२०८३ असोज २३ गते शुक्रबार

मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेसका सुरेन्द्र भन्छन्ः म सुरक्षित पोखरा उत्रिएँ तर राजनीति क्र्यास भयो

मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेसका सुरेन्द्र भन्छन्ः म सुरक्षित पोखरा उत्रिएँ तर राजनीति क्र्यास भयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ११ गते सोमबार ०१:०४

राजनीतिमा विचार र सिद्धान्त स्खलित हुँदै गएको एउटा ज्वलन्ट उदाहरण आइतबारको राजनीतिक घटनाक्रम भएको पाण्डेले बताए ।

पोखरा

५ दलीय गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ मा उठ्ने भएपछि कांग्रेस नेता सुरेन्द्र पाण्डे प्रदेशमा झरे । चितवनबाट सुरक्षित क्षेत्र हेर्दै गोरखा पुगेका प्रचण्डले आफू देशको प्रधानमन्त्री र सुरेन्द्र गण्डकीको मुख्यमन्त्री बन्ने बताएका थिए ।

देशको प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री दुबै गोरखाले पाउने प्रचण्डको दाबीमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समेत जोड दिएका थिए । तर, संसदीय राजनीतिको खेललाई आफ्नो पक्षमा पार्दै आइतबार एमालेलगायतको समर्थना प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।

गण्डकीको मुख्यमन्त्री बन्ने सपनासहित संसदीय दलको नेता बन्न कसरत गरिरहेका पाण्डे काठमाडौंबाट आइतबार जहाजमा पोखरा फर्किँदै थिए । उनी काठमाडौंबाट जहाज चढ्दा र पोखरा झर्दासम्म नेपालको राजनीतिले अर्को मोड लिइसकेको थियो । ‘म काठमाडौंबाट जहाजमा पोखरा फर्किँदै थिएँ । जहाज सुरक्षित रुपमा अवतरण ग¥यो तर नेपाली राजनीति क्र्यास भयो,’ पाण्डेले भने ।

नयाँ राजनीतिक समीकरण बनेसँगै अब गण्डकीमा पनि एमाले, माओवादी र राप्रपासहितको सरकार बन्ने देखिएको छ । २७ सिट जितेको कांग्रेस अब एकल प्रतिपक्षी दल बन्ने भएको छ । ‘जसरी राजनीतिक रुप बदलिएको छ, अब गण्डकीमा पनि एमाले नेतृत्वकै सरकार बन्छ होला,’ पाण्डेले भने, ‘हामी प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं ।’

राजनीतिक घटनाक्रम बदलिनेमा आफूले २/४ दिनअघि नै संकेत पाएकाले आफ्ना लागि अनपेक्षित नरहेको पाण्डेले बताए ।

‘जहाँबाट प्रचण्ड चुनाव उठेका थिए, त्यही क्षेत्रको प्रदेशमा म चुनाव लडेको थिएँ । प्रचण्डसँग र उनको सचिवालयमा निरन्तर कुराकानी भइरहन्थ्यो । पछिल्लो समय प्रचण्ड र उनी निकटका नेताहरुसँगको गफगाफमा त्यो संकेत दिएका थिए,’ पाण्डेले सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘समग्र पार्टीका नेता र नेतृत्वको अनुशासन हिनताले यो परिणाम आयो ।’

राजनीतिमा विचार र सिद्धान्त स्खलित हुँदै गएको एउटा ज्वलन्त उदाहरण आइतबारको राजनीतिक घटनाक्रम भएको पाण्डेले बताए ।

‘यी यस्ता घटना फेरि पनि पटक पटक दोहोरिन सक्ने परिस्थिति निर्माण भइरहेको छ,’ पाण्डेले भने, ‘राजनीतिमा ट्याकमा ल्याउनतिर भन्दा सत्ता र स्वार्थका लागि जे पनि गर्ने गरेको देखिन्छ ।’

संविधान च्यात्ने, संविधानै नमान्ने र हामीले ल्याएका हौं भन्नेहरु एकै ठाउँ हुँदा अब यसको रक्षा कसरी हुन्छ भन्ने चिन्ता भएको पाण्डेले बताए ।

‘यो संविधानलाई नमान्ने, च्यात्ने एमाले, राजतन्त्र ल्याउनुपर्छ भन्ने राप्रपा, यो संघीयता नै खारेज गर्नुपर्छ भन्ने दलहरु र संविधान हामीले ल्याएका हौं भन्नेहरु एकै ठाउँ भएका छन्,’ पाण्डेले भने, ‘जे उद्धेश्यले गठबन्धन गरिएको हो, त्यसको मर्मलाई जोगाउन सबै नेता र नेतृत्व लाग्नुपर्ने थियो ।’

अब कांग्रेस प्रतिपक्षमा बस्नुपर्‍यो भनेर रोइलो गर्नुपर्ने अवस्था नरहेको पाण्डेको भनाइ छ । गण्डकीमा कांग्रेस संसदीय दलको नेता बन्न पाण्डेले कसरत गरिरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको विचार समूहबाटै पाण्डेसँगै कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापाले पनि आकांक्षा राखेका थिए । नवलपुरका महेन्द्रध्वज जिसी र स्याङ्जाका भोजराज अर्यालले पनि दलको नेता बन्न कसरत गरिरहेका छन् ।

प्रकाशित मिति २०७९ पुस ११ गते सोमबार ०१:०४
हजुरको प्रतिक्रिया