२०८३ असोज २३ गते शुक्रबार

पोखरामा जहाज दुर्घटनाः स्थानीय अझै त्रसित

पोखरामा जहाज दुर्घटनाः स्थानीय अझै त्रसित

दुर्गा राना मगर

@Public 4K Tv

२०७९ माघ ५ गते बिहीबार ०५:०७

कुमार आले खोंचमा माछा मार्न पुगेका मध्येका एक हुन् । जहाज दुर्घटना परेको खोंचमा नै उनी थिए । जहाज दुर्घटनाबाट बांचेका उनले त्यतिबेला के भएको मेसो पाएनन् र भागे । उनी अहिले धेरै बोल्न सक्ने अवस्थामा छैनन् । जहाज दुर्घटनाको बारेमा धेरै बताउँदैनन् ।

मनोचिकित्सक भन्छन्ः मनोपरामर्श आवश्यक हुन्छ

पोखरा

पोखराको वडा नं ७ र १५ बीचको मितेरी पुल नजिकैको सेती खोंचमा माघ १ गते आईतबार यती एयरको जहाज दुर्घटनामा परेको थियो । जसमा सवार ७२ जना यात्रु मध्य ७० जनाको मृत्यु पुष्टि भइसकेको छ भने २ जनाको अझै अज्ञात छ । घटना भएको आज पांचौ दिनसम्म प्रहरी, स्थानीय र बाहिरबाट हेर्न आउनेको भिड उस्तै छ । पोखरा ७ र १५ क्षेत्र वरपर मानवीय बस्ती छ । ७० जनाको चिहान बनेको सेती खोंचमा नजिकैका स्थानीय अहिले पनि त्रसित अवस्थामा छन् ।

माघ १ गते । रश्मी परियार आफ्नो १ वर्षे छोरालाई हेर्दे घरको आगँनमा बस्दै थिइन् । जहाजको आवाज कानमा चर्को बज्न थालेपछि माथि हेर्दाहेर्दो जहाज घर अगाडि नै आएर खस्यो । घर अगाडि खेलिरहेको ११ वर्ष र १ वर्षको छोरालाई समातेर उनी घर छाडेर भागिन् । उनी त्यो दिन अहिले सम्झन चाहदिनन् । आगँनमा भाडा माझ्दै गरेको भेटिएकी रश्मीले भनिन्, ‘बेस्मरी डर लागेको छ । ठूलो आवाज आउँदा पनि झसंग झसंग हुने गरेको छु ।’ उनलाई जहाज दुर्घटनाको बारे कसैले केही कुरा नगरे हुन्थ्यो जस्तो भएको छ तर घर अघि नै देखिरहेको दृश्यले उनी टाढा जान पाउदिनन्  । ‘मेरो आँखाले देखेको हो । भित्र भित्र मलाई गाह्रो भएको छ । बाहिर हासेजस्तो भएपनि मेरो मन खुसी छैन । म खुसी हुन सकेकी छैन’ उनले अकमक्किदै भनिन् । दुर्घटना भएको आज पाँचौ दिनमा उनी एक्लै बस्न सकिन्दनन् । एक्लै बस्ने बित्तिकै अनेकथरी सोच आएर मन भक्कानिएर रुन आउने उनले बताइन् । आगँनमा खेलिरहेको छोरो हेर्दै उनले भनिन्, ‘आधा रातमा ब्युझन्छु, रातभर छटपटि चलेर निदाउन सकिदन ।’

स्थानीय सीता विक अहिले रातीमा बाहिर निस्कनै डराउँछिन् । घर अगाडिको जहाज दुर्घटना भएको ठाउँले उनलाई त्यस दिनको दृश्यले छटपटाइरहन्छ । उनले भनिन्, ‘भाग्यले बांच्यौ तर हामी बाचेको खुसी भन्दा पनि यत्रा मान्छे मरेको दुःखले हाम्रो मन पनि रोएको छ ।’

बैसबहादुर विकको घर जहाज दुर्घटना भएको पोखरा ७ तिरको सेती खोचनेरको अन्तिम घर हो । दुर्घटना भएको दुई दिनसम्म उनको हात पाखुरा चलेनन् । काम गर्दा पनि हात काम्ने, डर लागिरहने उनलाई भयो । अझै पनि उनको कानमा जहाज खस्दाको अन्तिम प्रहारको आवाज गुन्जिरहन्छ । ‘गुट्ट्ट गदै आएको जहाज एकैछिनमा सेतीको खाल्डोमा झ्वाम्मै खस्यो, ठूलो भाग्यले बाँचियो’ उनले भने । उनको होस घुम्यो तर जसोतसो सम्हालेर घर बस्ती नजिकै लागेको आगो निभाउन तिर लागे ।

फुलमाया विकले खाना पकाउदैंको भाडा सबै हुत्याएर भागिन् । जहाज खसेको हो कि के भयो भन्ने उनले त्यतिबेला मेसो पाइनन् । उनलाई अझैपनि घरमा भाडा खसेको आवाज, गेट खोलेको आवाजले पनि झस्काउँछ । अहिले बाँचियो तर पछि फेरि यस्तै केही हुन्छ कि भन्ने डर फुलमायालाई लागेको छ । उनले भनिन्, ‘यो ठाउँ छाडेर जानु मन छ तर कहाँ जानु ?’

कुमार आले खोंचमा माछा मार्न पुगेका मध्येका एक हुन् । जहाज दुर्घटना परेको खोंचमा नै उनी थिए । जहाज दुर्घटनाबाट बांचेका उनले त्यतिबेला के भएको मेसो पाएनन् र भागे। उनी अहिले धेरै बोल्न सक्ने अवस्थामा छैनन् । जहाज दुर्घटनाको बारेमा धेरै बताउँदैनन् । उनको कोठा पोखरा १५ नयाँगाउँको दुर्घटनास्थलबाट नजिकै छ । श्रीमति कुमारी आलेले भनिन्, ‘रातभर निदाउन सक्नुहुन्न । छटपटी छ उहाँलाई । उहाँलाई देख्दा मलाई पनि चिन्ता लागेको छ ।’

सेती खोंच नजिकैको बस्ती

मैतलाल नेपाली अहिले घरबाहिरको मोटरसाइकलको आवाजले अझै झस्किन्छन् । उनलाई अझै पनि यस्तो घटना भयो भनेर पत्याउन सकेका छैनन् तर विहान उठेदेखि बेलुुकी नसुतुन्जेलसम्म घरबाटै देखिने दुर्घटनास्थल हेरिरहदाँ भने उनलाइए डर लाग्ने गरेको छ ।

पार्वती विक जहाज दुर्घटना हुने बित्तिकै भागेकी थिइन् । भाग्दा उनको घुडाँमा नै चोट लागेको छ । लक्ष्मी परियारको अहिले पनि आँखा चिम्लने बित्तिकै जहाज खसेको दृश्य आँखामा नै डुलिरहेको छ । माया सुनारले भनिन्, ‘मेरो नानी सुत्न सकेकी छैन । आज निन्द्रा लाग्ने दबाई खान्छु भन्दै थिई । मैली दिइन । के भयो यस्तो ।’ घटनाले तनावको अवस्था ल्याएपनि विस्तारै ठिक हुँदै जाला भन्ने उनलाइ लागेको छ ।

मनोपरामर्शको आवश्यकता
युद्ध, विपद्, दुर्घटनाहरुमा बाँचेका, आफन्त गुमाएका मानिसहरु, प्रत्यक्षदर्शीहरुमा यस्ता त्रासदीले मनोसामाजिक समस्या निम्त्याउनुु स्वाभाविक भएको बताउँछन् मनोचिकित्सक डाक्टर अनन्त अधिकारी । उनले त्रासदीलाई नजिकबाट देखेका, बाँचेकाहरु दुइ तीनकिसिमका मनौवैज्ञानिक समस्या देखिने बताए । उनले भने, ‘कुनै तत्कालको प्रतिक्रिया रहने जसलाई एक्युटी स्ट्रेस रियाक्शन अर्थात् तत्कालै देखिने तनावको प्रतिक्रिया हो । यो प्राय केही दिनसम्म रहन सक्छ । यसमा अत्यास लाग्ने, डर लाग्ने, फेरि सो घटना भएको जस्तो अनुभुति हुने, केह विक्षिप्तता जस्तो पनि देखिने गरेको हुन्छ । यसलाई सामान्य अनुभुति हो जुन हराएर जान्छ ।’

डा. अधिकारीका अनुसार यसपछि भने कुनै लामो समयका लागि देखिने र कुनै वर्षो पछि यस्तो घटना सम्झदा अथवा घटना भएको ठाउँमा जाँदा एक्कासी देखापर्ने असर रहने उनले बताए । उनले यस्तो मनोपरामर्शको निकै आवश्यकता हुने बताए । उनले भने, ‘आफन्तजन गुमाएकाहरु देखि यस त्रासदीलाई देख्नेहरुलाई मनोपरामर्शको निकै आवश्यकता हुन्छ । उनीहरुलाई तनावलाई व्यवस्थापन गर्ने क्षमताको विकास गराइनुपर्छ । यदि यसलाई बेवास्ता गरियो भने पछि कुनै कडा खालका बिरामीमा साइकोटिक ब्रेकडाउन हुने अवस्था पुग्छ । किनभने मन अस्वस्थ हुाँ यसले पछि सम्म दुःख दिन सक्छ ।’

उनले यस्ता घटनाका बारे कुरा नगरि लुकाएर अथवा बिर्साउने प्रयास गरिनुभन्दा कुरा गरेर नै सामान्यकरण गरिनु आवश्यक भएको बताए । डा अधिकारीले यस्ता घटनामा शारीरिक स्वास्थ्यको जति ध्यान दिइन्छ त्यति नै ध्यान मानसिक स्वास्थ्यको पनि गरिनुपर्ने बताए ।

प्रकाशित मिति २०७९ माघ ५ गते बिहीबार ०५:०७
हजुरको प्रतिक्रिया