उपचार सेवामा फर्किन स्वास्थ्य मन्त्रालयको आह्वान
पोखरा
प्रहरीले चिकित्सकलाई कुटपिट गरेको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै बन्द गराएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसद् बैठकलाई सम्बोधन गरी फर्कने क्रममा सडकमा निस्किएको भन्दै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा। जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लाठी चार्ज गरी घाइते बनाएको थियो।
यसैको विरोधमा संघले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाका लागि अन्त गरी उचित विधि स्थापित गर्न संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

उपचार सेवामा फर्किन स्वास्थ्य मन्त्रालयको आह्वान
यसैबीच स्वास्थ्य मन्त्रालयले गएराति विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेका हुन् ।
डा. अधिकारीले चिकित्सकलाई घाइते बनाउने प्रहरीलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अघि बढाइसकेको र उक्त घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्न प्रयास भइरहेको जानकारी पनि दिएका छन् ।





