पोखरा
‘उत्सुकता छ मलाई जनताको पक्षमा काम गर्नलाई,’ सपथ ग्रहणलगत्तै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले संक्षिप्त प्रतिक्रिया दिइन् ।
नेपाली कांग्रेसको समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बनेकी तिवारीसँग स्याङ्जाको वालिङ नगरपालिकाको उपप्रमुख भएर काम गरेको अनुभव छ । ५ वर्षमा गण्डकीवासीको सपना पूरा गर्न लागिपर्ने उनले बताइन् ।
देश र जनताप्रति पूर्ण रुपमा वफादार बन्ने वाचासहित बिहीबार गण्डकीका ५९ सांसदले सपथ ग्र्रहण गरेका छन् ।
नदीपुरमा रहेको प्रदेश सभा भवनमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेशमा नवनिर्वाचित सांसदलाई सपथ खुवाए । बुधबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीया बस्याललाई सपथ खुवाएपछि उनले बाँकी सांसदलाई बिहीबार सपथ खुवाएका हुन् ।
५६ जना सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ लिएका थिए । समानुपातिकमा कास्कीबाट निर्वाचित सरस्वती गुरुङ, स्याङजाका पञ्चराम गुरुङ र लमजुङकी पार्वती तामाङले मातृभाषामा सपथ ग्रहण गरे । सपथ ग्रहणपछि प्रदेश सांसदहरुले जनताको मतलाई कदर गर्नेगरी काम गर्ने बताए ।
मुस्ताङ (क) बाट निर्वाचित नम्डु गुरुङले सपथ ग्रहणले झनै जिम्मेवार बोध गराएको सुनाए । ‘अबको ५ वर्ष मेरो हरेक कदम मुस्ताङको विकासका लागि हुनेछ’, उनले भने । सबैको सल्लाह लिएर आफूले काम गर्ने उनको योजना छ ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले पनि सपथ ग्रहणले जिम्मेवार बोध गराएको प्रतिक्रिया दिए । गण्डकीलाई नमुना प्रदेश बनाउन यथेष्ट प्रयत्न गर्ने अधिकारीले बताए ।
‘सत्य निष्ठापूर्वक जनताको सेवा गर्ने कबोल हाम्ले गरेका छौं । हामीले शुसासन दिनुछ । राज्यको प्रत्याभूत गराउनुछ,’ सांसद अधिकारीले भने, ‘जनताको सरकार हो हामी शासक होइनौं सेवक हौं ।’
अधिकरीले जनता नै सार्वभौम भएको उल्लेख गरे । संघीय संसदमा जस्तै प्रदेशमा पनि आफ्नो सशक्त भूमिका रहने उनले बताए ।
प्रदेशको विकास र समृद्धिसँग जोडिने काम गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए । राष्ट्रियसभा बाट मुख्यमन्त्री बन्नलाई प्रदेश झरेका उनले भूमिका साँघुरिएको महसुस गरेको बताए ।
‘राष्ट्रिसभामा प्रतिनिधित्वको आधार फरक छ । त्यसले खेल्ने भुमिका संविधानतः भूमिका पनि फरक छ,’ पाण्डेले भने, ‘ऐन, कानुन, विकास निर्माणका कुराहरु पनि फरक छ ।’
कांग्रेससँगको सहकार्य तोडेर नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग जोडिएसँगै पाण्डेको मुख्यमन्त्री सपना तुुहिएको छ ।
गोरखा १ (ख) बाट निर्वाचित भएका नन्दप्रसाद न्यौपानेले गीता छोएर शपथ लिएका लिए । उनले आफ्नो कार्यकालमा प्रदेशको समृद्धिका लागि काम गर्ने बताए ।
जनताको विश्वासलाई टुट्न नदिइकन इमानदारिताको साथ म आफ्नो क्षेत्र र प्रदेशको विकासमा लाग्नेछु’, उनले भने ।
गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिक २४ सांसद निर्वाचित भएका छन् ।गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी छिरेका राजीव गुरुङ (दीपक मनाङे)सहित ६० सांसद छन् ।
गण्डकीमा पुस १८ गते प्रदेश सभाको अधिवेशन बोलाइएको छ ।
हेर्नुहाेस् तस्वीरहरूः







प्रकाशित मिति २०७९ पुस १४ गते बिहीबार ०९:१७




