पोखरा
आज तमु ल्होछार । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार यो पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ’तमु ल्होछार’ भनिएको हो ।
यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको कास्की, लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । पर्वका अवसरमा पोखरामा तमुधि नेपालको कार्यालय नयाँबजारमा शुभकामना आदान प्रदान, सम्मान र तमु संग्रहालयको उद्घाटन कार्यक्रम राखिएको अध्यक्ष हुम तमुले जानकारी दिए ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
प्रकाशित मिति २०७९ पुस १५ गते शुक्रबार ०९:३६




