२०८३ असोज २३ गते शुक्रबार

विश्वासको मतपछि गण्डकीमा मन्त्रिपरिषद् विस्तार, कोकाे बन्दैछन् त मन्त्री ?

विश्वासको मतपछि गण्डकीमा मन्त्रिपरिषद् विस्तार, कोकाे बन्दैछन् त मन्त्री ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २८ गते बिहीबार ०१:२५

मन्त्रालयको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा समस्या भएको नेताहरुको भनाइ छ ।

मन्त्री बन्न सांसदको दौडधुप

पाेखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले भोलि शुक्रबार विश्वासको मत लिँदैछन् ।

भोलि बस्ने प्रदेश सभामा उनले विश्वासको मत लिनेछन् । विश्वासको मतलिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने नेकपा एमालेका एक नेताले बताए । ‘विश्वासको मतपछि मुख्यमन्त्रीले सत्ता साझेदार शीर्ष नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् विस्तार गर्नुहुन्छ,’उनले भने,‘ माघ १ गतेसम्म नयाँ मन्त्री नियुक्त हुनेछन् ।’ कुन दलले कति मन्त्रालय पाउने भन्ने बारेमा सत्ता साझेदार दलमा सहमति भएपनि कुन दलले कुन मन्त्रालय पाउने अझै टुंगो लागेको छैन । मन्त्रालयको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा समस्या भएको नेताहरुको भनाइ छ ।

पुस २५ गते मुख्य मन्त्रीमा नियुक्त भएका अधिकारीले सोही दिन सत्ता साझेदार दल नेकपा माओवादीका हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ र नेकपा एमालेका सीता सुन्दासलाई मन्त्रीमा नियुक्त गरेका थिए । नियुक्त भएका मन्त्रीहरुले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

मन्त्री बन्न सांसदको दौडधुप

सत्ता साझेदार दलमा भएको सहमति अनुसार माओवादीले सभामुख पाउन भएको छ । माओवादीबाट गोर्खाका कृष्ण धिताल सभामुख बन्ने पक्का जस्तै भएको छ भने अन्य सांसदहरु मन्त्री बन्ने दौडमा छन् । शीर्ष नेतालाई रिझाएर मन्त्री बन्न सांसद लागि परेका छन् । माओवादीमा कुसुम बुढा, रेशम जुग्जाली, सुशीला शिंखडा र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाको मन्त्रीमा चर्चा छ । माओवादी र नेसपा गरी गण्डकीमा ८ जना सांसद छन् ।

नेकपा एमालेका सांसदहरुको पनि मन्त्री बन्न दौडधुप बढेको छ । मुख्यमन्त्री खगराज अधिकारीसहित पार्टी नेतृत्वको मन जितेर मन्त्री बन्न सांसदहरु लागि परेको एमालेका नेताहरुले बताएका छन् ।एमालेबाट रोशन गाहा थापा, लीलबहादुर थापा, भीम कार्की, गोविन्दबहादुर नेपाली, गणेशमान गुरुङ लगायतको चर्चा छ । अधिकारी मुख्यमन्त्री नियुक्त भएको दिन नै रोशन गाहा मन्त्री बन्ने चर्चा थियो । तर मन्त्रालयको भागवण्डा नमिल्दा मुख्यमन्त्रीले गाहालाई मन्त्री नबनाएको एमाले स्रोतको दाबी छ । दोस्रो पटक प्रत्यक्ष निर्वाचित भएका गाहा मन्त्री बन्ने लगभग पक्का जस्तै भएको एमाले नेताहरुको भनाइ छ ।

माओवादीले सभामुख लिने भएपछि एमालेले उपसभामुख पाउने भएको छ । उपसभामुखमा पदमा जिसी र देवका पहारीको चर्चा छ । महिला र दलित समुदायबाट सीता सुन्दास मन्त्री भएपछि गोविन्दबहादुर नेपाली मन्त्री बन्ने सम्भावना कम रहेको स्राेतकाे दाबी छ । स्रोतका अनुसार नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाउने सम्भावना बढी देखिएको छ ।

 

प्रकाशित मिति २०७९ पुस २८ गते बिहीबार ०१:२५
हजुरको प्रतिक्रिया