२०८३ असोज २३ गते शुक्रबार

पिएन परिसरबाट फुलबारी जोड्न पुल, भूमाफियाको चलखेलको आशंका

पिएन परिसरबाट फुलबारी जोड्न पुल, भूमाफियाको चलखेलको आशंका

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २१ गते बिहीबार ०२:१९

तल्लोतहराको २२२ रोपनी २०३२ सालको नापी फिल्ड बुकमा पृथ्वीनारायण क्याम्पस दाबी उल्लेख भइ क्याम्पसले उपयोग र संरक्षण गर्दै आइरहेको छ ।

पोखरा

पृथ्वीनारायण क्याम्पस बगर परिसरबाट फुलबारी जोड्नलाई सेती नदीमाथि मोटरेबल पुल निर्माण गर्न लागेपछि विरोध गरिएको छ । क्याम्पसले भोगचलन गर्दै आइरहेको जग्गामा बिना जानकारी सडक र पुल निर्माण गर्न लागेपछि क्याम्पस प्रशासन, प्राध्यपक संघ र विद्यार्थी संगठन विरोधमा उत्रिएका हुन् । स्वार्थ समूहको प्रभावमा परेर पुल निर्माण गर्न लागिएको आरोप छ ।

पुल निर्माणस्थलको जग्गा क्याम्पसको नाममा रहेको क्याम्पस प्रमुख डा. सरोज कोइरालाले बताए । उनका अनुसार केही जग्गा क्याम्पसको नाममा नभएपनि हकभोग गर्दै आइरहेको छ ।

पोखरा महानगरपालिका–१ बगर तल्लोतहराको २२२ रोपनी २०३२ सालको नापी फिल्ड बुकमा पृथ्वीनारायण क्याम्पस दाबी उल्लेख भइ क्याम्पसले उपयोग र संरक्षण गर्दै आइरहेको उनले दाबी गरे ।

‘सडक र पुल निर्माण गर्दा क्याम्पसलाई केही जानकारी नगराई एकतर्फी केही व्यक्तिलाई लाभ पुग्ने गरेर निर्माण गर्न लागिएकोमा गम्भिर आपत्ति छ’, बिहिबार पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख कोइरालाले भने । सो जग्गा क्याम्पसले तारबार गर्दै वृक्षारोपण गरेको छ । वर्षेनी टेण्डर लगाएर घाँस विक्री गर्ने गरिन्छ ।

त्रिवि प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस एकाइ समितिका सभापति डा. लक्ष्मीशरण अधिकारीले क्याम्पसलाई थाहै नदिइ पुल निर्माण गर्नु भूमाफियाको चलखेल हुन सक्ने आशंका व्यक्त गरे । भूमाफियाहरु बलियो भएर लागेको उनको आरोप छ । ‘पुल त कति चोटि धर्ना बसेर यहाँ चाहियो भनेर जनदबाब दिएर त पाइदैन । ५ सय मिटरको दुरीमा त्यत्रो पुल खुसुखुसु क्याम्पसलाई थाहै नदिइकन कहाँ कहाँबाट सेटिङ भएर आको हाम्ले बुझेम’, उनले भने । उनले क्याम्पस प्रशासनले भोगचलन गर्दै आइरहेको जग्गा फुत्कन नदिने उल्लेख गरे ।

विद्यार्थीहरुले पनि उक्त जग्गा जोगाउन जुनसुकै संघर्ष गर्न तयार रहेको बताएका छन् । क्याम्पसमा क्रियासिल विद्यार्थी संगठनअनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंले संयुक्त विज्ञप्ती जारी गरेर पुल निर्माण रोक्न माग गरेका छन् ।

सडक विभाग पुल महाशाखाले पुस १२ गते हिमडुङ्ग एण्ड थोकर रौताहा जेभिले पुल निर्माणको ठेक्का पाएर काम सुरु गर्न लागेकाले आवश्यक मेसिनरी उपकरण तथा सवारीसाधन निर्माणस्थलसम्म पुग्न क्याम्पसलाई बाधा नपर्ने समयमा प्रवेश अनुमतिका लागि पत्र लेखेको थियो । क्याम्पस प्रशासनले सेती नदीमा पुल निर्माण गर्दा बाधा पुग्ने भन्दै अनुमति नदिने जवाफी पत्र पठाएको छ ।

प्रकाशित मिति २०७९ पुस २१ गते बिहीबार ०२:१९
हजुरको प्रतिक्रिया