पोखरा
पोखरामा ९० हजार पुरस्कार राशीको क्यारमबोर्ड प्रतियोगिता हुने भएको छ । फागुनको ५ र ६ गते हुने प्रतियोगिता पोखरा १८ को पीपलडाली क्लबले आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा प्रथम आउने टिमले ९० हजार रुपैयाँ, द्वितीयले ४० हजार र तृत्तीयले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
आयोजक टिमका सदस्य राजकुमार पुनले प्रतियोगितामा ३० देखि ३५ टिमको सहभागी रहने अपेक्षा राखेको जानकारी दिए । प्रतियोगितामा भाग लिन ४ हजार रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने छ ।
‘क्यारेम खेलले पनि भाइचारा राख्दै आएको छ । गाउँघरमा सबैभन्दा लोकप्रिय खेल पनि हो,’ पुनले भने, ‘यसैलाई प्रतियोगिताका रुपमा लैजाने र खेलाडीको सीपलाई पनि उजागर गर्ने हिसाबले प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’
प्रतियोगिता अवधिभर खेलाडीले अपमानजनक शब्द प्रयोग गनै नपाइने, मादक पदार्थ सेवन गर्न नपाइने तथा टाढाबाट आएका खेलाडीलाई खानबस्नको समेत व्यवस्था गरिएको छ ।
‘पहिलो राष्ट्रियस्तरको प्रतियोगिता भएकाले देशैभरिबाट खेलाडी सहभागी हुन सक्नुहुन्छ,’ पुनले भने ।
प्रकाशित मिति २०७९ माघ २१ गते शनिबार ०४:२३




