पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षको कार्यकक्षमा प्रधानमन्त्र भएको डेढ महिना भइसक्दा पनि पुष्पकमल दाहाल प्रचण्डको तस्वीर राखिएको छैन ।
सरकारी कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने प्रचलन छ । तर, अध्यक्ष मीनबहादुर गुरुङले कार्यकक्षमा पूर्वप्रधानमन्त्री एवं आफू निर्वाचित पार्टीका सभापति शेरबहादुर देउवाको तस्वीर राखेका छन् ।
गाउँपालिका अध्यक्ष गुरूङले कर्मचारीले तस्वीर परिवर्तन गर्नुपर्छ भनेर नभनेकाले आफूले नगरेको बताए । ‘मैले भनेको छु । राष्ट्रपति फेरिएपछि एकैपटक प्रधानमन्त्रीको पनि फेरौंला भन्नुभयो,’ उनले भने ।
गत ३० वैशाखको चुनावबाट गुरूङ गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बने । तर, गाउँपालिका अध्यक्ष गुरूङले कार्यकक्षमा परम्परा मिचेर आफ्नो पार्टी सभापतिको तस्वीर राखेका हुन् ।
प्रकाशित मिति २०७९ माघ २५ गते बुधबार ०५:४४