सिमसार क्षेत्रबाट विस्थापित हुँदै पानीचरा
पोखरा
आज विश्व सिमसार दिवस । नेपालमा पनि ‘आजको आवश्यकता सिमसारको पुर्नस्थापना’ भन्ने नाराका साथ आज मनाइदैँछ ।
अन्तर्राष्ट्रिय महत्व बोकेको रामसारमा सूचीकृत भएका नेपालका १० सिमसार क्षेत्र मध्यको एक हो कास्कीका ९ तालहरू । वि.स २०७२ मा विश्व सिमसार दिवसको अवसरमा कास्कीमा रहेका ९ वटा ताललाई रामसारमा सूचीकृत गरिएको थियो । नेपालका १० वटा सिमसार क्षेत्रको कुल ६० हजार ५ सय ६१ हेक्टर क्षेत्रफल रामसारमा सूचिकृत छ । जसमा कास्कीका तालहरूले २६ हजार १ सय ६ हेक्टर क्षेत्रफल ओगटेको छ ।
रामसारमा सूचिकृत भएको ७ वर्ष बित्तिसक्दा पनि सिमसार क्षेत्रको अवस्था भने सुध्रिएको छैन । त्यसो त रामसारमा सूचीकृत हुनु अगाडि यी तालहरूको अवस्था झनै नाजुक थियो । रामसारमा सूचीकृत भएपछि सरकारी र निजि दुवै क्षेत्रबाट यहाँका तालहरूको संरक्षणका लागि केही काम भए । यसले केही हदसम्म जगेर्ना भएको छ तर पनि सिमसार क्षेत्र अझै बेवास्तामा छन् ।
रामसारमा सूचीकृत तालहरू फेवा ताल, बेगनास ताल, रुपा ताल, गुँदे ताल, खास्टे ताल, न्युरेनी ताल, दिपाङ ताल, कमलपोखरी र मैदी ताल रहेका छन् । ओसिलो, दलदले, पानी जमिरहने सिमसार क्षेत्र पानीको स्रोत भएको क्षेत्र हो । पर्यावरणीय दृष्टीकोणले सिमसारको ठूलो महत्व छ । नेपालको राष्ट्रिय सिमसार नीति २०६९ मा सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रुपमा बनेको दलदल क्षेत्र भनेर उल्लेख गरेको छ ।
सिमसार क्षेत्रमा असंख्य जीवजन्तु, चराचरुङ्गीको बासस्थान र विविध वनस्पतीहरु उम्रने हुर्कने हुँदा सिमसार क्षेत्रलाई जैविक विशाल बजार पनि भनिन्छ । सिमसार क्षेत्रका जीव, वनस्पती एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरुलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रललाई धर्तीको मृगौला भनिने योजना आयोगका सदस्य तथा वातावरण विज्ञ डा सुवास अधिकारीले बताए । उनले भने, ‘सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरिको निमन्त्रण गर्नु हो ।’
प्रदुषित सिमसार क्षेत्र
पर्यावरणमा महत्वपूर्ण भुमिका खेल्ने सिमसार क्षेत्र भने अहिले मासिने क्रममा छन् । पोखरा उपत्यका तालहरु भनेर रामसारमा सूचिकृत ९ वटै सिमसार क्षेत्रका तालहरु यतिबेला पुरिने क्रममा छन् । ताल किनारमा बनाइएका सडक निर्माण र पदमार्गका कारण माटोले ताल पुरिने, वर्षायाममा मुहानमा पहिरो जाँदा तालको क्षेत्रफल र सतह घटिरहने, फैलिएका मिचाहा प्रजाति लगायतको समस्या सिमसार क्षेत्रमा देखिएको वातावरण विद्हरु बताउँछन् ।
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेकोे पोखरा उपत्यकाका तालहरुको व्यवस्थापनबारे गरेको योजनाको प्रतिवेदनमा पोखरा उपत्यकाका तालहरूमा अतिक्रमण, सिल्टेशन, प्रदुषण र बाह्य मिचाहा प्रजातिको समस्या रहेको उल्लेख छ । अतिक्रमणका कारण सय वर्षमा फेवा र रुपाको ५० प्रतिशत क्षेत्रफल र गहिराइ घटेको छ । प्रतिवेदनले पोखरा उपत्यकाका ९ वटा तालहरू मानवीय अतिक्रमण, पहिरो, सिल्टेशन, बाह्य मिचाहा प्रजाती, प्लास्टिकजन्य फोहोर तथा ढलको मिसावटलगायतका समस्याको जोखिममा रहेको बताएको छ । त्यसमा पनि सबैभन्दा उच्च जोखिममा फेवा ताल रहेको छ ।

फेवा ताल

बेगनास र रुपा ताल
वर्षोदेखि पर्यटकीय गन्तव्यको रुपमा फेवा, बेगनास र रुपा ताल चर्चित छन् । बाँकी ६ ताल पर्यटकीय हिसाबले लुकेको अवस्थामा छन् । केही वर्षअघि सम्म यी ताल पुरिएर मासिने अवस्थामा पुगेका थिए । रामसारमा सूचीकृत भएपछि भने यी तालहरूको संरक्षणका लागि कार्यक्रम ल्याइएको थियो । गुँदे ताल संरक्षण समितिका अध्यक्ष सुर्जे भण्डारीले भने, ‘ताल हो कि होइन भन्ने अवस्थामा पुगेको थियो । केन्द्रको ताल संरक्षण समिति र केही नीजि क्षेत्रको सहयोगले तालको क्षेत्रफल अहिले बढेको छ । संरक्षणको काम भएको छ ।’

गुँदे ताल

न्युरेनी ताल
खास्टे एवम् न्युरेनी ताल संरक्षण समितिका अध्यक्ष हरिप्रसाद अधिकारी तालमा पक्की बाध नहुँदा र मुहानमा पहिरो जाँदा ताल पुरिएको स्वीकार्छन् । यता मैदी तालमा डोजर लगाएर खोलिएको बाटोले सिमसार क्षेत्र पुरिएको छ भने सवारीसाधन हिडेपिच्छेको धुलोले ताल प्रदुषित बनेको छ । मैदी ताल नजिकै रहेको दिपाङ ताल मानवीय गतिविधिले फोहोर बनेको छ ।

मैदी ताल

दिपाङ ताल
यसै वर्ष साउनमा आएको बाढीले कमलपोखरी क्षेत्र डुबानमा परेको थियो । कमलपोखरी रहेको क्षेत्र डुबानमा पर्दा ताल हिलो माटोले पुरिएको थियो भने संरक्षणका लागि लगाइएको जाली च्यातिएको थियो । कमलको फूल फुल्ने विशेषता बोकेको यस पोखरीमा मिचाहा प्रजातीसंगै भू अतिक्रमणको समस्या छ ।

कमलपोखरीमा माछा मार्दै
विस्थापित पानीचरा
सिमसार क्षेत्र चराचरुङ्गी बस्छन्, कतिपय प्रजननका लागि, कतिपय बच्चा कोरल्न आउँछन् । सिमसारमा संकटापन्न चराहरुको उपस्थिति रहने बताउँछन् पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे । तर रामसारमा सूचिकृत भइसकेपछि यी तालहरुमा आउने चराको संख्या घटेको उनले बताए । उनले भने, ‘रामसारमा सूचिकृत भएपछि यी सिमसार क्षेत्रमा पिकनिक स्पट, व्यवसायिक रुपमा माछापालन गर्न थालियो । जसले गर्दा यहाँ आउने चराहरुको संख्या झन् कम भएको छ ।’
पोखरामा पानी चरा गणनाको क्षेत्रीय संयोजक समेत रहेका घिमिरेले सिमसारमा रहेका रैथाने चरा, हिउँदमा जाडो छल्न आउने चरा त्यहाँबाट विस्थापित भएर अन्यत्र स्थानान्तरण भएको बताए । पोखरा पंक्षी समाजले पोखरा आसपासका सिमसार क्षेत्रमा गरेको पानी चरा गणना अनुसार सन् २०२१ मा ४६ प्रजातिका ३ हजार ८५ पानी चरा थिए ।
सन् २०२२ मा ४५ प्रजातिका ३ हजार ८ संख्या थियो जुन अहिले २०२३ मा गणना गर्दा ५४ प्रजातिका जम्मा २ हजार ६ सय २२ पानी चरा मात्र रहेका छन् । संयोजक घिमिरेका अनुसार प्रजातिको संख्या पनि अहिले घटेको छ । उनले भने, ‘हरि हाँसले नेपालको दुईवटा ठाउँमा मात्र बच्चा कोरल्छन् । त्यसमा कैलालीको घोडाघोडी र पोखराको खास्टे ताल थियो तर अहिले पोखराको खास्टे तालमा हरि हाँस आउँदैनन् ।’

खास्टे ताल
स्थानीय र प्रदेशको ध्यान नगएको सिमसार
पोखरा उपत्यकाका तालको संरक्षणबारे यहाँको स्थानीय र प्रदेश सरकार उदासीन छन् । प्रदेश सरकार बनेपछि पृथ्वी सुब्बा गुरुङको सरकारले वि.सं २०७६ मा तालको संरक्षण र व्यवस्थापनका निमित्त ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकीको स्थापना गरिएको थियो । स्थापना पश्चात प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा गरेको अध्ययनले गण्डकी प्रदेशमा २९० तालहरू (हिमताल, पोखरी, कुण्ड, दह) रहेको बताएको छ । तालको संरक्षण र व्यवस्थापनका लागि अध्ययन र पुर्वाधारको केही काम भएपनि हालसम्म प्रभावकारी रुपमा प्राधिकरणले काम गर्न सकेको छैन ।
हाल कार्यकारी प्रमुखमा रहेकी कल्पना देवकोटाले जनशक्ति र बजेटको अभाव प्राधिकरणलाइ रहेको बताइन् । उनले कास्की जिल्ला मात्र नभइ समग्र गण्डकी प्रदेश हेर्नुपर्ने भएका कारण सबै ठाउँमा पुग्न र काम गर्नका लागि जनशक्तिको अभाव रहेको बताइन् । ताल संरक्षण समितिका सदस्यले नै भने, ‘प्राधिकरण छ तर अझै सम्म हामीले यहाँ देखेका छैनौ । हामीलाई बिना जानकारी आएको भए थाहा भएन ।’
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता घनेन्द्रबहादुर खनालले तालको संरक्षणका लागि ताल विकास प्राधिकरणको नै जिम्मेवारी रहेको बताए । उनले पोखरा उपत्यकाका सिमसार क्षेत्रमा अतिक्रमण भन्दा प्रदुषणको समस्या रहेको बताए । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो घोषणपत्रमा पोखरा ताल संरक्षण तथा जैविध विविधता प्रवद्र्धन परियोजना सञ्चालन गरिने उल्लेख गरेका थिए । मेयर आचार्यले अहिले संरक्षणका लागि तालहरुको रेखाङ्कनको कामहरु मात्र सुरु भएको बताए ।
जलवायु परिवर्तनको असर कम गर्न सिमसार संरक्षणको आवश्यकता
पोखरा लगायतका आसपास क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेको छ । जल तथा मौसम विभागका अनुसार कास्कीको अधिकतम तापक्रम प्रत्येक वर्ष ०.०६७ डिग्रीसेल्सियले बढिरहेको छ । यस्तै न्यूनतम तापक्रम पनि ०.०१८ डिग्री सेल्सियसले बढिरहेको मौसम विभागको तथ्याङ्क छ ।
कास्कीमा प्रत्यक्ष १.४ मिलिलिटरले वर्षा कम हुन थालेको छ । जसको प्रत्यक्ष असर यहाँको तालतलैया पर्दछ । वन तथा वातावरण मन्त्रालयले सन् २०१८ मा प्रकाशन गरेको प्रतिवेदनमा पोखरामा जलवायु परिवर्तनले भारी अनियमित वर्षा, असिना पानी, चट्याङ, वन डढेलोको प्रकोप बढेको बताएको छ ।
वातावरण विज्ञ डा सुवास अधिकारीले जलवायु परिवर्तनको असर कम गर्नका लागि सिमसार क्षेत्रको संरक्षणको आवश्यकता रहने बताए । उनले जैविक विविधता, पारिस्थितीय प्रणालीको संरक्षणका लागि सिमसारको महत्व रहने र सिमसार रहेकै कारण जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने जिकिर गरे ।
सिमसार पुर्नस्थानाको आवश्यकता
यस वर्ष सिमसार दिवसको नारा ‘आजको आवश्यकता सिमसारको पुर्नस्थापना’ नेपालको सिमसार क्षेत्रका लागि सान्दर्भिक रहेको राष्ट्रिय ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक सिता शाहीले बताइन् । उनले अन्तर्राष्ट्रियसंगै नेपालको सन्दर्भमा पनि सिमसार मासिदै गइरहेको सुनाउदै तिनलाई पुर्नस्थापना र संरक्षणका लागि काम गर्नुपर्ने बताइन् । शाहीले भनिन्, ‘सिमसार दिवस एक दिन मात्र मनाएर भन्दा पनि दैनिक गतिविधिमा यसको संरक्षणका लागि स्थानीयको सहकार्यमा काम गरिनुपर्ने देखिएको छ ।’
प्रकाशित मिति २०७९ माघ १९ गते बिहीबार १२:११




