२०८३ असोज २३ गते शुक्रबार

किन तीन गुणा बढ्यो पोखरा विमानस्थलमा पार्किङ शुल्क ?

किन तीन गुणा बढ्यो पोखरा विमानस्थलमा पार्किङ शुल्क ?

विकास मगर

@Bikashh1997

२०७९ माघ १६ गते सोमबार ०६:४०

प्राधिकरणले त्रिभुवन विमानस्थलको तुलनामा पोखरा र गौतमबुद्ध विमानस्थलको सवारी पार्किङ भाडा दर केही कम दररेटमा उठाउन परिपत्र जारी गरेको थियो ।

पोखरा

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पुरानो विमानस्थलको तुलनामा तेब्बर सवारी पार्किङ शुल्क तिनुपरेपछि अहिले सवत्र विरोध भइरहेकोछ छ ।

अहिले उनीहरुले तेब्बरमात्रै होइन, घन्टैपिच्छे पटके शुल्क तिर्नुपर्दा आफूहरु मारमा परेको गुनासो गरेका छन् ।

पुरानो पोखरा विमानस्थलमा १० रुपैयाँमा पार्किङ गरेका २ पांग्रे सवारी धनीले अहिले नयाँ विमानस्थलमा ३० रुपैयाँ बुझाउन बाध्य छन् । प्रवेश गरेकोमात्रै घन्टैपिच्छे पटके ६० रुपैयाँ शुल्क तिर्नुपरेपछि ट्याक्सीलगायत सार्वजनिक सवारी भाडासमेत महंगिएको छ ।

पुस १७ गतेदेखि सञ्चालनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भने हालसम्म आन्तरिक उडानमात्रै भइरहेको छ । आन्तरिक उडानमात्र भए पनि सवारी पार्किङ शुल्कदर पहिलेको विमानस्थलभन्दा तेब्बर बुझाउनु परेपछि सेवाग्राही आक्रोशित बनेका हुन् ।

तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले भने आफूखुसीले सवारी पार्किङ शुल्क नबढाएको बताएको छ । उसाे भए, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पुरानो पोखरा विमानस्थलको तुलनामा किन तेब्बर बढ्यो त पार्किङ शुल्क ?

सबै सेवाग्राहीको चासोको विषय बनेको यसबारे जानकारी थाहा पाउन भने नेपाल नागरिक उड्ड्यन प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावली २०७८ हेर्नुपर्छ । सोही नियमावलीको नियम ७ बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधन बिसान (पार्किङ) शुल्क निर्धारण भएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को चैत ३० गते बसेको बैठकले नेपाल नागरिक उड्ड्यन प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावली २०७८ पास गरेको थियो ।

नियमावलीमा विमानस्थलअनुसार कहाँ कति पार्किङ शुल्क उठाउने भन्ने उल्लेख छैन । शुल्क प्राधिकरणले नै तोक्न पाउने उल्लेख छ ।

उक्त नियमावलीको नियम ७ मा भनिएको छ, ‘विमानस्थल प्रमुखले निर्धारण गरेको सवारी साधन बिसान क्षेत्रमा सवारी साधन बिसान गरेवापत प्राधिकरणले निर्धारण गरेबमोजिमको सवारी साधन विसान शुल्क लाग्नेछ ।’

सोही नियमअनुसार नै प्राधिकरणले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छुट्टाछुट्टै भाडामा निर्धारण गरेको थियो । जसअनुसार त्रिभुवन विमानस्थलको एउटा र बाँकी रहेका पोखरा र गौतमबुद्ध विमानस्थलको समान सवारी पार्किङ शुल्क निर्धारण गरेको छ ।

‘अहिले पोखराको पार्किङ शुल्क बढ्यो भनेर सञ्चार माध्यमले लेखेको लेख्यै छन् । एक हिसाबले ठिकै पनि हो । तर, किन बढ्यो भनेर कसैले खोजी गरेन,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका राजश्व अधिकृत देवराज सुवेदीले गुनासो गरे, ‘हामी कर्मचारीले प्राधिकरणले दिएको परिपत्र लागू गरेकोमात्रै हो ।’

प्राधिकरणले त्रिभुवन विमानस्थलको तुलनामा पोखरा र गौतमबुद्ध विमानस्थलको सवारी पार्किङ भाडा दर केही कम दररेटमा उठाउन परिपत्र जारी गरेको थियो । उक्त परिपत्रमा पोखरा र गौतम बुद्ध विमानस्थलको पार्किङ शुल्क दर समान तोकिएको छ ।

 

अन्तर्राष्ट्रिय विमानस्थल भने पनि हालसम्म आन्तरिक उडानमात्रै पोखरा विमानस्थल भइरहेको छ । अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुन्छ भन्ने अन्योल नै छ । तर, विमानस्थल सञ्चालन आएसँगै पार्किङ शुल्क उठाउन भने सुरु गरिएको छ । जसको जिम्मा मनोज निर्माण सेवाले पाएको छ ।

विमानस्थलमा बिना ठेक्का प्रक्रिया नै मनोज निर्माण सेवाले महंगो पार्किङ शुल्क उठाइरहेको पब्लिक टेलिभिजनले ले खुलाइसकेको छ । विमानस्थलले आइतबारमात्रै गोरखापत्रमा प्रकाशन गरी पार्किङ शुल्क उठाउनका लागि ठेक्का आह्वान गरेको छ ।

सूचनामा ५ वर्षका लागि १ करोड ६२ लाख ३३ हजार रुपैयाँ न्युनतम बोलकबोल रकम तोकिएको छ । बहाल रकममा हरेक २ वर्षमा १० प्रतिशतले वृद्धि हुनेसमेत सूचनामा उल्लेख छ ।

बिना ठेक्का नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क उठाइरहेको मनोज निर्माण सेवाले पुराना पोखरा विमानस्थलमा समेत पार्किङ शुल्क उठाउँदै आएको थियो । प्रक्रियागत रुपमा जाँदा लामो समय लाग्ने भएकाले तत्कालका लागि पार्किङ व्यवस्थापन गर्न मनोज निर्माण कम्पनीलाई नै अल्पकालीन स्वीकृति दिइएको विमानस्थलको तर्क छ ।

‘अहिले नयाँ एअरपोर्टमा ठेक्का प्रक्रियाबिना नै मनोजलाई पार्किङ शुल्क उठाउन किन दिइएको भन्ने प्रश्न जायज नै हो,’ राजश्व अधिकृत सुवेदीले भने, ‘तर, बढेको शुल्कबारे हामीलाई दोष दिनु जायज होइन । मन्त्रिपरिषद्कै निर्णय पालनामात्रै गरेको हो ।’

 

प्रकाशित मिति २०७९ माघ १६ गते सोमबार ०६:४०
हजुरको प्रतिक्रिया