२०८३ साउन २१ गते बिहीबार

पोखराको सबै वडामा खुल्ला व्यायामशाला

पोखराको सबै वडामा खुल्ला व्यायामशाला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७६ चैत ४ गते मंगलबार ०९:५८

पोखरा महानगरपालिकाले पोखराका सवै वडामा खुल्ला ब्यायमशाला निर्माण गर्ने भएको छ । जस अनुसार गतवर्षदेखि शुरु निर्माणकार्यको करिब पचास प्रतिशत काम सम्पन्न भईसकेको प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए  ।  महानगरपालिकाले...

पोखरा महानगरपालिकाले पोखराका सवै वडामा खुल्ला ब्यायमशाला निर्माण गर्ने भएको छ । जस अनुसार गतवर्षदेखि शुरु निर्माणकार्यको करिब पचास प्रतिशत काम सम्पन्न भईसकेको प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए  ।  महानगरपालिकाले आवश्कता र माग अनुसार व्यायामशाला निर्माण गरेको उनको भनाइ छ ।

निर्माण भइरहेको ब्यायमशाला तीन प्रकारका छन् ।  केही वडामा पार्कसहितको फराकिलो क्षेत्रफलमा व्यायामशाला निर्माण गरिएको छ भने केहीमा सेमिपार्कयुक्त व्यायामशाला छन् । कुनै ठाँउमा भने केवल व्यायामशालाको सामान मात्रै जडान गरेर व्यायाम पार्क बनाइएको छ । यसरी निर्माण भएको पार्कमा सामाग्री राख्न मिल्ने स्थान हेरि ८ देखि १० सेट व्यायाम सामाग्री राखिएको सचिव तिमिल्सिनाको भनाइ छ ।

महानगरपालिकाले हालसम्म दश ठाँउमा व्यायामशाला निर्माण सम्पन्न गरिसकेको छ । जस अन्तरगत पोखरा-२९ भण्डारढिक र पोखरा-१८ मा खुला क्षेत्रफलसहितको पार्कमा व्यायमशाला निर्माण गरिएको छ । पोखरा- ५ बाराही खेलमैदान, पोखरा- २५ हेमजा तथा राष्ट्रिय विभूति तथा शहिद पार्क- १८ मा सेमी पार्कसहितको ब्यायमशाला निर्माण भएका छन् । यस्तै, पोखरा-६ लेकसाइड, पोखरा-१४ मनोहर पार्क, पोखरा- १५ कोलपाटन, पोखरा-२६, पोखरा -१२ को सत्य हरिश्चन्द्र पार्कमा व्यायम पार्क निर्माण सम्पन्न भइसकेको छ ।

महानगरका सवै वडाहरुमा व्यायम पार्क निर्माण गर्ने लक्ष्यका साथ शुरु सो कार्य अन्तरगत पोखरा–३० स्थित जनता पार्कमा खुल्ला व्यायाम पार्क निर्माणको प्रक्रियामा छ । यस्तै, सोही वडाको विकल्प ग्रिन पार्कमा समेत व्यायमपार्क निर्माणाधिन छ । निर्माणाधिन अन्य व्यायमपार्कमा पोखरा १४ चाउथे, पोखरा ३३ भरतपोखरी, पोखरा १० रामबजार, पोखरा १६ बाटुलेचैर रहेका छन् ।

पार्क व्यवस्थापनको जिम्मेवारी स्थानीयलाई दिइएको छ । खुल्ला व्यायाम पार्कको लागि महानगरपालिकाले ५० लाख रुपैयाँ खर्च गरेको छ । व्यायमशालामा राखिएका व्यायम सामाग्रीको मुल्य न्यूनतम २ लाख ८१ हजार ३ सय ७० देखि अधिकतम ३ लाख २६ हजार ७ सय पचास रहेको महानगरको भण्डार शाखाले जानकारी दिएको छ । व्यायमशालामा कार्डियो वाकर, डबल ह्विल ट्विस्टर, सोल्जर जोइन्ट ट्रेनर, डबल ब्याक मसाजर, राइडिङ् मेसिन, डबल ट्विस्टर, सिंगल एब्डोमिनल प्लेट, क्रस ट्रेनर र ट्रेड मिल गरि ९ सेट  व्यायाम सामाग्री राखिएका छन् ।

कतिपय खुल्ला व्यायाम पार्कमा व्यायाम सामाग्रीसहित शौचालयको समेत व्यवस्था छ । बाँकी रहेका वडाहरुमा आवस्यकता र माग बमोजिम व्यायाम पार्क निर्माण गर्दै लगिने महानगरले जनाएको छ ।

 

प्रकाशित मिति २०७६ चैत ४ गते मंगलबार ०९:५८
हजुरको प्रतिक्रिया