पोखरा
१७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार हुँदैछ । सर्वाधिक पुरस्कार राशिको पोखरा म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ ।
म्याराथनमा १६ देशका धावकले दौड्ने आयोजक भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । खुला म्याराथनमा गत संस्करणको विजेता केन्याली धावक स्टेफन कोसगेई, उपविजेता सिमिओन किप्लागातोले सहित १५० जनाले सहभागिता जनाउने उनले जानकारी दिए ।
पराजुलीका अनुुुसार केन्या, इथोपिया, सर्र्विया, अमेरिका, इजिप्ट, स्विजरल्याण्ड, अष्ट्रेलिया, मोलदोभा, रसिया, इन्डिया, फिलिपिन्स, हङकङ, फ्रान्स, युके, पोल्यान्डबाट म्याराथनमा सहभागिता जनाउन धावक आउँदैछन् । ‘नेपालका सातै प्रदेशका दार्चुलादेखि बैतडीसम्मका धावकले प्रतिस्पर्धा गर्नेछन्’, अध्यक्ष पराजुलीले भने ।
शनिबार हुने म्याराथनमा एकैपटक ३ हजार बढी धावक दौड्ने आयोजकको दाबी छ । १७ औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा खुला म्याराथन (४२.१९५ किलोमिटर) सहित महिला हाफ म्याराथन (२१.०९७ किलोमिटर), महिला पुरुष दौड १० किलोमिटर, विद्यालयस्तरीय छात्रछात्रा ५ किलोमिटर दौड, महिला पुरुष ह्विलचियर र दृष्टिविहीन दौडसँगै ‘रन फर फन’ हुनेछ ।
आयोजक भुतपूर्व खेलाडी मञ्च नेपालका अनुसार हाफ म्याराथनमा ३४ जना, महिला १० किलोमिटरमा ३००, पुरुष १० किलोमिटरमा ६०० जनाले सहभागिता जनाउँदैछन् । यस्तै, विद्यालयस्तरीय ५ किलोमिटर छात्र दौडमा १ हजार ६००, महिलातर्फ ९५० धावकको सहभागिता रहनेछ । ‘विद्यालयतर्फ अत्यन्तैै आकर्षण छ । हाम्रो उदेश्य पनि खेलाडी उत्पादन गर्ने हो’, अध्यक्ष पराजुलीले भने ।
ह्विलचियर महिला पुरुषतर्फ ४७, दृष्टिविहीन दौडमा महिला पुरुष गरेर ९० जना र रनफर फनमा १२०० जनाले नाम दर्ता गराएको आयोजक भुतपूर्व खेलाडी मञ्च नेपालले जानकारी दिएको छ । खुला म्यारथनको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । गत संस्करणको भन्दा १ लाख रुपैयाँ पुरस्कार राशीमा वृद्धि गरिएको हो । यो पुरस्कार राशी नेपाली म्याराथन इतिहासमा सर्वाधिक हो ।
दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख र सान्त्वनाले ३० हजार रुपैयाँ पाउनेछन् । यसपाली खुला म्याराथनमा सहभागी भएका गण्डकीका धावकलाई पनि पुरस्कारको व्यवस्था छ । गण्डकीका धावकलाई हौसला प्रदान गर्नलाई पुरस्कार दिन लागिएको पराजुलीले बताए । गण्डकीबाट सहभागी धावकमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पाउनेछन् । यदि गण्डकीका धावकले खुलातर्फ पनि पहिलो दोस्रो स्थान हासिल गरेमा दोहोरो पुरस्कार जित्नेछन् ।
महिला हाफ म्याराथनमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने धावकले क्रमशः १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार रुपैयाँ जित्नेछन् । १०० किलोमिटर दृष्टिविहिन महिला पुरुष दौडमा पहिलो, दोस्रो, तेस्रो हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
ह्वीलचेयर ४ सय मिटर पुरुष र १ सय मिटर महिलातर्फका विजेतालाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यस्तै, १० किलोमिटर महिला दौडमा विजेतालाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेललाई १५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । ५ किलोमिटर छात्र÷छात्रा दौडमा विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ पाउनेछन् । पुरस्कारमा मात्र १७ लाख ५२ हजार रुपैयाँ खर्च हुनेछ ।
यसपल्ट परिक्षणको रुपमा पोखरा म्याराथनमा चिप्स प्रयोग गरिने अन्तार्राष्ट्रिय समन्वय समिति संयोजक तेजबहादुर गुरुङले बताए । उनका अनुसार पहिलो पटक पोखरा म्याराथनमा चिप्सको प्रयोग गर्न लागिएको हो । खुला र हाफ म्याराथनमा मात्र चिप्सको प्रयोग हुनेछ । ‘परिक्षणको रुपमा चिप्सको प्रयोग गर्दैछौं । प्रयोगमा चुनौति छन् । नयाँ प्रविधि भित्राएर बढी भन्दा बढी धावक भित्राउने उदेश्य हो’, उनले भने । पोखरा म्याराथनले पोखराको पर्यटनलाई पनि राहत मिल्ने उनको भनाई छ ।
पोखरा म्याराथनको रुटले पोखरा महानगरपालिकाको १७ वडालाई जोडेको छ । पोखरा रंगशालाबाट सुरु हुने म्याराथनमा इभेन्ट अनुसार छुट्टिने रुटको व्यवस्था गरिएको छ । यसपालि विश्वका दौड ‘वल्र्ड रनिङ’को छाता संगठन एसोसिएसन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस(एम्स)ले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेसँगै अन्तर्राष्ट्रिय मान्यता समेत पाएको छ ।
प्रकाशित मिति २०७९ फागुन ४ गते बिहीबार ०१:३१




