काठमाडौं
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डसमेत सहभागी त्रिकोणात्मक शृंखलाको पहिलो खेल नेपालले जितेको छ ।
लिग टूमा नेपालले नामिवियालाई हराएको यो पहिलोपल्ट हो । यसअघिका चारमध्ये तीन खेल नेपालले हारेको थियो भने एक खेल वर्षाका कारण रद्ध हुँदा अंक बाँडेको थियो ।
एकदिवशीय मान्यता पाएका सात एशोसिएट टिमबीच सन् २०१९ देखि सुरु भएको लिग टू शृंखलामा नेपालले २५ खेल खेल्दा यो नवौं जित निकालेको हो । नेपालले यो शृंखलामा २० अंक जोडेको छ ।
ओपनर कुशल भुर्तेलले ओडीआईमा पहिलो शतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा सोमबार नामिबियामाथि शानदार जित हासिल गरेको हो ।
भुर्तेलको ११५ रन मद्दतमा नेपालले ओडीआईमा कीर्तिमानी लक्ष्य पूरा गर्दै खेल जितेको हो ।
२८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले ११५ रनको शतकीय साझेदारी गरे । कुशलले कप्तान रोहितकुमार पौडेलसँग मिलेर १३३ रनको कीर्तिमानी साझेदारीसमेत गरे ।
एकदिवसीय क्रिकेटकाे इतिहासमा नेपालले पूरा गरेकाे सर्वाधिक ठूलाे याेगफल हाे । यसअघि नेपालले सन् २०१९ मा यूएईले दिएकाे २ सय ४४ रनको लक्ष्य ६ विकेट गुमाउँदै ४४ ओभर ४ बलमा भेटाएकाे थियाे ।
याे जितसँगै नेपाल सात देश सम्मिलित आईसीसी विश्व कप क्रिकेट लिग–२ मा २५ खेलमा २० अङ्कसहित छैटाैँ स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ ।
त्रिकोणात्मक शृंखलाअन्तर्गत नेपालको दोस्रो खेल शुक्रबार हुनेछ । त्रिवि मैदानमा शुक्रबार हुने खेलमा नेपालले लिग टूमा शीर्ष स्थानमा रहेको स्कटल्याण्डको सामना गर्नेछ ।
प्रकाशित मिति २०७९ फागुन २ गते मंगलबार ०५:०८




