२०८३ कात्तिक १० गते सोमबार

पर्यटकीय मौसम नसकिँदै पोखरा–जोमसोम हवाई सेवा ठप्प, यात्रुको बुकिङ रद्द मुख्य कारण

पर्यटकीय मौसम नसकिँदै पोखरा–जोमसोम हवाई सेवा ठप्प, यात्रुको बुकिङ रद्द मुख्य कारण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ४ गते मंगलबार ०९:४३

मुस्ताङ । पर्यटकीय अनुकूल मौसम बाँकी छँदै पोखरा–जोमसोम रुटको नियमित हवाई उडान बन्द भएको छ। यस क्षेत्रमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले यसपटक समयअगावै आफ्नो सेवा स्थगित गरेका हुन्। रसुवामा आएको विनाशकारी बाढी र देशका...

मुस्ताङ ।
पर्यटकीय अनुकूल मौसम बाँकी छँदै पोखरा–जोमसोम रुटको नियमित हवाई उडान बन्द भएको छ।

यस क्षेत्रमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले यसपटक समयअगावै आफ्नो सेवा स्थगित गरेका हुन्। रसुवामा आएको विनाशकारी बाढी र देशका विभिन्न स्थानमा गएको पहिरोले सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुहरूले बुकिङ रद्द गरेका थिए।

यात्रु घटेकै कारण वायुसेवा कम्पनीहरूले नियमित उडान रोक्नुपरेको बताएका छन्। नियमित उडान रोकिए पनि चार्टर उडान भने निरन्तर रहने जनाइएको छ।

जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरलाइन्सले अघिल्लो सातादेखि नै आफ्नो उडान रोकेको थियो। समिट एयरलाइन्सले पनि सोमबारदेखि नियमित सेवा बन्द गरेको छ। मुस्ताङमा हरेक वर्ष अगस्टदेखि नोभेम्बरसम्म पोखरा–जोमसोम हवाई सेवा नियमित रूपमा सञ्चालन हुने गर्छ।

उडान स्थगन हुनुमा जहाज मर्मतको कारण पनि जोडिएको छ। कार्यालय प्रमुख शर्माका अनुसार तारा एयरका तीनवटा जहाजमध्ये एउटाको हाल मर्मत भइरहेको छ। यस्तै समिट एयरका चारवटा जहाजमध्ये एउटालाई मर्मतका लागि लैजाने तयारी भइरहेको छ।

जोमसोमस्थित समिट एयरलाइन्सका स्टेशन इन्चार्ज सुमन थकालीले बाढीपहिरोका कारण यात्रुहरूले पूर्वबुकिङ रद्द गर्दा नियमित उडान स्थगित गर्नुपरेको बताए। मुस्ताङमा बर्सेनि दुईवटा पर्यटकीय याममा १८ सिटे जहाजमार्फत हवाई सेवा सञ्चालन हुने गर्छ। तारा एयरलाइन्स र समिट एयरलाइन्सले मात्र यस रुटमा वार्षिक १ हजार २०० भन्दा बढी नियमित उडान गर्दै आएका छन्।

प्रकाशित मिति २०८३ कात्तिक ४ गते मंगलबार ०९:४३
हजुरको प्रतिक्रिया