पोखरा
पोखरा महानगरपालिकाले गएको भदौ तेस्रो साता घरधनीलाई प्रायोजन विपरीत प्रयोग भइरहेको अन्डरग्राउण्ड खाली गराउन ३५ दिने निर्देशन दियो । अन्डरग्राउण्ड पार्किङमै प्रयोग हुनुपर्ने भन्दै दिएको महानगरको त्यो निर्देशन पाँच महिना बित्दा समेत पूर्ण रुपमा पालना भएको छैन ।
महानगरले केही अन्डरग्राउण्डमा त डोजर नै चलाएर व्यवसाय हटाउयो । तर, खाली भएका सबै भवनका अन्डरग्राउण्ड पार्किङस्थलको रुपमा परिणत हुन सकिरहेको छैन ।
पहुँचवाला घरधनीको अन्डरग्राउण्ड त झन् महानगरले खाली गराउन समेत सकेको छैन । अटेरी घरधनीलाई माघ २३ गतेसम्म खाली गराउन महानगरले अनुरोध गरेको छ । अन्डरग्राउण्ड खाली गराउन सुरु गरेको महानगरको अभियानलाई मेयर धनराज आचार्यको असफल स्टन्टको संज्ञा दिन्छन् पोखरेलीले ।
पछिल्लो पल्ट पोखरा महानगरपालिकाले ‘कोर एरिया’ को सडकमा पार्किङ निषेधको निर्णय गरेको छ । यो निर्णय माघ २३ गतेदेखि लागु हुँदैछ । आगामी सोमबारदेखि सवारीको अत्याधिक चाप हुने पोखराको पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोको सडक छेउमा पार्किङ निषेध गरिदैछ ।

यी क्षेत्रमा सवारीको अत्याधिक चाप हुँदा आवागमनमा समस्या भएको र सहरी सौन्दर्यमा समेत असर पुगेकाले सडकमा पार्किङ निषेध गरेको महानगरपालिकाले जनाएको छ । पोखराको सहरी क्षेत्रको सौन्दर्यकरणका लागि पार्किङ व्यवस्थापन आवश्यक भएको महानगरका प्रवक्ता मोतिराज तिम्सिना बताउँछन् । पार्किङ निषेध गरेको महानगरले विकल्पसमेत दिएको उनले बताए । घरका अन्डरग्राउण्ड र खाली जग्गा पार्किङका लागि महानगरले दिएको विकल्प हो । उनले भने, ‘जति पनि पार्किङ प्रयोग गर्ने भनिएको छ घरका अन्डरग्राउण्डहरु । यी एरियामा खाली गरिसकेको अवस्था छ । कतिपय व्यवस्थापन गर्दैछौं ।’
महानगरको स्वामित्वमा रहेका र निजी स्वामित्वका खाली जग्गा पार्किङस्थल बनाइनेछ । प्रवक्ता तिम्सिनाका अनुसार पार्किङ निषेधित क्षेत्रका ५ स्थानमा खाली जग्गा पार्किङस्थलका रुपमा प्रयोग गर्न सम्झौता भएको छ । ‘पोखरा प्रदर्शनी केन्द्रलाई र सभागृह समेतलाई हामीले आवश्यकता अनुसार पार्किङ सुविधाका लागि मिलाउने निधो गरेका छौं’, उनले भने । तोकिएको स्थानमा पार्किङ गरेर पुग्नुपर्ने ठाउँसम्म यात्रा गर्नलाई महानगरले २ वटा सटल बस सञ्चालनको तयारी महानगरको छ । तिम्सिनाका अनुसार पार्किङ निषेध गरिएको क्षेत्रमा सटल बस निरन्तर ओहोरदोहोर गरिरहन्छ ।
कोर एरियाको सडकमा पार्किङ निषेधित गरेको महानगरले पोखराको सुन्दरतामा वृद्धि हुने र पर्यटकलाई थप आकिर्षत गर्ने दाबा गरको छ । दुर्घटनामा कमी आउने बताएको महानगरलले यसअगाडि भने सडकमै पार्किङ गरेबापत शुल्क उठाउन ठेक्का नै लगाएको थियोे ।
महानगरले गत पुस ८ गतेदेखि सडक पार्किङ शुल्क उठाउँदै आएको फेवा सावित्री जेभीसँगको ठेक्का तोड्यो । ०७७ सालमा फेवा सावित्री जेभीलाई २ वर्ष सडक पार्किङको शुल्क उठाउन ठेक्का दिएको थियो । ०७९ मंसिर २७ गतेसम्मका लागि सम्झौता भएकोमा निवर्तमान मेयर मानबहादुर जिसीले जाँदाजाँदै सुटुक्क पुनः ४ महिनाका लागि समय थपिदिएका थिए । तर, सावित्री जेभिले तिर्नुपर्ने वक्यौता रकम नतिरेपछि पुसमा महानगरले सम्झौता रद्ध गरिदियो ।
सडकमा पार्किङ निषेध गरेको महानगरपालिकाले अन्डरग्राउण्डमा पार्किङ शुल्क निर्धारण गरेको छ । मोटरसाइकल स्कुटरको प्रतिघण्टा १० रुपैयाँ, हलुका सवारी साधनको ५० रुपैयाँ शुल्क लिन पाउने गरेर महानगरको कार्यपालिका बैठकले निर्धारण गरेको इञ्जिनियर सुरेन्द्र पौडेलले बताए । खाली जग्गामा पनि सोही दररेटमा शुल्क लिन स्विकृती दिने उनले जनाए । ‘सडकसँगै फुटपाथलाई अवरोध हुने गरेर कहीं पनि पार्किङ गर्न पाइनेछैन’, उनले भने । फुटपाथ पार्किङका लागि नभएर यात्रु हिँड्नलाई भएको उनको भनाइ छ । पार्किङ निषेधका लागि महानगरले ट्राफिक प्रहरी कार्यालय कास्कीसँग सहकार्य गरेको छ । निषेधित भनिएको क्षेत्रमा पार्किङ गरेका सवारी चालकसँग जरिवाना असुल्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
विरोधमा व्यवसायी र चालक
महानगरको यो निर्णयलाई एकाथरीले स्वागतयोग्य भन्दै प्रशंसा गरिरहेका छन् । पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार क्षेत्रबाट अन्यत्र पनि व्यापार फैलने विश्वास लिएका पोखरेलीले सकरात्मक भनेका हुन् । तर, निषेधित क्षेत्रका व्यापारी र सवारी चालकलाई भने महानगरको निर्णय टाउको दुखाइको विषय बनेको छ ।
न्युरोडका व्यवसायी प्रकाश बज्राचार्य भन्छन्, ‘पोखरा महानगरपालिकाले पार्किङ सम्बन्धी जुन निर्णय गरेको छ यो चाहीं दुरदर्शीता होइन । उहाँहरुले पार्किङ दिनुप¥यो कहाँ पार्किङ गर्ने । अहिले पार्किङ हुँदा त व्यावसाय धरासयी अवस्था छ । पार्किङ नहुँदा के होला ।’ सडकको एकातर्फ पार्किङको सुविधा दिनुपर्ने उनको माग हो ।
महानगरको पार्किङ निषेध गर्ने निर्णय स्टन्ट जस्तै भएको उनको प्रतिकृया छ । भन्छन्, ‘बिना सोच, एउटा कुनै दुरदर्शिता छैन । त्यत्तिकै स्टन्टका लागि, कामका लागि काम देखाएको जस्तो लाग्छ ।’ यो निर्णयलाई पुर्नविचार गर्न महानगरलाई बज्राचार्यको सुझाव छ ।

विगत १३ वर्षदेखि ट्याक्सी चलाइरहेका हरिप्रसाद बराल ट्राफिक जाम नियन्त्रण गर्नलाई पार्किङ निषेध गर्ने निर्णय परिपक्क नभएको बताउँछन् । उनी भन्छन्, ‘पार्किङ हटाउने मात्र भनेर भएन । पहिला व्यवस्था हुनुपर्यो कहाँ पार्किङ गर्ने । हामीले सरकारलाई तिनुपर्ने कर तिरीरहेका छौं । केही व्यवस्था त गर्नुपर्यो नि ।’
महानगरले पेलेर निर्णय गर्न नमिल्ने उनको तर्क छ । अन्डरग्राउण्ड महानगरले विकल्प दिएपनि सबै चारपांग्रे सवारी नअटाउने बरालले बताए । महानगरको निर्णयको विरोधमा पोखरा उद्योग वाणिज्य संघ पनि उभिएको छ । महानगरको पार्किङ निषेध गर्ने निर्णयमा गम्भिर ध्यानआकर्षण भएको संघले विज्ञप्ती जारी गर्दै गम्भिर निर्णय गर्नेबेला परामर्श नगलिएकोमा दुखेसो गरेको हो ।
संघका अध्यक्ष पवनकुमार प्रजापतिद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘पोखराको अव्यस्थित ट्राफिक समस्याको व्यवस्थापन हाम्रो चासो र सरोकार हो । संघ महानगरबाट असल नियतले अगाडी सारिएको यो अभियानको साह्रना गर्छ । तर, यस्तो गम्भिर र दीर्घकालिन महत्वको निर्णय लिँदा सरोकारवाला/सहयात्री पोखरा उद्योग वाणिज्य संघसँग कुनै परामर्श नलिनुले दुखित तुल्याएको छ ।’ पोखरा महानगरले व्यवस्थापन गर्ने पार्किङस्थलले सवारी चाप थेग्न नसक्ने भन्दै प्रश्न उठाईएको छ । हतारमा निर्णय भएको संघको आरोप छ ।
प्रकाशित मिति २०७९ माघ १९ गते बिहीबार ०१:०४




