पोखरा
आज माघे संक्रान्ति पर्व । विशेषत् थारु र मगर समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले सबैले मनाउँदैछन् । थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।
माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।
माघे सङ्क्रान्तिका दिन सखरखण्ड, घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ ।
यस्तै माघे सङ्क्रान्तिका अवसरमा आज पोखराका दुई ठाउँमा मेला लाग्दैछ । पोखराको पुरानो मेलाको रुपमा परिचित ढुङ्गेसांघु मेला पोखरा-१७ मा लाग्दैछ । यस्तै पोखरा महानगरपालिका–१६ रञ्जित गाउँमा माघे संक्रान्ति मेला लागिरहेको छ । पुस २८ देखि नै सुरु भएको मेला आजसम्म चल्नेछ ।
माघे सङ्क्रान्तिका अवसरमा यस वर्षदेखि कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको जनाइएको छ ।
यसै अवसरमा पोखरा महानगरपालिकाले ढुङ्गेसांघुको मेला रहेको ठाउँ पोखरा १७ जानकी माध्यमिक विद्यालयको परिसरमा कृषि जैविध विविधता मेला तथा कोदोजन्य परिकारको प्रदर्शनी पनि गर्दैछ ।
प्रकाशित मिति २०७९ माघ १ गते आइतबार ०९:००




