घाइते हुनेमा अधिकांश पोखरा विश्वविद्यालयका विद्यार्थी
पोखरा
पोखरामा आइतबार दुर्घटना भएको बस चालकको लापरबाहीले खोल्सामा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चालक निदाउँदा बस खोल्सामा खसेको यात्रुले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् ।
लेखनाथस्थित पोखरा विश्वविद्यालयबाट बागलुङ बसपार्कलाई छुटेको ग १ ख ६७४७ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो पोखरा–२७ डाँडाकोनाकमा सडकबाट खोल्सामा खसेको थियो । दिउँसो साढे दुई बजेतिर भएको दुर्घटनामा ५३ जना घाइते भएका थिए ।
चालककै लापरबाहीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वरिष्ठ सई शिवप्रसाद पाठकले बताए । ‘प्रारम्भिक रूपमा हेर्दा चालक चलाउन नसक्ने अवस्थामा रहेको देखिन्छ,’ उनले भने, ‘गाडीको स्पिड थिएन त्यही भएकाले ब्रेक हानेको डाम पनि देखिएन । चालककै लापरबाही देखिएको छ ।’
घाइते हुनेमा अधिकांश पोखरा विश्वविद्यालयका विद्यार्थी छन् । सोमबार पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोह छ । त्यसैका लागि गाउन लिएर फर्किएका विद्यार्थी पनि दुर्घटनामा परेका छन् ।
चालकको आडैमा बसेका घाइते सचिन केसीका अनुसार बस चलाउँदा–चलाउँदै चालक निदाएका थिए । ‘रक्सी खाएको गन्ध आएको थियो । भोला (सूर्तिजन्य पदार्थ) खाइरहेको थियो । एकछिनपछि ऊ गाडीमा यत्तिकै सुत्यो। सुतेपछि एक जना चिच्यायो । ऊ चिच्याउँदै दाइ के गरेको, किन सुतेको भन्यो । त्यति भन्न नपाउँदै गाडी कोल्टियो,’ उनले सुनाए ।
बस सडकबाट २५ मिटर तल खोल्सामा खसेको थियो । प्रहरीले बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सबै घाइतेको अवस्था सामान्य छ र १६ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् ।
प्रकाशित मिति २०७९ फागुन ८ गते सोमबार ११:५५




