२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा मन्त्रिपरिषद् विस्तारमा किन विलम्ब ?

गण्डकीमा मन्त्रिपरिषद् विस्तारमा किन विलम्ब ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ५ गते बिहीबार ०९:३६

सत्ता साझेदार दलबीच मन्त्रालय टुंगो नलाग्नु र एमालेमा मन्त्रीका आकांक्षी धेरै हुँदा खगराज अधिकारीलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको एमालेका नेताहरुले बताएका छन् ।

पोखरा

गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । गत पुस २५ गते मुख्यमन्त्री बनेका खगराज अधिकारीले ३ जनालाई सोही दिन मन्त्री बनाए पनि उनीहरुले मन्त्रालयको जिम्मेवारी पाएका छैनन भने १० दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । एमालेबाट सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम तमु विना विभागीय मन्त्री छन् ।

सत्ता साझेदार दलबीच मन्त्रालय टुंगो नलाग्नु र एमालेमा मन्त्रीका आकांक्षी धेरै हुँदा खगराज अधिकारीलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको एमालेका नेताहरुले बताएका छन् । स्रोतका अनुसार मन्त्रालयको संख्या टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अधिकारीको छ । सक्ता साझेदार दलहरुका नेताहरुले ९ वटा मन्त्रालय रहने बताउँदै आएका छन् । मन्त्रालय घटाउने भनिएपनि कति राख्ने निर्णय भएको छैन । अहिले गण्डकी प्रदेशमा १२ मन्त्रालय छन् । स्रोतका अनुसार अर्को हप्तासम्म गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।

९ मन्त्रालय कायम राख्दा एमालेले पाँच, माओवादीले तीन र राप्रपाले एक मन्त्रालय पाउन सक्ने एमालेका एक नेताले बताए । माओवादीको चिहृनबाट चुनाव जितेका गोरखाका फणिन्द्र देवकोटाले आफ्नै दल नेपाल समाजवादी पार्टीको कोटाबाट मन्त्री दाबी गरिरहेका छन् । माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमान मन्त्री भइसकेकाले अब दुई जना मात्र मन्त्री बन्नेछन् । जसमा सुशीला सिम्खडा र कुसुम बुढामगरमध्ये एक जना र म्याग्दीका सांसद रेशमबहादुर जुग्जाली मन्त्री हुने पक्का जस्तै भएको माओवादी नेताको भनाइ छ ।

मुख्यमन्त्री अधिकारीलाई एमालेबाटै मन्त्रीको टुंगो लगाउन सकस छ । यसअघि गण्डकी प्रदेश र केन्द्रमा समेत सरकारको नेतृत्व गरिरहेकै दलले अर्थ मन्त्रालय नलिँदा मनमुटाव बढेको भन्दै यसपटक अर्थ मन्त्रालय एमालेमै राख्ने योजनामा मुख्यमन्त्री अधिकराी छन् । एमालेबाट दोस्रो पटक प्रदेश सभामा चुनाव जित्ने एक मात्र सांसद रोशन गाहामगरले अर्थ मन्त्रालयमा दाबी गरेका छन् । तर, उनलाई खगराजले विश्वासको मत लिनुअघि पार्टी संसदीय दलको प्रमुख सचेतक बनाएका छन् । गाहाले भने मन्त्री दाबी गर्दै आएका छन् । स्रोतका अनुसार गाहालाई मन्त्री बनाएर अधिकारीले गोविन्दबहादुर नेपालीलाई प्रमुख सचेतक बनाउने चर्चा पनि एमालेमा छ ।

एमालेमा बागुलङका लीलबहादुर थापा, गोविन्दबहादुर नेपाली, नवलपुरबाट चुनाव जितेकी पदमा जिसी, कास्कीबाट चु्नाव जितेका गणेशमान गुरुङ र भीम कार्की पनि मन्त्रीका आकांक्षी छन् । कास्कीबाट मुख्यमन्त्री बाहेक अर्का एक जनालाई मन्त्री बनाउनुपर्ने आवाज पनि उठेको छ ।

 

प्रकाशित मिति २०७९ माघ ५ गते बिहीबार ०९:३६
हजुरको प्रतिक्रिया