२०८३ असोज २३ गते शुक्रबार

दिवंगत साहित्यकारको स्मृतिमा उनीहरूकै कविता सुनिए

दिवंगत साहित्यकारको स्मृतिमा उनीहरूकै कविता सुनिए

विकास मगर

@Bikashh1997

२०७९ माघ १२ गते बिहीबार ०८:१२

दिवंगत दर्जनबढी साहित्यकारको स्मृतिमा उनीहरुको कविता वाचन गरेर सम्झिने मौका जुराइदिएको थियो, पोखरेली युवा सांस्कृतिक परिवारले । परिवारले आयोजना गरेको ‘सामूहिक साहित्यिक जयन्ती’ कार्यक्रममा विभिन्न १७ जना दिवंगत कविका कविता वाचन गरिएको थियो ।

जब छोराले सुनाए दिवंगत बाबुका कविताहरु...

पोखरा
‘नरोए वनको न्याउली, वन डढ्यो, रोएर काँ जाउली ?
उराठलाग्दो चैतको मैना, झन लामो खडेरी … ।’

यो गीति कवितांश हो, पोखरा मियापाटनका लोककवि अलिमियाका । ०६३ मा निधन भएका अलिमियाले नेपाली साहित्य क्षेत्रमा थुप्रै आफ्ना अमर सिर्जना छाडेर गएका छन् ।

तिनै लोककवि स्व. अलिमियाको माथि उल्लेखित कविता बिहीबार पोखरामा उनकै छोरा हनिफ मियाले वाचन गरे । आफ्नो बाबुले लेखेका ३ वटा गीति कविता लयात्मक वाचन गरेरै सुनाए ।

दिवंगत साहित्यकार बुवाको गीति कविता सुनाउँदै गर्दा उनी नोस्टाल्जिक बने । पुराना दिन सम्झिँदै मियाले उन्ताका दिनमा केही विदेशी र राजा महेन्द्रका अगाडि बुवाले कविता वाचन गरेको प्रसंग उप्काए ।

दिवंगत दर्जनबढी साहित्यकारको स्मृतिमा उनीहरुको कविता वाचन गरेर सम्झिने मौका जुराइदिएको थियो, पोखरेली युवा सांस्कृतिक परिवारले । परिवारले आयोजना गरेको ‘सामूहिक साहित्यिक जयन्ती’ कार्यक्रममा विभिन्न १७ जना दिवंगत कविका कविता वाचन गरिएको थियो ।

कार्यक्रममा हनिफले मात्रै बुवाका कविता वाचन गरेनन् । दिवंगत साहित्यकार तेजनाथ घिमिरेका कविता पनि उनकै छोरा प्रकाश घिमिरेले वाचन गरेर सम्झिए ।

कविवरका रुपमा परिचित घिमिरेको असार ३२ गते निधन भएको थियो ।

दिवंगत कवि घिमिरेका ‘मृत्युलाई चुनौती, आधारभूत आवश्यकता र कान्तिपुरी’ गरी ३ वटा कविता उनकै छोरा नेपाली सिने एवं रंगमञ्चका लोकप्रिय कलाकारसमेत रहेका प्रकाश घिमिरेले वाचन गरेका थिए ।

कार्यक्रम आयोजक ‘पोखरेली युवा सांस्कृतिक परिवार’ पोखराकै जेठो साहित्यिक संस्थामा मानिन्छ, जुन ०३४ सालमा स्थापना भएर आजपर्यन्त क्रियाशील छ । संस्था जन्मिएकै वर्ष स्वर्गीय घिमिरेले रचना गरेको कविता छोरा घिमिरेले वाचन गरेका थिए ।

‘यस्तो दिन पनि आउने रहेछ । बुवाको कविता म आफ्नै स्वरमा वाचन गर्ने दुचेष्टा गरें,’ कविता वाचनपछि उनले भने ।

कार्यक्रममा भूपि शेरचनको ‘मैनबत्तीको शिखा’ नामक कविता कवि लक्ष्मण थापाले वाचन गरेर शेरचनलाई सम्झिए । वानिरा गिरीको कविता ‘म एउटा च्यातिएको पोस्टर’ कवि प्रकाश आचार्यले वाचन गरेका थिए ।

३ पटकसम्म मदन पुरस्कार पाएका शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको ‘खोला’ कविता मोति भुजेलले वाचन गरे । कवि कृष्ण जोशीको कविता ‘आँसु रुझेर कविताहरु’ कवि शरण आँसुले वाचन गरेका थिए ।

जनकविकेशरी उपमा पाएका साहित्यकार धर्मराज थापाको ‘नेपालीले माया मा¥यो बरिलै’ गीति कविता कवि शिव संकल्पले सुनाए । कवि वाशु शशीको ‘बाटो टुंगिन्छ पाइलैपिच्छे’ कविता कवि कौशलचन्द्र जोशीले सुनाए ।

शशीको कविता पछि कृष्णसेन इच्छुकको कविता वाचन भयो । उनको चर्चित ‘जेल’ शीर्षकको कविता कवि अर्जुन अधिकारीले सुनाएका थिए । ०७८ कात्तिकमा निधन भएका साहित्यकार विजय वजिमयको ‘हातहरु जो क्षणक्षण भौतारिरहेछन्’ शीर्षकको कविता रंगकर्मी एमडी काफ्लेले वाचन गरे ।

साहित्यकार मोहन कोइरालाको ‘उज्यालो र अँध्यारो’ कविता लेखक हसिना बस्नेतले वाचन गरिन् । कवि बालकृष्ण समको कविता शिव संकल्पले वाचन गरे । कवि विनोद गौचनको ‘अन्तिम कविता’ शीर्षकको कविता विकास मगर र पोषण पाण्डेको ‘मान्छेदेखि होसियार’ कविता उपेन्द्र पौडेलले वाचन गरे ।

साहित्यकार सरस्वती प्रतीक्षाले कवि पारिजातको ‘लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र’ कविता वाचन गर्दै कुन स्वतन्त्र चराले उड्न पायो र ? भन्दै प्रश्न गरिन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको कालीगण्डकी कविता चैतन्य अधिकारीले वाचन गरे । हरिभक्त कटुवालको चर्चित कविता ‘यो जिन्दगी खै के जिन्दगी’ कवि रमेश श्रेष्ठले वाचन गरे ।

कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले पोखरामा ३५ सालदेखि निरन्तर दिवंगत साहित्यकारहरुको स्मृतिमा नियमित कार्यक्रम गर्न सुरु गरेको सम्झिए । उनले यस्ता कार्यक्रमले पुराना साहित्यकार र नयाँ पुस्ताबीचको पुलको काम गर्ने बताए ।

‘३५ सालमा पहिलो पटक हामीले यो कार्यक्रम गर्दा ठेलामा विभिन्न कवि, साहित्यकारहरुको फोटो राखेर सहर परिक्रमा गरेर विन्ध्यवासिनीमा कोण सभा गरेका थियौं । मान्छेहरुको सहभागिता पनि उल्लेख्य थियो,’ सरुभक्तले सम्झिए, ‘त्यो सुरुआत नै यो संस्थाको ऐतिहासिका कार्यक्रम थियो ।’

सरुभक्तले त्यतिबेला गरेको सामूहिक साहित्यिक कार्यक्रमले देशव्यापी नै चर्चा पाएको सुम्झिए ।

‘पछि मै त्यहीबेला गोरखापत्रमा यही कार्यक्रमबारे लामो लेख पनि लेखेको थिएँ, अहिले पनि सम्झना आउँछ,’ केही दुखेसो पोखे, ‘पछिपछि कार्यक्रममा गिरावट आयो र हराउँदै गयो । अहिले फेरि गर्नुभएछ खुसी लाग्यो ।’

कार्यक्रममा सरुभक्तले भीमदर्शन रोकाको कविता वाचन गरेका थिए ।

प्रकाशित मिति २०७९ माघ १२ गते बिहीबार ०८:१२
हजुरको प्रतिक्रिया