्र बदर भएतापनि अधिकांश मतदान शिक्षाको कमीले भएकले मतदान शिक्षा आवश्यक रहेको बताइन् ।
महिला स्वास्थ्य स्वयम्सेविका तथा मतदाता शिक्षाकर्ता सन्ध्या सिग्देलले मतदाता शिक्षाका लागि बाहिरबाट भन्दा सोही ठाउँमा रहेका आमा समूह, टोल विकास संस्थाका व्यक्तिहरुबाट नियमित कक्षा सञ्चालन गर्नुपर्ने बताइन् । उनले निर्वाचन आयोगबाट मतदाता शिक्षा दिनेहरुको कदर नगरेकोे बताउँदै यसमा ध्यान दिनुपर्ने बताइन् ।
प्रतिवेदनले मतदाता शिक्षा पत्र नेपाली भाषामा मात्र नभएर स्थानीय भाषामा हुनुपर्ने आवश्यकता औल्यांएको थियो । सेन्टरकी विभु लुुइटेलले १ सय १० जना छोटो समय र ८ जना लामो समयका पर्यवेक्षक निर्वाचनमा खट्टिएको जानकारी दिइन् ।
प्रकाशित मिति २०७९ पुस १० गते आइतबार १२:१६




